काठमाडौँ, ३१ असार । संविधानको प्रस्तावित मस्यौदामा प्रेससम्बन्धी राखिएको कतिपय प्रावधान प्रेस स्वतन्त्रता विरोधी र विरोधाभासपूर्ण भएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ ।
सम्पादक समाज नेपालले आज यहाँ आयोजना गरेको प्रस्तावित ‘संविधानको मस्यौदामा प्रेस स्वतन्त्रता’ विषयक छलफलका सहभागी पत्रकारले संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिनुपर्ने धारणा राखेका हुन् ।
सम्पादक समाज नेपालका अध्यक्ष देवेन्द्र गौतमले संविधानको प्रस्तावित मस्यौदामा प्रेससम्बन्धी कतिपय बुँदा प्रेस स्वतन्त्रता विरोधी भएकाले त्यसलाई सच्याइनुपर्ने विचार राख्नु भयो ।
संविधानको धारा २४ को प्रतिवन्धनात्मक वाक्याङ्शले पछि कानुन बनाउने बेला प्रेसलाई अङ्कुस लगाउने किसिमले ल्याइएको भन्ने आसङका उब्जिएकाले त्यस्ता शब्दलाई हटाइनुपर्ने उनीहरुको सुझाव छ ।
पत्रकार पुरु रिसालले सञ्चारमाध्यमको नियमन गर्न कानुन बनाउने भनी उल्लेख गर्नु प्रेसलाई नियन्त्रण गर्नु हो भन्नुभयो । उहाँले संविधानको धारा २४ को उपधारा (३) मा सङ्कटकालीन अधिकारको विषय खुल्ला गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।
पत्रकार सुरेश आचार्यले अन्तरिम संविधानमा भएको व्यवस्थालाई मिचेर प्रेस स्वतन्त्रतालाई कमजोर बनाउनेखालको प्रावधान राखिनु बिडम्बना भएको भन्दै संविधानका कतिपय अस्पष्टता , विरोधाभास र जटिल शब्द हटाइनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो “प्रसारण माध्यमको नियमन संसारमै हुन्छ, नेपालमा हुनु स्वभाविक हो त्यसको विरोध गर्नु हुँदैन तर छापा माध्यमलाई नियमन गरिनुहुन्न भन्ने संविधानमा प्रष्ट लेखिनुपर्छ,” उहाँले भन्नुभयो ।
यसैबीच सम्पादक समाज नेपालले संविधानमा राखिएका प्रेससम्बन्धी प्रावधानलाई परिमार्जन गर्नका लागि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई लिखितरुपमा सुझाव दिने जनाएको छ । रासस















प्रतिक्रिया