७ कार्तिक २०८३, शनिबार

अहिलेको पुलिसिङ कोरा ज्ञान र सिद्धान्तले मात्रै थेग्दैन् : एसएसपी गणेश केसी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SSP-Ganesh-KC-copy_20140318083224

लुम्बिनी अंचल प्रहरी कार्यालय प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक गणेश केसी जो विस २०४५ सालदेखि प्रहरी सेवामा सक्रिय भई नेपाल प्रहरी प्रवक्ताको जिम्मेवारी समेत निर्वाह गरिसकेको साथै लुम्बिनी अञ्चल प्रहरी प्रमुखमा जिम्मेवारी वहन गरिरहेको बेला उहाँसंग लुम्बिनी अंचलको शान्ति सुरक्षा गतिविधी बारे गरिएको कुराकानी :

वैज्ञानिक श्रोत र साधनको सीमित प्रयोगले यसको पूर्ण उद्देश्य हासिल हुन सक्दैन, हामीसंग वैज्ञानिक साधनहरूको कमी छ, वैज्ञानिक साधनमा र तथ्याङ्कमा हाम्रो कानुनी पहुँच सहज हुन सकेको छैन । यसले प्रमाणमुखी अनुसन्धानलाई प्रभावित गरेको महसुस भएको छ । 

– अहिले लुम्बिनी अञ्चलमा प्रहरी शान्ती सुरक्षा कायम राख्न के भूमिका निर्वाह गरिरहेको छ ? 

यस कार्यालय अन्तर्गत रहेका सबै (छ वटा) जिल्लाहरुले आ–आफ्नो जिम्मेवारीको क्षेत्र अपराध नियन्त्रण, अनुसन्धान, शान्ति सुरक्षा, सवारी व्यवस्थापन, प्राकृतिक प्रकोपमा उद्दार र व्ववस्थापन लगायत दैनिक रुपमा प्रहरीसंग सम्बन्धीत अन्य काम कारबाहीमाथि निगरानी राखी उल्लेखित काम काम कारवाहीहरूको कानुन सम्मत व्यवसायिक ढंगबाट निश्पक्ष पारदर्शी चुस्त र हार्दिकता पूर्बक सम्पन्न गर्न गराउन निर्देशन दिने, अपुग श्रोत र साधनको संयोजन गर्ने, सरोकारवाला अन्य निकायहरुसंग समन्वय गर्ने काम गरी अपराध नियन्त्रण र अनुसन्धानमा पूर्ण नियन्त्रण गर्नुको साथै शान्ति सुरक्षालाई सामान्यीकरण गराउदै आएको छ । यो कार्यालय सुपरिवेक्षिकीय भूमिकामा रहेकोले उक्त भूमिकालाई प्रभावकारी ढंगबाट निर्वाह गरी अञ्चलको शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरी सफल छ भन्ने हाम्रो बिश्लेषण रहेको छ ।

– शान्ती सुरक्षा थप सुदृढ गर्न का लागि प्रहरी भित्र के कस्तो वैज्ञानिक सामग्रीका आवश्यकता छ ?

एक्कासौ शताब्दीको पुलिसिङ कोरा ज्ञान र सिद्धान्तले मात्रै थेग्न सक्दैन, हामी प्रमाणमुखी अनुसन्धानमा बिश्वास गर्छौ । हाम्रो उद्देश्य पनि प्रमाणमा आधारित अनुसन्धान पद्दति हो । वैज्ञानिक श्रोत र साधनको सीमित प्रयोगले यसको पूर्ण उद्देश्य हासिल हुन सक्दैन, हामीसंग वैज्ञानिक साधनहरूको कमी छ, वैज्ञानिक साधनमा र तथ्याङ्कमा हाम्रो कानुनी पहुँच सहज हुन सकेको छैन । यसले प्रमाणमुखी अनुसन्धानलाई प्रभावित गरेको महशुस भएको छ । वैज्ञानिक साधनहरु जस्तै सिसिटि भी, ब्रेथलाईजर, लाईटडिटेक्टर, अनुसन्धान किट बक्स, एक्सरे मेसिन जस्ता अति आवश्याकिय प्राथमिक वैज्ञानिक साधनहरुको उपलब्धताले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा प्रभावकारिता बृद्धि हुने छ ।

– सुक्ष्म अपराध अनुसन्धानका लागि प्रहरीले के कस्ता भूमिका खेलेको छ ?

सफल अनुसन्धानबाट नै अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम भई दण्ड हिनताको अन्त्य हुन्छ भन्ने हाम्रो मान्यता छ । नेपाल प्रहरीको मूल दायित्व भनेकै अपराध नियन्त्रण र अपराधको अनुसन्धान गरी पीडितलाई न्याय र पीडकलाई सजाय गराउनु हो । यसको निम्ति यस अञ्चलबाट अपराध अनुसन्धान गर्ने सबै इकाईहरुलाई निग्रानी, अनुगमन, निर्देशन, सहयोग र समन्वय गर्दै उनीहरुको क्षमता अभिबृद्धि समेत गरी उनीहरुलाई आफ्नो जिम्मेवारी व्यवशायिक ढंगबाट सम्पादन गर्न सक्ने गरी सक्षम बनाईएको छ । अपराध अनुसन्धानमा खटिने संख्या र जनशक्तिको बिकाश गरी अपराध अनुसन्धानको स्तर बृद्धि गर्ने संगठनको रणनीतिक लक्ष्य अनुरुप यस अञ्चलमा पनि काम कारबाहीहरू सोही लक्ष्य अनुरुप अगाडी बढी रहेका छन् । अपराध नियन्त्रण कार्य योजना २०७१ कार्यान्वयनको चरणमा आई पुगेको छ । यसले निश्चित रुपमा प्रहरीको अपराध नियन्त्रण र अनुसन्धानमा उद्देश्यमुलक सफलता हासिल हुने छ भन्ने हाम्रो बिश्वास रहेको छ ।

– के मुस्कान सहितको प्रहरी सेवा प्रहरीले दिएको छ त ?

