७ कार्तिक २०८३, शनिबार

बुटवल उपमहानगरपालिका पूर्ण साक्षर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २९ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिका पूर्ण साक्षर भएको छ ।

उपमहानगरपालिकाभित्र रहेको जनसङ्ख्याको ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या साक्षर भइसकेकाले उपमहानगरपालिकालाई पूर्ण साक्षर नगरको रुपमा घोषणा गरिएको बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख ध्रुवबहादुर खड्काले बताउनुभयो ।

सोमबार यहाँ आयोजित कार्यक्रममा रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले बुटवल उपमहानगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्नुभयो भने रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले पूर्ण साक्षर भएको प्रमाणपत्र प्रदान गर्नुभयो ।

सो अवसरमा स्थानीय विकास अधिकारी अर्यालले शिक्षाले मानिसको चेतनास्तर वृद्धि गर्ने र सकारात्मक सोचको विकास गर्ने भएकाले समाजको विकासमा शिक्षाको ठूलो भूमिका रहेको बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी थापाले बुटवल मात्रै नभएर रुपन्देही जिल्लाभरिमा नै ९५ प्रतिशतभन्दा बढी जनसङ्ख्या पूर्ण साक्षर भइसकेको भन्दै यही महिनाभित्र रुपन्देहीलाई पूर्ण साक्षर जिल्ला घोषणाको तयारी भइरहेको जानकारी गराउनुभयो ।

जिल्ला शिक्षा कार्यालयले यही असारको ३१ गते रुपन्देहीलाई पूर्ण साक्षर जिल्ला घोषणाको तयारी गरेको छ ।

पूर्ण साक्षर हुनका लागि त्यस ठाउँमा रहेको १५ देखि ६० वर्ष उमेर समूहको जनसङ्ख्यामध्ये ९५ प्रतिशत जनसङ्ख्या साक्षर भएको हुनुपर्छ ।

बुटवल उपमहानगरपालिका समाज कल्याण महाशाखाका प्रमुख भुवाप्रसाद लुइँटेलका अनुसार एक लाख ३८ हजार ७४२ जनसङ्ख्यामध्ये पूर्ण साक्षर अभियान सञ्चालन अगाडि बुटवल उपमहानगरपालिकामा पाँच हजार ३७२ जना निरक्षर रहेका थिए ।

अभियानका क्रममा बुटवल उपमहानगरपालिकाले २८१ वटा सघन साक्षरता कक्षा सञ्चालन गरेको थियो ।

जसबाट चार हजार ८८० जान साक्षर भएको नगरपालिकाको दाबी छ । जुन ९९.६२ प्रतिशत हो ।

बुटवल उपमानगरपालिका पूर्ण साक्षर घोषणा भए पनि नगरमा अझै ४९२ जना भने निरक्षर नै छ ।

बुटवल उपमहानगरपालिकाका कार्यकारी प्रमुख खड्काले बुटवलको विकासलाई थप उचाइमा पु-याउन आर्थिकसँगै सामाजिक विकासलाई महत्वका साथ लिएको बताउनुभयो ।