काठमाडौं । अनलाईन मार्फत युवतीहरुलाई यातना दिने एक व्यक्ति पक्राउ परेका छन् ।
महानगरी प्रहरी अपराध महाशाखाले अनलाईनमार्फत युवती तथा मोडललाई शारीरिक तथा मानसिक तनाव दिने नेपालगञ्जका २३ वर्षीय राहुल बाल्मिकीलाई पक्राउ गरेको हो । पेसाले उनी नृत्य प्रशिक्षक हुन् । नौजवान मोडेललाई उनले डान्स पनि सिकाउथे ।
उनले बिभिन्न कलेज तथा बिद्यालयका छात्राहरु तथा मोडलिङ क्षेत्रमा काम गर्ने ३५ देखि ४० जना मोडल महिलाहरुको फेसबुकमा आफ्नो पहुंच कायम गर्न ट्रिक गरी प्रोफाईल ह्याक गरेका थिए ।
त्यसपछि उनले ती फेसबुकबाट पर पुरुष साथीलाई यौन प्रस्तावका साथै अश्लील कुरा पनि गरेका थिए । साथसाथै उनले पीडित महिलाहरु एवं उनीहरुका फेसबुक फ्रेण्डहरुलाई फेसबुक मार्फत सम्बन्धित ब्यक्तिको गोपनियता भङग गर्ने, चरित्र हत्या गर्ने, यौन दुर्व्यबहार गर्ने तथा ह्याक प्रोफाईल फिर्ता गर्न रकम समेत मागेर चरम मानसिक यातना दिएका थिए ।
अपराध महाशाखाको विशेष टोलीले बाल्मिकीलाई नेपालगञ्जबाट पक्राउ गरेर महाशाखामा ल्याई आवश्यक अनुसन्धान गरी विद्युतीय कारोवार सम्बन्धी मुद्दामा कानुनी कारबाहीको लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ ।
साथै विद्युतीय उपकरणहरुमा अपरिचित ब्यक्तिको फेसबुक, ईमेल, एसएमएस रिक्वेष्ट वा मोवाइल नम्वरबाट आएका कुनै पनि विद्युतीय अनुरोधहरुलाई यकिन नगरीकन कुनै किसिमको प्रतिकृया नजनाउन समेत सर्वसाधारणहरुलाई महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।















प्रतिक्रिया