२० कार्तिक २०८३, शुक्रबार

एमाओवादीका केन्द्रीय सल्लाहकारसहित काँग्रेस, राप्रपा र नेमकिपाका नेता एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Prabesh

काठमाडौँ, २६ असार । एकीकृत नेकपा एमाओवादीका केन्द्रीय सल्लाहकारसहित काँग्रेस, राप्रपा र नेमकिपाका नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमाले मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा एमाओवादीका केन्द्रीय सल्लाहकार ठाकुर गजुरेलसहित दर्जनौँ एमालेमा प्रवेश गरेका हुन् । यसअघि एमालेमै रहेका उनी शनिबारबाट पुरानै घर फर्किए । एमालेका तर्फबाट नुवाकोटको विदुर नगरपालिकाकामा दुईपटक मेयर बनेका गजुरेल एमाओवादीमा गएपछि केन्द्रीय सल्लाहकार बनेका थिए । पुरानै घरमा फर्कन पाउँदा खुसीको सिमा नरहेको उनले बताए ।

UML-Prabesh1

यसैगरी, एमाओवादीका नुवाकोट जिल्ला सदस्य विष्णु बोगटी, एमाओवादीकै शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष विष्णु पनेरु, रामप्रसाद गजुरेल, डा सुनिल गजुरेल, बद्री सिंखडा, कृष्ण गजुरेल पनि एमालेमा प्रवेश गरेका छन् । माओवादीकै शिक्षक संगठन नुवाकोटका कोषाध्यष सन्तोष गजुरेल पनि एमालेमा प्रवेश गरेका छन् ।

यता, नेपाली काँग्रेस खानी गाउँ गाउँ इकाइ समितिका सभापति रामप्रसाद खतिवडाको नेतृत्वमा गाउँ समिति एमालेमा विलय भएको छ ।

नेमकिपाका जिल्ला अध्यक्ष चक्रबहादुर डंगोलको नेतृत्वमा सिंगो जिल्ला कमिटी नै एमालेमा विलय भएको छ ।

UML-Prabesh2 copy

राप्रपाको भातृ संगठन युवक संगठनका नुवाकोट जिल्ला अध्यक्ष निर्मलकुमार गुरुवाचार्यसहितको टिम पनि एमालेमा प्रवेश गरेको छ । राप्रपाकै नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रीय अध्यक्ष कमलबहादुर शाह, राप्रपा केन्द्रीय यातायात विभाग प्रमुख सुमन पाठक, खानीगाउँ गाउँ समितिका सभापति गुणबहादुर थापा, उपसभापति विनोद ढुंगाना पनि एमालेमा प्रवेश गरेका छन् ।

एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री एवं एमाले पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डे, एमालेकै पोलिटव्युरो सदस्य एवं बागमती अञ्चल इन्चार्ज अरुण नेपाल, नुवाकोट एमालेका अध्यक्ष नारायण खतिवडाले नवप्रवेशीलाई पार्टीमा स्वागत गरे ।

समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशीलाई क्षमता अनुसारको जिम्मेवारी दिइने बताए । एमालेमा आउने कसैलाई पनि काखापाखा नगरिने उनको भनाइ थियो । उनले आफ्नै शैलीमा भने, ‘अहिले भेडाका रौँमात्र झरेका छन्, सिंगो भेडा नै ल्याउने तयारीमा छौँ । त्यसपछि थोरै पार्टीमात्र नेपालमा रहन्छन् ।’

परराष्ट्रमन्त्री एवं एमाले पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले नुवाकोट अब एमालेमय हुने बताए ।

UML-Prabesh3

बागमती अञ्चल इन्चार्ज अरुण नेपालले आफ्नो क्षेत्रका कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताए ।

यसअघि शुक्रबार मात्रै नेकपा मालेका पोलिटव्युरो सदस्यसहित १४ जना केन्द्रीय नेता एमालेमा प्रवेश गरेका थिए । शुक्रबार मालेबाट ४ सय जना प्रवेश गरेको एमालेको दाबी छ । शनिबार पनि विभिन्न पार्टीबाट पाँच सय भन्दा बढी पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

तस्वीरः विष्णु तारुके