– सुदीप अधिकारी
बर्दिया, ३१ असार । बुधबार साझदेखि परेको अविरल वर्षका कारण यहाँ ७ सय बढी घर डुवानमा परेका छन् ।
लगातारको झरीले जिल्लाको भुरिगाउँ क्षेत्र अन्र्तगतका भुरिगाउँ बजार, रानीपुर, प्रतापुर, कर्मलालगाएत गाउँका सयौँ घर डुवानमा परेका छन् । बर्दिया निकुञ्जको झरने यी क्षेत्र डुवानमा परेको हो । भुरिगाउँ र जयनगरबजारका अधिकाशं पसलमा पानी पसेको प्रहरीले जनाएको छ । पसलमा पानी पसेपछि लाखौँ मुल्यका सामानमा क्षती पुगेको व्यापारीहरुले बताएका छन् ।
निकुञ्जबाट आएको भरन भुरिगाउँ क्षेत्रमा पूर्वपश्चिम राजमार्ग ओभर फ्लो भएको थियो । राजमार्गबाट पानी ओभर फ्लो हुँदा रानीपुर नजिकै राजमार्गमा क्षती भएको छ । लगातारको झरीले जिल्लाको नेउलापुर, ढोढरी, मगरागढी, बासगढी, ककौरा, सूर्यपटुवा र राजापुर क्षेत्र डुवानमा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
डुवानमा परेको घरहरुको संख्या यकीन गर्ने कार्य भइरहेको प्रशासानले जनाएको छ । जिल्ला प्रशासनको प्रारम्भिक आँकडा अनुसार डुवानमा परेका मध्ये बिहीबार दिउसोसम्ममा करिव ४ सय ५० घरमा फर्कन सक्ने अवस्था रहेको बताइएको छ । भने, ३ सय बढी घरमा अझै पानी भरिएकाले फर्कन नसक्ने अवस्था रहेको प्रशासनले जनाएको छ ।
प्रशासनले बाढी र डुवान परिवार लगत संकलन गरिरहको बताएपनि बग्नाहा क्षेत्रको केही स्थानमा बिहीबार साझसम्म कुनै पनि टोली नआएको स्थानियको गुनासो छ ।
डुवानमा परेका परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुवँरले डुवानमा परेर घर फर्कने अवस्था नरहेका परिवारलाई स्थानिय विद्यालयमा राखिएको बताए । केही परिवार भने घर फर्कीसकेको प्रमुख जिल्ला अधिकारी कुवँरले जानकारी दिए । बबई नदीको बाढी पनी केही स्थानमा असर पारेको छ । माथिल्लो भेगमा बग्नाहा क्षेत्रमा बबई नदीको बाढीले असर नगरेपनि तल्लो स्थान गुलरिया नगरपालिकाका केही भेगमा बाढी पसेको थियो ।
बाढी र डुवानका कारण जिल्लाका अधिकाशं स्थान अझै जलमग्न छन् । सडकमा पानी भरिएकाले हुलाकी राजमार्गमा दिउसोसम्म गाडी चल्न सकेका थिएनन् । मध्यरातबाट बस्तीमा पानी पस्न थालेपछि स्थानियबासी त्रसीत भएका थिए । बाढी र डुवान हुन सक्ने भन्दै जिल्लाबासी रातभर जाग्राम बसेका थिए । लगातार झरी पर्न थालेपछि जिल्लाबासीलाई प्रशासनले उच्च सर्तकता अपनाउन अपिल गरेको थियो । सबै क्षेत्रबाट उच्च सर्तकता अपनाइएकाले कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बताए ।















प्रतिक्रिया