बिगत २२ वर्षदेखि अमेरिकामा बस्दै आएका शेखर ढुंगेल एनआरएन अमेरिकामा पनि निकै सक्रिय छन् । अमेरिकामै रहेर साहित्यमा पनि क्रियाशिल रहँदै आएका उनी केही समय यता नेपालमा छन्, काठमाडौँमा रहेका बेला ‘नेपालीको अमेरिकी जीवन’बारे दैनिक नेपालका विश्वास खड्काथोकीले गरेको कुराकानीः
…
अमेरिका यस्तो देश हो, जहाँ, ‘तपाईं कुन देशको मानिस हो’ भनेर सोध्न पनि ‘एक्सक्यूज मी’ भन्नु पर्दछ । त्यहाँका नागरिकले सबैलाई अमेरिकी नै देखिरहेका हुन्छन् । कामको उच्च सम्मान छ । चाहे जुनसुकै काम किन नहोस् । काम र जातको आधारमा बर्गीकरण गरिँदैन । श्रमिकहरु पनि ससम्मानको जिन्दगी बाँचिरहेका छन् ।
अमेरिकालाई आप्रवासी मुलुक पनि भनिन्छ । किनकी अमेरिकाले विश्वका मानिसहरुलाई संरक्षण दिइरहेको छ । जुनसुकै देशको नागरिक किन नहोस्, अमेरिकाले उस्तै खालको इज्जत दिइरहेको हुन्छ ।
अमेरिकामा नेपाली
अरु देशका नागरिकहरु जसरी बाँचेका छन्, नेपालीहरु पनि अमेरिकामा त्यसरी नै जिएका छन् । अमेरिकामा बिशेषगरी दुई थरीका कामदार बस्छन् । एउटा दक्ष, अर्को अदक्ष । डाक्टर, वकिल पेसामा रहेका नेपालीले अमेरिकन नगरिककै जीवनशैलीमा बाँचिरहेका छन् ।
अमेरिका पुगेपछि नेपालीको जिन्दगी जिरोबाटै शुरु हुने हो । नेपालको कुनै अनुभवले पनि काम गर्दैन । नेपालमा काम गरेका डाक्टरहरुले पनि त्यहाँ गएर जिरोबाटै काम शुरु गर्ने हुन् । अदक्ष नेपालीले त्यहाँको सरकारले तोकेको तल्लो पारिश्रमिकमा काम गरिरहेका हुन्छन् । जस्तैः ग्रोसरी, लिकर, ग्यास उद्योग आदि । दैनिक जीवनमा अतिआवश्यक कामहरु नेपालीहरुले गर्दै आएका छन् ।
सनफ्रास्कीको, न्यूयोर्कजस्ता शहरमा अधिकांश नेपाली महिलाहरुले ट्याक्सी ड्राइभरको काम गर्छन् । ताकी त्यहाँ ट्याक्सी चलाउनु ‘जोक’ होइन । निकै जोखिम हुन्छ । यसको अर्थ अमेरिकामा नेपालीले आफ्नो इच्छाअनुसार काम गर्न पाउँछन् ।
महिलाहरु बढी मात्रमा ‘नेल आर्ट’ मा काम गरिरहेका छन् । केही व्यवसायमा पनि आबद्ध छन् । महिलाहरु घरमा बच्चाहरुको हेरचाह गर्ने काम गरिरहेका पनि भेटिन्छन् ।
अमेरिकामा आफ्नो खुसीले काम गर्न पाइदैँन । काम गर्नका लागि लाइसेन्स आवश्यक पर्छ । एक जना मानिसले हप्तामा ४० घण्टाभन्दा बढी काम गर्न पाउँदैन । ‘पार्टटाइम’ गर्नेहरुले बढीमा थप २२ घण्टा गर्ने हो ।
