महोत्तरी, २२ असार । महोत्तरीको जलेश्वर अस्पतालमा विगत १२ दिनदेखि उपचाररत विजलपुरा–३ का मदन राउतको आज बिहान निधन भएको छ ।
गत असार १० गते महोत्तरीको इटहर्वाकट्टी–७ मा सडक दुर्घटनामा परी गम्भीर घाइते भई उपचार गराइरहनुभएका राउतको आज बिहान ७ः३० बजे निधन भएको हो ।
जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रेको एवम् अन्यलाई बोलाउँदा आर्थिक समस्याका कारण उनलाई अन्यत्र पठाउन नसकेपछि निधन भएको जिल्ला अस्पताल स्रोतले जनाएको छ । बिरामीको टाउकोमा भएको घाउ गन्हाएको र उनी अचेत अवस्थामा रहेकोमा अस्पताल कर्मचारीले समेत केही हदसम्म हेला गरी सरसफाइमा गम्भीरता नदेखाएको स्थानीयले आरोप लगाएका छन् ।
राउतको जिल्ला अस्पताल जलेश्वरमा ‘डि ५५’ दिनको तीन पटक, मेगापेन एक ग्राम दिनको तीन पटक, जेनटामाइसिन दिनको एक पटक र मेट्रोन सय एमएल दिनको तीन पटक दिएर राखेका थिए ।
प्रहरीको खोजबिनमा निजकी दिदी र भिनाजु बिजलपुरा–३ मै रहेको थाहा भएपनि उनीहरुसँग सम्पर्क हुन नसक्दा निजको बेवारिसे शवलाई दागबत्ती दिने आफन्तको खाँचो भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस















प्रतिक्रिया