काठमाडौ, ३० असार । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालमा भाँडभैलो मच्चिएको छ । संगठन बनाउने भन्दा पनि एकले अर्कालाई कारबाही गर्नमै उद्दत छन्, यतिबेला युवा संघका नेताहरु । युवा संघभित्र एकले अर्कालाई कारबाहीको श्रृंखला चलिरहँदा माउ पार्टी नेकपा एमाले भने रमिते मात्रै बनिरहेको छ ।
युवा संघ नेपालले संघका उपाध्यक्ष दिलु पन्त र सचिव नरेश शाहीलाई कारबाही गरेको भोलिपल्टै पन्त समूहले अध्यक्ष निरु पाल र महासचिव राजिब पहरीलाई निलम्बर गरेको जनाएको छ ।
दिलु पन्तको अध्यक्षतामा बुधवार बिहान काठमाडौँमा बसेको काठमाडौंमा उपलब्ध संघका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिइयो ।
दिलुका निरु र राजीबलाई के-के आरोप ?
दिलुका अनुसार उनीहरुलाई निलम्बन गर्नुको पछाडि आठ वटा कारणहरु छन् । जसमा पदीय जिम्मेवारी र गरिमालाई कायम राख्न नसकेको र दुरुपयोग गरेको, भुकम्प पीडितको नाममा उठाएको र प्राप्त रकमको दुरुपयोग गरेको, संघको लोगो र झण्डा दुरुपयोग गरेको, पार्टीका नेतालाई गालीगलौच र अपशब्द बोलेको, सैद्धान्तिक विचलन देखिएको र निम्न पुजीबादी चिन्तन हावी भएको, संघलाई आत्मकेन्द्रीत र आर्थिक केन्द्रीत रुपमा परिचालन गर्ने एवम गुटगत प्रबृत्तिलाई प्रशय दिने खाले गतिविधी गरेको, संगठनमा नेताहरुको चाकरी गर्ने शैलीको विकास गरेको र संगठनको नेतृत्वमा देवत्वकरण र कार्यकर्तामा मण्डलेकरण गरेको रहेको छ ।
दिलु समूह संघका पूर्व अध्यक्ष एवम बर्तमान सरकारका उद्योग मन्त्री महेश बस्नेतविरुद्ध पनि खनिएको छ । बस्नेतले पदीय अधिकार दुरुपयोग गरेर आर्थिक र अन्य अवसर देखाई आफ्नो समूहका युवालाई विचलित गर्ने काम गरेको आरोप लगाइएको छ ।
संघभित्र उत्पन्न परिस्थिति बारे छलफल गरि निर्णय गर्न दिलु समूहले आगामी साउन २२ र २३ गते काठमाडौँमा विस्तारित बैठक बोलाउने र त्यसलाई सफल बनाउन विभिन्न समिति र उपसमितिहरु समेत गरेको छ ।
उपाध्यक्ष दिलु पन्तको संयोजकतत्वमा विस्तारित बैठक आयोजक तथा ब्यवस्थापन मुल समिति, हस्तबहादुर शाहीको संयोजकत्वमा आर्थिक उपसमिति, नरेशकुमार शाहीको संयोजकत्वमा खाद्य तथा आवास उपसमिति, क्रान्ति बुर्लाकोटीको संयोजकत्वमा प्रचार उपसमिति, मन्जु यादवको संयोजकत्वमा लजेष्टीक ब्यवस्थापन, अन्जन भट्टको संयोजकत्वमा अतिथि ब्यवस्थापन, सन्जिव राईको संयोजकत्वमा स्वयमसेवक परिचालन, सुरेन्द्रमान कार्कीको संयोजकत्वमा हल तथा मञ्च ब्यवस्थापन र पूर्ण लामाको संयोजकत्वमा दस्तावेज निर्माण उपसमिति गठन गर्ने निर्णय पनि गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघकी उपाध्यक्ष पन्तले मुलुकको सम्पूर्ण यूवाहरुको नेतृत्वदायी संस्था यूवा संघ नेपाललाई कमजोर बनाउने खेल स्वयम संघभित्रबाटै भइरहेको दाबी गरिन् । उनले पूर्वअध्यक्ष एवम उद्योगमन्त्री महेश बस्नेतले नेताहरुलाई फुटाएर संघलाई गुटगत भासमा डुबाउने र आर्थिक दुरुपयोग गरेकोले मन्त्रीपदबाट हटाउन माग समेत गरिन् ।
केही समय अघि मिल्यो भनिएको युवा संघ पछिल्लो समय एकाएक बल्झिएको हो । खासगरि, उपाध्यक्ष दिलु पन्त समूहले लिपु लेक प्रकरणका विषयमा एकल रुपमा कार्यक्रम गरेर समानान्तर रुपमा संगठन चलाउनु परेका कारण कारबाही गर्नु परेको संस्थापन पक्षको भनाइ छ भने पन्त समूहले आफूहरुको माग अझै सम्बोधन नभएको बताउँदै आएको छ ।
















प्रतिक्रिया