– डम्मरराज भट्ट
महेन्द्रनगर २१ असार । मानव बेचबिखन रोक्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् ।
माईती नेपाल कञ्चनपुरले सोमबार महेन्द्रनगरमा मानव बेचबिखन न्युनिकरणका लागि आयोजना गरेको दुई देशीय सीमा कार्यशालामा बेचविखन जस्तो जघन्य अपराध रोक्न दुवै देशका अधिकारीहरु सहमत भएका हुन् ।
उनीहरुले तस्करले पछिल्ला दिनहरुमा मानव तस्कर गर्न नयाँ योजना अघि सारेका कारण रोकथाममा चुनौती थपेको बताएका छन् । नेपालमा भूकम्प आएपछि मानव बेचबिखन बड्दै गएको समेत दुवै देशका सरोकारवालाहरुले बताएका छन् ।
भूकम्पका कारण महिला र बालबालिकाहरु बढि बेचबिखनको सिकार बनेको दुवै देशका सुरक्षा अधिकारीको निश्कर्ष छ । सुदूरपश्चिम क्षेत्रिय कार्यालय दिपायलका प्रहरी नायब महानिरीक्षक राम कुमार खनालले भूकम्प प्रभावित जिल्लामा महिला, बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको बताउनुभयो ।
गरिबी, अशिक्षा, समाजिक संरचनाका कारण नेपालमा महिलाहरु बढि जोखिममा रहेको उहाँको भनाई छ । नेपालको कानुन कार्यान्वयन नहुँदाको फाईदा उठाएर मानव बेचबिखन भईरहेको खनालको दावी छ । नेपाल प्रहरीले मानव बेचबिखन रोक्नका लागि देशैभरी सीमा क्षेत्रमा २४० र सुदूरपश्चिममा २६ ओटा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गरेको समेत खनालले जानकारी दिनुभयो ।
प्रहरीले सेवा केन्द्र र सीमा नाकाहरुमा महिला बेचबिखन रोक्न सक्रियतापूर्वक काम गरिरहेको खनालले बताउनुभयो । यस्तै शसस्त्र प्रहरी बल सुदूरपश्चिम क्षेत्रीय कार्यालयका शसस्त्र प्रहरी नायब महानिरीक्षक खडानन्द चौधरीले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि शसस्त्र प्रहरीले काम गरिरहेको बताउनुभयो । भूकम्पपछि मानव तस्करी बढिरहेको समेत उहाँले बताउनुभयो ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी)का डिआईजी केआई सिहले मानव बेचबिखन रोक्नका लागि एसएसबीले सीमा क्षेत्रमा रोकथामका कार्यक्रम सञ्चालन गरेको समेत बताउनुभयो । मानव बेचबिखन रोक्नका लागि दुवै देशका सरकारी तथा गैर सरकारी संस्थाहरु एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । ‘नेपाल–भारतका गैर सरकारी संस्थाहरु मानव बेचबिखन रोक्न के गर्नु पर्ने हो, सो बारेमा हामी दुवै देशका सुरक्षा अधिकारीसंग योजना दिनुहोस ।’ उहाँले भन्नुभयो ।
मानव बेचबिखन बिरुद्ध सकृय संस्थाहरुले कम्तिमा पनि तीन महिनामा छलफल गर्नुपर्ने र समस्या पत्ता लगाई समाधान खोज्नुपर्ने उहाँको सुझाव छ । चम्पावत जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा नरेश पालले गरिबी मुलुकमा मानव बेचबिखन बढी हुने भएकाले यस्ता देशका सरकारी अधिकारी सचेत हुनुपर्नेमा जोड दिनुभयो । सीमा बैठकमा समेत महिला र बालबालिकाको बेचबिखनको समस्या बारे उठान गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । नेपालमा भूकम्प गएदेखि महिला र बालबालिका बेचबिखनको दर बढ्दै गएको समेत उहाँले बताउनुभयो । उक्त दरलाई कसरी न्यूनिकरण गर्ने बारेमा दुवै देशका अधिकारीहरुले सोच्नुपर्ने समेत उहाँले बताउनुभयो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोबिन्द बहादुर कार्कीले खुला सिमाना, बेरोजगारीका कारण नेपालीहरु बढि बेचबिखनको जोखिममा परेको बताउनुभयो । सिमा क्षेत्रमा मानव तस्करी रोक्नका लागि दुवै देशका सुरक्षा अधिकारी चनाखो हुनुपर्नेमा उहाँले जोडदिनुभयो । प्रमुख जिल्ला अधिकारी कार्कीले भन्नुभयो–‘तस्करले मुख्य नाका भन्दा पनि सहायक नाकाबाट मानव तस्करी गर्न सक्छन ।’ भारतीय सिमा सुरक्षा बल एसएसबीका क्याम्पहरु नजिक र नियमित गस्ती हुने भएकाले त्यस्ता संकास्पद व्यक्तिहरुलाई खानतलासी गर्न समेत प्रजिअ कार्कीले आग्रह गर्नुभयो । दुवै देशका सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा मानव तस्करी रोक्न र तस्करलाई पहिचान गर्न निकै चुनौती रहेको समेत बताएका छन् ।
अनेकन बहानामा बालबालिका र महिलाहरु बेचबिखनका सिमा पार हुने गरेका छन् । मानव बेचबिखन रोक्नका लागि प्रभावित क्षेत्र बस्तीको पहिचान गरेर उक्त बस्तीहरुमा प्रभावकारी कार्यक्रम संचालन गर्नुपर्ने दुवै देशका मानव बेचबिखन बिरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधीहरुले जोडदिएका छन् । रिर्डस बनबासाका अध्यक्ष कैलासचन्द्र लोहनीले बेचबिखन प्रभावित बस्ती र क्षेत्रमा बेचबिखन रोक्न खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार भारतको उत्तराखण्ड र नेपालको मानव बेचबिखनको समस्या एकै भएको छ ।
माईती नेपालका बरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङले भूकम्पले महिला र बालबालिहरु बेचबिखन बढ्दै गएको बताउनुभयो । यसलाई रोक्नका लागि सबै पक्ष सकृय हुनुपर्नेमा जोड दिनुभयो । ईम्पाउर पिपुल सोसाईटी पिथौरागढका कार्यकारी अधिकृत ज्ञानेन्द्र कुमारले अझैसम्म पनि मानव बेचविखनको मुख्य तस्कर नपक्रिएको बताउनुभयो । मानव बेचबिखनमा केबल ओसारपोसार गर्ने व्यक्ति मात्रै पक्रिएको उनको भनाई छ । मुख्य तस्कर नपक्रिदासम्म समस्या समाधान हुन नसक्ने उनले दावी गर्नुभयो ।
मावन बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न बनेका ऐन कानुन कार्यान्वयन नहुँदा समेत तस्कर मौलाएको सरोकारवालाहरुको भनई छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भूकम्प गएदेखि मानव तस्करी बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । तस्करले भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिकाहरुलाई प्रलोभन देखाई भारत लैजान लागेको समेत बताउनुभयो ।
भूकम्प आएदेखि असार तेस्रो सातासम्म पश्चिमी नाकाबाट ५२ जनाको उद्दार गरिएको छ । उनीहरुलाई प्रहरीको सहयोगमा घर फकाईएको समेत संयोजक भट्टले बताउनुभयो । कार्यक्रममा दुवै देशका सुरक्षा अधिकारी, मानव बेचबिखन बिरुद्ध कार्यरत संघ संस्थाका प्रतिनिधी लगायतको सहभागिता थियो ।
















प्रतिक्रिया