अमेरिका पुगेपछि झ्याप्पै काम पाइन्छ भनेर नसोच्नु होला । कामको लागि केही समय कुर्न पर्दछ । कामको लाइसेन्स लिनका लागि प्रक्रिया पुर्याउनुपर्ने हुन्छ । विद्यार्थी भिसामा अमेरिका गएकाहरुले दुई वर्षपछि मात्र काम गर्न पाउँछन्, हप्ताको २० घण्टा । तर, केही मानिसहरु धैर्य गर्न नसकेर नेपाल फर्केका उदाहरण पनि छन् ।
व्यवसायमा नेपाली
नेपालीहरु अमेरिका प्रवेश गर्न थालेको धेरै भएको छैन् । अमेरिकामा सबै नेपालीले संघर्षपूर्ण जिन्दगीनै बिताइरहेका हुन्छन् । अलि सम्पन्न हुन थाल्यो, बैंकले ऋण पत्याउने हैसियत बनायो भने सरकारलेनै घर किन्न ह्वीप जारी गर्छ । नेपालीहरुको पनि अमेरिकामा घर होस् भन्ने चाहना हुन्छ । त्यो ऋण चुक्ता गर्नै बर्षौँ लाग्छ ।
केही नेपालीहरुले मात्र अमेरिकामा आफ्नो ब्यवसाय गरेर बसेका छन् । नेपालीहरुको आँखा ग्यास, नेल आर्ट, व्युटिसियन लगायतको व्यवसायमा पर्ने गर्दछ । करिब ३ हजार नेपालीले अमेरिकामा ब्यवसाय गरेर बसेका होलान् ।
अबैधानिक नेपाली
अमेरिकामा करिव तीन लाख नेपालीहरुको बसोवास छ । त्यसमा करिब २५ हजार नेपाली गैरकानुनी छन् । भर्खरै अध्यागमन विभागले ‘स्पेसल प्रोटेक्सन’को व्यवस्था गरेको छ । दुतावासले फर्म पनि उपलब्ध गराएको छ । यसपटक उनीहरुले पनि पीआर पाउँछन् भन्ने विश्वास लिएका छौँ ।
द्वन्द्वकालपछि नेपालिहरुको बिदेशिने प्रतिस्पर्धा चल्यो । संयुक्त राष्ट्र संघको जेनेभा सम्मेलनले पारित गरे बमोजिम कुनै देशमा धार्मिक द्वन्द ,राजनैतिक ध्वंश, प्राकृतिक प्रकोप वा आर्थिक अराजकताको कारण जीवन धान्न गाह्रो वा असुरक्षा देखिएमा मानवियताको कारण शरणार्थीको हैसियतमा शरण दिने व्यवस्था गरेको थियो । सोही बमोजिम धेरै नेपालीले स्थायी बसोबासको अनुमति पाए । त्यसैको फाइदा उठाउँदै धेरै नेपाली अमेरिका छिरेका थिए ।
कतिपय ‘टुरिस्ट भिसा’मा अमेरिका छिरेर बसेका नेपालीहरु पनि छन् । उनीहरुले कामको लागि पनि विभिन्न प्रोसेस चाल्नु पर्छ । तर, त्यहाँ पुगेपछि कसैले पक्राउ पर्ने चाँहि हुँदैन । वकिलमार्फत मुद्दा लड्न पाउँछ । मुद्दा लडेको १सय ८० दिनपछि काम गर्ने अनुमति प्रप्त गर्छ ।
नेपालीको कमाइ
अमेरिकामा काम गर्ने कामदारका लागि सरकारले नै ‘न्यूनतम ज्याला’ तोकेको छ । अमेरिकाको बिभिन्न शहरमा फरक–फरक तलब तोकिएको छ । नेपालीले प्रतिघण्टा ६ देखि १० डलरसम्म कमाउँछन् ।
