काठमाडौं, ३१ असार । शैक्षिक तथा सामाजिक विकास केन्द्र (एशोडेक) ले सिन्धुपाल्चोकका भूकम्पबाट विस्थापित परिवारलाई सहयोग गरेको छ । एशोडेकले सिन्धुपाल्चोकका गोल्चेको लिदी, बतासे, स्याउले, सेलाङ र पाङताङ गाविसका १०७ विस्थापित परिवारलाई खाने पानीको ४ हजार १ सय मिटर पाइप दिएर ठूलो समस्याको समाधान गरिदिएको हो ।
एशोडेकका अध्यक्ष देवमान हिराचनको पहलमा आयुमी फुकाई हिराचनले उक्त पाइप स्थानिय टोली प्रमुख नेत्र बहादुर थापालाई हस्ताणतरण गर्नु भएको थियो । आफ्नो गाउँ पहिरोको उच्च जोखिममा परेपछि सुरक्षित बास स्थानका लागि सेलाङ १ स्थित बाँसखर्क आएका विस्थापितलाई खानेपानीको चरम समस्या हुँदा त्यँहाका स्थानियहरु पाखोबाट बगेर जम्मा भएको धमिलो फोहोर पानी पिउनु पर्ने बाध्यता हुँदा धेरै मानिसहरु झाडापखाला, आऊ र रुखाखोकी लागेर बिरामी भएका थिए ।
कार्यक्रममा समाजसेवी आयुमी फुकाई हिराचनले यस्तो पवित्र काममा सहयोग गर्न पाएकोमा एकदमै खुसी लागेको व्यक्त गर्दै सिन्धुपाल्चोकको बारेमा सुनेको मात्र थिए तर आज यँहा आएर हेर्दा मेरो मन दुखेको छ । अबका आगामी सहयोगका सवै कार्यक्रम यहि जिल्लामा ल्याउने छु र यँहाको स्कुलको लागि पनि सहयोग गर्ने वचन दिनुभयो ।
पाइप पाएपछि स्थानियहरुमा खुसीको आभास देखिन्थ्यो र सोहि कार्यक्रममा बोल्दै स्थानिय अगुवा नेत्र बहादुर थापा
भन्नुहुन्छ – “अहिले हामी निकै उत्साही भएका छौं । एशोडेकले हाम्रो स्वास्थ्यको रक्षा गरेको छ । हामी धेरै ठाउँमा भौतारियौं तर कसैले सहयोगको आश्वासन समेत दिएका थिएनन् तर टाढाबाट आएर यस संस्थाले ठूलो गुन लगाएको छ । हामी गाउँले मिलेर भोली देखि नै यो पाइप पानीको मुहानमा जोड्ने र बिछ्याने छौं । हाम्रो ४ गाविसमा खुसीको बाहार देखिएको छ ।”
उक्त कार्यक्रममा उपस्थित भएका स्थानिय ८२ वर्षिय इन्द्रबहादुर थापा पाइप पाएकोमा धेरै खुसी भएको बताउँछन् । ‘बर्खायाम लागिसकेको छ, पानी लिन धेरै टाढा जानुपर्ने बाध्यताबाट छुटकारा मिल्ने भएपछि खुसी छौं,’ उनले भने, ‘आइमाई, केटाकेटीलाई पानी लिन जान धेरै कठिन थियो चिप्लो बाटोमा लड्लान् भन्ने चिन्ता अब नहुने भयो ।’
जिल्लामा अहिले खानेपानी समस्या हरेक गाउँमा छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा खानेपानीका लागि पाईपको माग गर्नेहरु धेरै छन् । सकेजति ठाउँमा कार्यालयले पाइप वितरण पनि गरिरहेको छ । सेलाङमा एसोडेकले पाइप वितरण गरेपछि कार्यालयले खुसी जनाएको छ । कार्यालयका प्रमुख इन्जिनियर अरुणकुमार सिम्खडाले एसोडेकको यो सहयोगले सरकारी काममा सघाउ पुगेको बताए । ‘यो सहयोगले हाम्रो दायित्व र राष्टिय लक्ष्यलाई सहयोग पुगेको छ,’ सिम्खडाले भने, ‘जिल्लामा नागरिकलाई हामीले खानेपानीको सहज आपुर्ती गराउनुपर्ने हो तर धेरै ठाउँमा समस्या भएकाले समाधान गर्न सकिएको छैन ।’
त्यसैगरी सोहि कार्यक्रमको अवसर पारेर ग्लोवल क्यापिटल इन्भेष्टमेन्ट कम्पनीबाट त्यँहाका स्थानिय किसानहरुलाई अर्गानिक मल, वीउ, झोल मल (आई.पी. लिक्विड) पनि प्रदान गरिएको थियो । धेरै जिल्लाहरुमा मल, वीउ र प्रविधि दिएर सहयोग गर्दै आएको यस कम्पनीले सिन्धुपाल्चोक जिल्लालाई नै अब अर्गानिक कृषिबाट माथि उठाउने लक्ष्य लिएको छ । सोहि अनुरुप नै आगामी हरेक एक एक महिनामा कृषि विज्ञ गएर जापानिज प्रविधि अनुसार कृषि खेती गर्न सिकाउने योजना पनि रहेको छ । अब कृषिबाट पनि त्यँहाका मानिसहरुको जिवनस्तर माथि उठ्ने विश्वास लिइएको छ ।
वैशाख १२ र २९ गते गएको महाविनाशकारी भुकम्पले सवैभन्दा ठूलो मानविय र भौतिक क्षति सिन्धुपाल्चोक जिल्लालाई नै पु¥याएको थियो । त्यँहा शक्तिशाली भुकम्प र त्यसपछिका पराकम्पले सिन्धुपाल्चोकका धेरै गाविसका स्थानियहरु विस्थापित हुन पुगेका छन् । झन् यो वर्षामासले गर्दा उक्त जिल्लामा पहिरो र महामारीको खतरा बढेको पाइन्छ । त्यँहाका लागि नेपाल सरकार र गैर संघसंस्थाहरु एक जुट हुनुपर्ने देखिन्छ ।
















प्रतिक्रिया