कञ्चनपुर, २३ असार । अवैध मदिराको कारोबारमा संलग्नलाई प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेपछि कञ्चनपुरको बेलौरी क्षेत्रमा महिलामाथि हुने घरेलु हिंसाका घटनामा कमी आएको छ ।
बिनाइजाजत अवैध मदिराको कारोबार गर्नेलाई इलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरी जरिवाना लिन थालेपछि घरेलु हिंसाका घटनामा कमी आएको हो ।
घरेलु मदिरा बनाएर बिक्री गर्नेहरु र सेवन गर्नेहरुलाई नियन्त्रण गर्न सुरु गरेपछि घरेलु हिंसाका घटनामा कमी आएको प्रहरी निरीक्षक युवराज भण्डारीले बताउनुभयो ।
अवैध मदिरा नियन्त्रण नहुँदा दैनिक प्रहरी कार्यालयमा घरेलु हिंसाका घटनाको छिनोफानो गर्नमै दिन बित्ने गरेका कारण अन्य कार्य गर्न अप्ठेरो पर्ने गरेको थियो । प्रहरी निरीक्षक भण्डारीले भन्नुभयो – “घरेलु हिंसाबाट पीडित महिलाले मदिरा सेवन गरेर श्रीमान्ले हिंसा निम्त्याउने गरेको बताउन थालेपछि मदिरा नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेका हौँ ।”
अभियान अन्र्तगत प्रहरीले जनचेतना जगाउने र कारवाही गर्ने कार्य एकै साथ सञ्चालन भएपछि अवैध मदिराको कारोबारमा कमी आएको छ ।
पहिले घरेलु हिंसाका दैनिक २० भन्दा बढी मुद्दा लिएर महिला प्रहरी कार्यालय पुग्ने गरेकामा हाल अवैध मदिरा नियन्त्रणसँगै दैनिक फाट्टफुट्ट रुपमा तीनवटासम्म घरेलु हिंसाका मुद्दा लिएर महिला प्रहरीकहाँ पुग्ने गरेका छन् ।
मदिरा सेवन गरी कुटपिट गर्ने, गालीगलौज गर्ने र घरका सामान बिक्री गर्नेजस्ता मुद्दा प्रहरीमा आउने गरेका थिए जसबाट ९५ प्रतिशत महिला पीडित बन्ने गरेका थिए ।
अवैध मदिराको कारोबार गर्ने र सेवन गर्नेलाई पक्राउ गरी प्रहरी कार्यालयमै जनेचतना प्रदान गर्ने र कानुनी प्रावधानका बारेमा जानकारी दिइने व्यवस्थासमेत प्रहरीले गरेको छ ।
बिनाइजाजत मदिराको कारोबार गर्नेमाथि कारबाही हुन थालेपछि अवैध मदिराको कारोबारमा संलग्न ४२ जनाले मदिरा बिक्री गर्ने इजाजतपत्र बनाएर वैधरुपमा मदिराको कारोबार गर्न थालेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो ।
अवैध मदिराको कारोबार नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानलाई बजार क्षेत्रमा मात्रै नभएर प्रहरीले ग्रामीण क्षेत्रसम्म पु¥याएको छ ।
बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत महेश बमले प्रहरीले अवैध मदिराको कारोबारमा संलग्नलाई कारबाही गर्न थालेपछि कारबाहीमा पर्ने डरले धेरैजनाले इजाजतपत्रका लागि निवेदन दिएको बताउनुभयो ।
समाजमा अमनचयन कायम गर्ने कार्यमा प्रहरीले थालेको अभियान सकारात्मक रहेकाले सबैको साथ चाहिने उहाँले बताउनुभयो । रासस















प्रतिक्रिया