हुन त नेपाली सरकारी कर्मचारी, वकिल, डाक्टरहरु पनि छन् । अहिले अमेरिकन सरकारले ‘एक्स्ट्रा अडिनरी’ भिसामा पनि लिन थालेको छ । बर्षको ५० हजार डलर तलब खाने नेपालीहरु पनि छन् । मेरो एक जना वकिल साथीले बर्षको पाँच लाख डलर तलब लिनुहुन्थ्यो । उनीहरुको आयको कुनै सीमा हुँदैन ।
दलाललाई पैसा खुवाएर नजानुस्
दलाललाई पैसा खुवाएर अमेरिका जानुको कुनै अर्थ छैन । त्यहाँ पुगेर पनि वकिललाई पैसा खर्च गर्नुपर्ने हुन्छ । सबै नेपालीले काम गरेर पैसा कमाउने हो । अमेरिका गएको ऋण तिर्नै बर्षौ लाग्छ, मुद्दा लड्न त्योभन्दा बढी खर्चिनुपर्छ । वकिललाई लिएर मुद्दा लडेको पैसा तिर्न मात्र पाँच वर्ष लाग्छ । अर्कोतर्फ बिछोडको पीडा । त्यति पैसाले त नेपालमै धेरै काम गर्न सकिन्छ ।
एक जना नेपालीले १० वर्षदेखि मुद्दा लड्दै छन् । तर, अझै पीआर पाउन सकेको छैनन् । उसले मुद्दा लड्नमात्र ६० हजार डलर (६० लाख) खर्च गरिसके रे । दलाललाई पैसा खुवाएर अमेरिका गए, झन् डिप्रेसनको शिकार हुने बाध्यता निम्तन सक्छ ।
अमेरिका पुग्नपूर्वका तयारी
डिभी पर्नेहरुलाई अमेरिकी सरकारले ‘वेलकम लेटर’ पठाउने गर्छ । जसमा कहाँ बस्ने, कसले हेरचाह गर्छ ? अनुभव के छ ? जस्ता कुराको जवाफ माग्छ । तर, यहाँको कुनै पनि अनुभवले अमेरिकामा काम गर्दैन ।
डिभीमार्फत धेरै नेपाली अमेरिका पुगेका छन् । डिभी परेकाहरु दोस्रो दर्जाका नागरिक हुन्छन् भन्ने गलत भ्रम फैलाइएको छ । हामी नेपालीको सोंच साँघुरो भएर यसो सोंचेका हौँ ।
आफन्त कहाँ छन्, घर भाडा कस्तो छ ? लगायतको जानकारी लिएर अमेरिका पुग्दा राम्रो हुन्छ । कागजपत्र नबन्दासम्म घर भाडा पनि पाइँदैन । त्यसैले आफन्तको जरुरी पर्दछ । मुख्य शहरभन्दा बाहिर बस्दा गाडी भाडामा बढी पैसा खर्च हुन्छ । अर्कोतर्फ भाडा तिर्नसक्ने क्षमता पनि हुँदैन ।
नेपालीलाई नेपालीको साथ
अमेरिकामा पनि घरवारविहीनहरुको संख्या ठूलै छ । मेरो आसपासको शहरमा ३५ हजार घरवार विहीनहरु छन् । उनीहरु सडकमै बस्छन् । तर, नेपालीहरु भने त्यस्तो अवस्थामा छैनन् ।
पहिले–पहिले नेपालीहरुको वर्षदिनमा एकपटक भेट हुन्थ्यो रे ! नेपाली देख्दा खुशीले आँसु खसाल्थे । त्यो १९७६ तिरको कुरा हो । तर, अहिले जुनसुकै राज्यमा पनि प्रशस्तै नेपालीहरु छन् । नेपाली वा अमेरिकी चाड होस्, नेपालीको लागि भेट हुने बहाना हुन्छ । भेट गर्छन्, दुःख सुख साट्छन्, रमाइलो गर्छन । एक नेपालीले अर्को नेपालीलाई सहयोग पनि उत्तिकै गर्छन ।












प्रतिक्रिया