प्रहरी माथि आम नेपालीको बिश्व र भरोशा हिमाल झै अटल छ तथापी नेपाल प्रहरीका केही सदस्यहरुको सीमान्तकृत र बिपन्न नागरिक प्रतिको व्यवहार सच्याउनु पर्ने भन्ने जनगुनासोलाई दृष्टिगत गर्दै प्रहरीले नागरिक मैत्री, सेवाग्राही मैत्री, पीडितमैत्री, लैंगिकमैत्री व्यवहार गर्ने र आफ्नो कार्यालयलाई पनि सो अनुसार रुपान्तरण गर्दै लगी रहेको छ । यसको निम्ती हामीले हाम्रा सम्पूर्ण कर्मचारीहरुलाई ‘मुस्कान सहितको प्रहरी सेवा’ मा प्रशिक्षित गरेका छौ र हाम्रा कार्यालयहरुमा ‘नागरिक सहायता कक्ष’ स्थापना गरी उक्त कक्ष मार्फत आम सेवा ग्राहीहरुलाई छिटो छरितो र पारदर्शी प्रहरी सेवा प्रवाह गर्दै आएका छौ । हामी अझै केही कमी कमजोरीका बावजुद पनि आगामी दिनमा आफूलाई सुधार्दै अझ शसक्त ढंगबाट जनताको सेवामा समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गर्दछौ ।

– सीमावर्ती क्षेत्रमा चेलीबेटी बेचबिखन, लागुऔषध सेवन तथा भंसार छलेर राजस्व तस्करी त बढेको छ नि ?

यस अञ्चलको मित्र राष्ट्र भारतसंग सीमा जोडिएका सीमा क्षेत्रहरु सीमाबर्ती अपराधको निम्ति हाम्रो लागी दशकौ देखी चुनौतिको रुपमा रही आएको छ । खुल्ला सीमाना, संस्कृतिक र जातिय समानता, सामाजिक र दैनिक जीबनयापनसंग जोडिएका कृयाकलापहरुले द्धिपक्षिय सुरक्षा निकाय, राजश्व र भन्सार प्रशासनसंग जोडिएका मुद्धाहरु सीमाबर्ती अपराधसंग सम्बन्धीत छन् । यस अञ्चल भित्रका सीमाहरुबाट संस्थागत रुपमा कुनै पनि किसिमको तस्करीहरू नभएको कूरा दृढताका साथ दावी गर्दछु । आम नागरिकले खुल्ला सीमानाको फाईदा उठाउँदै दैनिक जीवनसंग सम्बन्धीत उपभोग्य सरसमानको निर्बाध ओसार पसार गर्ने बाहेक अन्य तस्करीहरू प्रहरीहरुको संलग्नतामा छैन भन्ने कुरा मलाई बिश्वास छ । यो हाम्रो उद्देश्यरमा कुनै पनि प्रहरी कर्मचारीको निष्ठार माथी शंका लागेको अबस्थामा त्यस्ता प्रहरी कर्मचारीलाई जिम्मेवारीबाट हटाई बिभागिय कार्बाहीको दायरामा ल्याएका छौ । हामीले यी सीमाबर्ती क्षेत्रहरुलाई लागू औषध, मानव वेचबिखन र ओसार पसार को निम्ति रणनीतिक क्षेत्रको रुपमा वर्गीकरण गरी तद अनुरुपको कार्य योजनाका साथ उल्लेखित अपराध नियन्त्रण र कानूनी कार्वाहीमा कृयाशिल गराउदै आएका छौ । यसले सयौको संख्यामा लागुऔषधका दुर्वशनी, ओसार पसारमा संलग्न व्यक्ति, कारोवारीहरुलाई कानूनको दायरामा ल्याएका छौ । मानव वेचविखन तथा ओसार पसारमा संलग्नलाई कानूनी कार्वाही तथा पीडितको उद्धारमा विभिन्न संघ संस्थाहरु संग समन्वय र सहकार्य गरी उल्लेखनिय सफलता प्राप्त हुदै आएको छ । सिमावर्ती सुरक्षा निकायहरु संगको सहकार्यमा लागु औषध, मानव वेचविखन र ओसारपसारमा नियन्त्रण र कार्वाहीलाई प्रभावकारी बनाउदै आईएको छ ।

– अन्तमा तपाईले जनताहरु लाई के सन्देश दिन चाहनु हुन्छ ?

प्रहरी जनताको लागी जनताबाट नै अनुमोदित संस्था हो । हामी अपराध नियन्त्रण, अपराधको अनुसन्धान, शान्तिसुरक्षा र जनताको प्रहरी सेवा प्राप्त गर्ने अधिकारको दायित्व निर्वाह गर्न जनताको घर दैलोमा छौ । हामी जनताकै सहयोग र समन्वयमा उल्लेखित जिम्मेवारी पुरा गर्न सक्छौ भन्नेमा विश्वस्थ छौ । यसको निम्ती प्रहरीलाई सकारात्मक रायसुझाव र सल्लाह दिई सहयोग पुर्याई दिनुहुन विनम्रता पूर्वक आग्रह गर्दछु ।

प्रस्तुती : विवेक विश्वकर्मा/भैरहवा