२० कार्तिक २०८३, शुक्रबार

राजनीतिक लडाइँको अन्त्य गरौं : सञ्चारमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

minendraकाठमाडौं, २२ असार । सूचना तथा सञ्चारमन्त्री एवम् सभासद् डा मीनेन्द्र रिजालले राजनीतिक लडाइँको अन्त्य गरी समृद्धिको यात्रामा लाग्न सबै दललाई आह्वान गर्नुभएको छ ।

संविधानको प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमाथि संविधानसभामा जारी छलफलमा आज भाग लिँदै उहाँले संविधासभा बहिष्कार नगरी आफ्नो भनाइ र माग यही संविधानसभामा राख्न आग्रहसमेत गर्नुभयो ।

नामाङ्कन र सीमाङ्कन गरी सङ्घीयताको खाका संविधानको मस्यौदामा आउनुपर्ने मागसहित तराई मधेस सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, सङ्घीय समाजवादी फोरम नेपाललगायत पार्टीले संविधानसभाको बैठक बहिष्कार गर्दै आएका छन् ।

संविधान मस्यौदा समितिका सदस्यसमेत रहनुभएका मन्त्री डा रिजालले सङ्घीयताको विषय उठान गरी संविधानसभा बहिष्कार गर्नु दुर्भाग्यपूर्ण भन्दै मस्यौदा परिमार्जन गर्न सकिन्छ, यो अन्तिम मस्यौदा होइन, अतः म आफ्ना कुरा संविधासभामा राख्न बैठक बहिष्कार गर्ने दलहरुलाई विनम्रतापूर्वक आग्रह गर्दछु भन्नुभयो ।

आफू र समितिका सदस्य रमेश लेखकले मस्यौदाको प्रस्तावनामा बहुलवाद राख्न फरक मत राखेको जानकारी दिँदै उहाँले व्यक्तिको आस्था, विश्वासअनुसार धर्म मान्न पाउने प्रावधान मस्यौदामा उल्लेख भएको बताउनुभयो ।