– प्रकाशचन्द्र भट्टराई
तनहुँ २७ असार । शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको मामाको स्मृतिमा जामुने गाविस–७ बेल्टारमा पार्क निर्माण गरिएको छ ।
शान्ति मन्त्री आचार्यका मामा रुद्रनाथ घिमिरको स्मृतिमा सो ठाउँमा करिब ५ रोपनी सार्वजानिक जग्गामा ‘रुद्र स्मृति शान्ति पार्क’ निर्माण गरिएको हो । सो पार्क निर्माणको लागि शान्ति मन्त्रालयबाट ११ लाख ९० हजार रुपैयाँ उपलब्ध गराईएको छ । जामुने गाविस–७ निवासी घिमिरेको २०५४ सालमा निधन भएको थियो । उनका छोरा रामचन्द्र घिमिरे हाल शान्ति मन्त्री आचार्यका स्वकिय सचिव रहेका छन् ।
शान्ति मन्त्रालयबाट आर्थिक बर्ष ०७२/७३ मा सम्झौता गरि सो पार्क निर्माण गरिएको हो । गत बैसाख÷जेठमै उक्त योजना सम्पन्न गरिसक्नु पर्ने भएपनि भुकम्प लगायतका कारणले समयमै पार्क निर्माण गर्न नसकिएको पार्क निर्माण समितिका संयोजक गोविन्द घिमिरेले बताए । मन्त्रालयद्वारा सञ्चालित शान्तिकालागि विकास कार्यक्रम अन्तर्गत रकम विनियोजन गरि सो पार्क निर्माण गरिएको हो । स्वकिय सचिवका बुवा तथा मन्त्रीका मामाको स्मृतिमा पार्क निर्माणकोलागि यती ठुलो रकम प्राप्त भएको स्थानीयले बताए । सुरुमा ‘रुद्र स्मृति पार्कको’ नाममा योजना सम्झौता भएपनि पछि विरोध आउने आशंकाले ‘शान्ति’ शब्द थपिएको एक स्थानीयले बताए ।
शान्तिकालागि विकास कार्यक्रमको बजेट द्वन्द्व प्रभावित संरचनाहरुको निर्माणकोलागि खर्च गरिनु पर्नेमा मन्त्रीले आफ्नै मामाको स्मृतिमा पार्क निर्माणका यति ठुलो रकम विनियोजन गरेकोमा द्वन्द्व प्रभावित व्यक्तिहरुले असन्तुष्टि जनाएका छन् । सो ठाउँमै पार्क निर्माण गर्नु परेको भए द्वन्द्वको क्रममा ज्यान गुमाएका र वेपत्ता पारिएका जामुनेका नागरिकहरुको स्मृतिमा निर्माण गरिनु पर्ने एक द्वन्द्व पीडितले बताए ।
द्वन्द्वको क्रममा जामुनेका ४ जना नागरिकको मृत्यु भएको छ भने २ जना हाल सम्म बेपत्ता छन् । शान्ति मन्त्रालयबाट सञ्चालित योजना तिनै द्वन्द्व पीडितको स्मृतिमा हुनु पर्ने द्वन्द्व पीडितहरुको भनाई रहेको छ । जामुने गाविसमा मात्रै शान्ति मन्त्रालयबाट मन्दिर, पार्क, आमा समुहको भवन, सिंचाई र विद्यालयमा गरि एक दजर्न योजना सञ्चालित छन् ।















प्रतिक्रिया