१ कार्तिक २०८३, शनिबार

‘मसँग कुनै पनि मुलुकको डिभी पिआर छैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra-Rijalकाठमाडौँ, ३१ असार । सूचना तथा सचारमन्त्री डा मीनेन्द्र रिजालले आफूसँग कुनै पनि मुलुकको डिभी र पिआर नभएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुखसँग विशेष समय लिएर उहाँले आफूसँग कुनै पनि मुलुकको कागजातसमेत छैन भन्नुभयो । सञ्चारमन्त्री डा रिजालले भन्नुभयो ‘‘म नेपालको नागरिक हुँ, स्थायीवासी हुँ, मसँग कुनै पनि मुलुकको डिभी पिआर छैन, स्थायी बसोबासको कुनै पनि अनुमतिपत्र छैन ।’’ व्यवस्थापिका–संसद्का सदस्य जनताप्रति उत्तरदायी हुने भएकाले सदनमार्फत नै आफूले आफ्नो धारणा राख्न चाहेको उहाँको भनाइ छ ।

‘‘मन्त्रिपरिषद्को सदस्यको नाममा, संसद्मा कुरा उठेको छैन र समितिमा पनि कुरा उठेको छैन, तर सामाजिक सञ्जालमा, केही साप्ताहिक पत्रिकामा र अनलाइन पोर्टलमा मेरोसमेत नाम जोडेर फलाना फलाना मन्त्रीको डिभी र पिआर छ भनेर लेखिएको देखियो’’, सञ्चारमन्त्री डा रिजालले भन्नुभयो । ‘‘मलाई लाग्यो, यो विषयमा बाहिर यसरी चर्चा भइरहनु ठीक होइन, हामी जनताप्रति उत्तरदायी छौँ, हाम्रो जनताप्रतिको उत्तररदायित्व व्यवस्थापिका–संसद्मार्फत हो, त्यसैले व्यवस्थापिका–संसद् सदस्यले कुनै पनि व्यक्तिको नाम नलिई संसद्मा यो कुरा उठाइदिनुभएकाले मैले यसलाई बाहिर चलेको चर्चासमेतको उत्तर दिने मौकाको रुपमा लिएको छु ।’’

विगतमा आफूले सामाजिक सञ्जालमार्फत पनि आफ्नो धारणा सार्वजनिक गरेको र सो धारणा विभिन्न पत्रपत्रिकामा छापिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले आफू नौ वर्ष अमेरिका बसेको र पढाइका क्रममा एमबिएको बीस वटै विषयमा पूर्णाङ्क ल्याएको तथा त्यस वर्षको ‘ग्राजुएट स्टुडेन्ट अचिभमेन्ट अवार्ड’ पनि पाएको र सोबारे त्यस वर्षको ‘वाल स्ट्रिट जर्नल’ प्रकाशन भएको जानकारी दिँदै सञ्चारमन्त्री डा रिजालले भन्नुभयो, ‘‘सो अवार्ड जितेपछि पत्रिकाले विभिन्न विश्वविद्यालयबाट अवार्ड जित्ने विद्यार्थीकोे नाम लेख्दा उल्लेख गरेको थियो, यी विद्यार्थीहरूको नाम नियालेर हेर्नुस्, अलि सानो अक्षरमा छ, भोलि पटक पटक यी विद्यार्थीको नाम यो जर्नलमा ठूलो अक्षरमा देख्नुहुनेछ, मैले यो कुरा आत्मश्लाघाका रुपमा भनेको छैन ।’’

सूचना तथा सञ्चारमन्त्रीले भन्नुभयो, ‘‘मसँग बाहिर बसेर काम गर्ने अवसर थियो, अमेरिकामा प्रशिक्षक र त्यसपछि अतिथि उपप्राध्यापकका रुपमा न्युयोर्क विश्वविद्यालयालयमा तीन वर्ष अध्यापन गरेँ, तर मैले त्यहाँ बसेर आफ्नो करिअर बनाउने बाटो रोजिन ।’’

विद्यार्थी राजनीतिदेखि नै बिपी कोइरालाको सान्निध्यमा बसेर काम गर्न पाइएको जानकारी दिँदै उहाँले त्यो सानिध्यले आफूले नेपालमा बसेर नेपालमै काम गर्ने, नेपालमा राजनीति गर्ने र नेपालको लोकतान्त्रिक आन्दोलनमा आफूले सकेको योगदान गर्ने भावना बोकेर हिँडेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘१९८९ मा अमेरिकाको अर्थतन्त्र कमजोर र जापानको अर्थतन्त्र बलियोसँग अगाडि बढेको थियो, पत्रिकाले लेखेको थियो, विभिन्न देशबाट अमेरिका आउन पनि धेरै प्रतिस्पर्धा हुन्छ, कुनै मुलुकले उछिन्न सक्दैन, त्यसका विभिन्न कारण लेखिएका थिए, त्यसमा मेरो नाम पनि थियो, ।’’