– केशव विश्वकर्मा
मुस्ताङ, २३ असार । मुस्ताङमा नेपालमै दुर्लभ मानिएको बहुमुल्य जनावर कस्तुरी फेला परेको छ ।
मुक्तिनाथ स्थित लुप्राको चरन क्षेत्रमा बहुल्य जनावर भाले कस्तुरी भेटिएको हो । चरन क्षेत्रमा चरिरहेका भेडाच्यांग्राको बथानसँगै कस्तुरी गोठसम्मै पुगेको थियो । उक्त कस्तुरी करिब एक महिनाको हुन सक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय.(एक्याप) मुस्ताङले जनाएको छ । उक्त कस्तुरीलाई बुधबार विहान काठमाडौंको सदर चिडियाखानातर्फ लगिएको एक्याप प्रमुख विदुर कुइकेलले बताए । कस्तुरी ल्याउनका लागि चिडियाखानाका कर्मचारी पोखरासम्म आएको पनि उनले बताए ।
भाले कस्तुरीको पेटमा बहुमुल्य बिना हुने गर्दछ । नेपालमा सुनकण्ठे, सेतोकण्ठे र कालो कस्तुरी गरी तीन प्रकारका कस्तुरी पाइन्छ । यी सबै प्रजातिका कस्तुरी २५ सयदेखि ५ हजार मिटरसम्मको उचाईमा पाइने गर्दछन् ।
कस्तुरीको तौल १० देखि १५ किलोसम्म हुने गरेको पाइन्छ । भाले–पोथी दुबैको शरीर बाक्ला तथा खस्रा रौँहरुले ढाकेको हुन्छ । यिनको सिङ हुँदैन, कान लामो र पुच्छर छोटो हुन्छ । भालेको माथिल्लो बँगारामा लामो, तीखो दाह्राहरु हुन्छन् भने बयस्कमा नाइटो र प्रजनन् अङ्गको बीचमा बहुमुल्य बिना हुन्छ । जुन पोथी तथा बच्चाहरुमा हुँदैन । कस्तुरीको बिना बहुमुल्य हुनेहुँदा यसको चोरी शिकारी हुने गरेको पाइन्छ । हिमाली क्षेत्रका मिश्रित बन तथा बुट्यानमा यिनीहरु बस्ने गर्दछन् ।

















प्रतिक्रिया