काठमाडौँ, २९ असार । अर्थमन्त्री डा रामशरण महतले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको आव २०७२÷०७३ को बजेट वक्तव्यमा गत वैशाखमा आएको भूकम्प र त्यसपछिको परकम्पको प्रभाव परेको छ ।
बजेट वक्तव्यको प्रारम्भमै उहाँले भन्नुभयो, “यस वर्षको सुरुमा आएको त्रासदीपूर्ण भूकम्प र त्यसका शृङ्खलाले ल्याएको भौतिक, आर्थिक र मानवीय विनाशका बीच बाटाबाट उठेर नयाँ अठोट र विश्वासका साथ नेपाललाई समुन्नत राष्ट्रका रुपमा उभ्याउने नेपाली चाहनालाई आव २०७२/०७३को बजेटमा मूर्त रुप दिन प्रस्तुत गर्न उभिएको छु ।”
भूकम्पपछिको पुनःनिर्र्माणको कामलाई नवनिर्माणमा प्रयोग गर्ने सोचका साथ प्रस्तुत बजेटमा राहत, पुनःस्थापना र पुनःनिर्माणको कामलाई बजेटको प्राथमिकतामा राखिएको अर्थमन्त्रीले बताउनुभयो ।
भूकम्पमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा दिदीबहिनी र विदेशी नागरिकप्रति श्रद्धासुमन अर्पणका तथा घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्दै उहाँले भन्नुभयो, “देशको नवनिर्माणका लागि यस विपत्तिलाई शक्तिमा परिणत गर्न हामी सक्षम छौँ भन्ने विश्वास लिएको छु ।”
सीमित साधन र स्रोतका बाबजुद कठिन परिस्थितिमा एक महिनाभित्र राहतको कार्य गरियो, लाखौँ भूकम्पपीडितलाई अस्थायी बसोबासको व्यवस्था गरियो र महामारी आउन नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास सम्भव भएको पनि अर्थमन्त्री डा महतले बताउनुभयो ।
विपत्तिपछिको आवश्यकता पहिचान गरी प्रतिवेदन सार्वजनिक भएको र देशको पुनःनिर्माणका लागि आयोजना गरिएको दाता राष्ट्रको अन्तर्राष्ट्रिय सम्मेलन प्रभावकारी भएको उल्लेख गर्दै उहाँले पा्रकृतिक प्रकोपलाई जित्न र रोक्न सक्ने सामथ्र्य कसैको नभए पनि यसलाई न्यूनीकरण गर्न सामथ्र्य हुनुपर्नेमा जोड दिनुभयो ।
भूकपम्पबाट पाठ सिकेर सुन्दर भविष्यको कल्पना गर्नुपर्ने औँल्याउँदै अर्थमन्त्री डा महतले यसका लागि सरकार जनतासँग छ भन्ने विश्वास दिलाउन सरकारको क्षमता र सामथ्र्यले भ्याएसम्म पूरा गरिने छ भन्नुभयो । रासस















प्रतिक्रिया