तेह्रथुम, ३० असार । तेह्रथुमको ओयाक्जुङ–६ प्रजाङ बस्तीमा बस्ने छजनाको एक लिम्बू परिवारमा ३५ वर्षीया टीकाकुमारी घरकी एक्ली महिला हुन् । तर घरमा कोही नयाँ मान्छे आउँदा उहाँ आफैँलाई भान्सा छिर्न पर्दैन । मेलापातमा जाँदा कतिबेला घर पुगेर खाना बनाउने भन्ने पनि उहाँलाई चिन्ता छैन ।
श्रीमान् कमलबहादुर लिम्बूले काममा श्रीमती र आफूलाई भनेर भाग नलगाउँदा टीकाकुमारीले सुखको स्वास फेर्न पाउनुभएको हो । श्रीमान्कै सहयोगले उहाँ कृषिमा व्यावसायिक बन्नु भएको छ । उहाँ त्यही सहयोगका भरमा गाउँमा हुने भेला, गोष्ठी र तालिममा सहभागी हुन भ्याउनुहुन्छ । “आफू घर बाहिर हुँदा श्रीमान्ले घरको काम सबै गरिदिएकाले अहिले सफल भएकी हुँ” उहाँले खुसी व्यक्तगर्नुभयो ।
गाउँमै गठित प्रजाङ महिला समूहकी उपाध्यक्षसमेत रहनुभएकी टीकाकुमारीले व्यावसायिक अदुवा र अकबरे खेती लगाउनुभएको छ । त्यही समूहमार्फत उहाँले ढाका बुन्ने तालिम लिएर घरैमा ढाका कपडा बुनेर आयआर्जन गर्नुभएको छ । पोहोर साल अकबरे बेचेर कमाएको रु २५ हजारमा श्रीमान्को कमाइ थपेर उनीहरुले बन्धकमा खेत पनि किनेका छन् । यस वर्ष पनि बिरुवा थपेर झन्डै ७०० अकबरे बारीमा रोेपेको उहाँले बताउनुभयो ।
खेतमा अहिले सात क्विन्टल बढी अदुवा त बीउमात्र रोप्नुभएको छ उहाँ आफैँले । त्यसबाट ३५ क्विन्टल बढी उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । जसबाट प्रतिकिलो रु ६० का दरलेमात्र बिक्री गर्ने हो भने रु दुई लाख आम्दानी हुन्छ । अदुवा, अकबरेसँगै तरकारी खेतीमा पोख्त टीकाकुमारी अरु खाद्यान्न बालीको खेतीभन्दा यो फाइदाजनक भएको बताउनुहुन्छ ।
छोरा मान्छेले घर र भान्साको काम गर्नु हँुदैन भन्ने संस्कारको नेपाली समाजका एक नमुना र असल श्रीमान् बनेका छन् उहाँका श्रीमान् ३८ वर्षीय कुलबहादुर पनि । उहाँले कामका लागि घन्टौँसम्म धाउनुपरे पनि श्रीमतीलाई घरको काम सघाउँदै मासिक रु १५ हजार सहजै कमाउँनुहुन्छ । पहिले–पहिले श्रीमतीको त्यति वास्ता नगर्ने उहाँ कामबाहेक बचेको पूरै दिन बाहिरै पनि बिताउनुहुन्थयो । तर जब गाउँमा महिला सशक्तीकरण र सचेतनाको ज्योति छि¥यो, तब कमलबहादुरका आँखा खुलेका हुन् । श्रीमान् बाहिरको काम गर्दा घरभित्र चुलोमै मात्र थुनिएकी टीकाकुमारीले पनि बल्ल केही गर्नुपर्ने रहेछ भनेर सिक्नुभएको हो ।
एक्सनएड अन्तर्राष्ट्रिय नेपालको सहयोगमा देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले गाउँमै महिला समूह गठन गरी सचेतीकरण गरेको हो । साधारण लेखपढबाहेक अरु शिक्षादीक्षा लिन नपाएकामा लिम्बू दम्पत्ति गुनासो गर्छन् । लिम्बू दम्पत्ति भन्छन्, “हामीले लेखपढ गर्न नपाए पनि अब छोराछोरीलाई चाहिँ राम्रै पढाउन सङ्घर्ष गर्दैछौँ ।” घरको काम चाहिँ छोरी मान्छेले नै गर्नुपर्छ भन्ने पुरातन संस्कारमा हुर्किए पनि अन्ततः काम जसले गरे पनि हुने रहेछ भनेर बुझेका छन् लिम्बू दम्पत्तिले ।
घरदेखि विद्यालय पनि नजिकै छ । जेठो छोरो सिद्धकाली उच्च माविमा कक्षा ७ मा पढ्छन् । अरु साना छोरा पनि सोही स्कुलमा पढिरहेको टीकाकुमारीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अब त छोरो पनि बढ्दै छ, उसले पनि काममा धेरै सघाउन थालेको छ, सानाले पनि घरको खत्र्याकखुत्रुक काम सघाउँछन् सजिलै छ । पहिलेपहिले कत्ति दुःख थियो, अहिले त धेरै सजिलो छ, आफूले चाहेको खर्च आफैँ जुटाउन सक्ने भइयो” टीकाकुमारीले–भन्नुभयो ।
दुःखले उत्पादन गरेका तरकारी बेच्न उहाँ सदरमुकाम म्याङलुङसम्म पनि आइपुग्नुहुन्छ । घर नजिकै बजार नहुँदा उहाँले ओयाक्जुङसँगै जिल्लाका मोराहाङ, जिरिखिम्ती र म्याङलुङसम्म धाउनुपरेको बताउनुभयो । व्यावसायिक रुपमा कडा परिश्रम गरे माटोमा पनि सुन फल्ने कृषक टीकाकुमारी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिलेपहिले श्रीमान् विदेश जाने रहर गर्नुहुन्थ्यो, चाडपर्व आउँदा पाहुनापासा आउँदा समस्या हुन्थ्यो, तर अहिले म आफँैले घरको खर्च र नानीहरुको पढाइ खर्च टारेपछि श्रीमान्ले कमाएको त चोखै वचत हुन्छ ।” रासस















प्रतिक्रिया