काठमाडौँ, ३१ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बजेटले जनतालाई उत्साहित बनाउन नसकेको बताउनुभएको छ ।
पार्टीको स्थानीय निकाय परिचालन विभागले आज यहाँ आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै अध्यक्ष थापाले बजेटमा ल्याइएका कतिपय कार्यक्रमले देशको अर्थतन्त्रलाई गतिशील बनाउन नसक्ने तथा जनताको जीवनस्तरमा सुधार ल्याउन समेत नसक्ने बताउनुभयो ।
उहाँले स्थानीय निकायमा जनप्रतिनिधिको अभावले जनता मारमा परेको उल्लेख गर्दै सर्वदलीय संयन्त्रमार्फत स्थानीय तहमा हुने विकास निर्माणकार्य पारदर्शी नभएको बताउनुभयो ।
पार्टी उपाध्यक्ष टङ्क ढकाल तथा महामन्त्री चन्द्रबहादुर गुरुङले स्थानीय तहको पूर्वाधार तथा विकास निर्माणका लागि स्थानीय स्वायत्त शासनलाई प्रभावकारी बनाउनुपर्ने र स्थानीय निर्वाचन चाँडो गराउनुपर्ने बताउनुभयो ।
पार्टी स्थानीय निकाय परिचालान विभागका प्रमुख राजाराम श्रेष्ठले प्रजातन्त्रको आधारस्तम्भ भनेको अद्यावधिक निर्वाचन भएकाले १८ वर्षदेखि हुन नसकेको स्थानीय चुनाव छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो । रासस












प्रतिक्रिया