– नरेश केसी
भैरहवा, ३० असार । रुपन्देही जिल्लाका साढे ८ लाख मानिसहरु साक्षर भएको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले दिएको जानकारी अनुसार रुपन्देहीको कुल जनसंख्याको ९६ दशमलव १७ प्रतिशत मानिसहरु साक्षर रहेका छन् । कुल जनसंख्या ८ लाख ८० हजार १ सय ९६ रहेकोमा ८ लाख ४६ हजार ४ सय ८४ जना साक्षर भएका हुन् । नेपाल सरकारले अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान २०६८ सालमा सुरु गर्दा रुपन्देहीमा १ लाख ३३ हजार १ सय ५३ जना निरक्षर रहेको तथ्यांक सार्वजनिक भएको थियो ।
तत्पश्चात ०६९ सालमा साक्षर नेपाल अभियान सुरु भए यता उल्लेख्य प्रगति भएको शिक्षा कार्यालयका सहायक जिल्ला शिक्षा अधिकारी मनोजकुमार बस्नेतले जनाए । रुपन्देहीलाई साक्षर जिल्ला बनाउने अभियानमा ४२ वटा संस्थाका २ हजार १ सय ५८ जना स्वयंसेवक टोल-टोलमा खटिई कक्षा संचालन गरेका थिए । अभियान अवधिभर ७७ संघसंस्थाहरुबाट ३ हजार ७ सय ६३ जना अभियन्ताहरुले कक्षा संचालनको जिम्मेवारी निर्वाह गरेका थिए भने ४ सय १८ जना अनुगमनकर्ताहरु कक्षा अनुगमनमा खटिएका थिए ।
३ वर्षको अभियानमा रुपन्देहीमा ६ करोड रुपैयाँ खर्च भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । यसैबीच रुपन्देहीलाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्न शिक्ष्ाँ मन्त्री चित्रलेखा यादव बिहीबार भैरहवा आउने भएकी छन् । दिउँसो १ बजे स्थानीय सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने पूर्ण साक्षर जिल्ला घोषणा समारोहमा सहभागी हुन जिल्ला शिक्षा कार्यालयले रुपन्देहीबासीलाई आग्रह समेत गरेको छ ।















प्रतिक्रिया