३० आश्विन २०८३, शुक्रबार

लाजिम्पाटमा नेपालकै पहिलो महिला प्रधानमन्त्री !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gauri-mallaकाठमाडौं । ‘विकासका लागि कर चाहिन्छ। र, तपाईंहरुको सेवासुविधाको चाहना राज्यसँग प्रशस्त पैसा भयो भने मात्र सम्भव हुन्छ। त्यसैले मेरो आग्रह छ, इमान्दार भएर कर तिरौंं।’
माथिका संवाद झट्ट सुन्दा कुनै आर्थिक कार्यक्रमको हो कि भन्ने लाग्छ। सरकार अहिले बजेट निर्माणमा व्यस्त छ र करको मुद्दा हरेक बजेटको प्राथमिकतामा पर्छ। र जति धेरै कर उठाउन सक्यो अर्थमन्त्रीको सफलताको मापन त्यही उठेको करले गर्छ।तर माथिको संवाद अर्थमन्त्री र पत्रकारको बीचमा थिएन। प्रधानमन्त्री र पत्रकारको बीचमा थियो तर प्रधानमन्त्री सुशील कोइरालासँगको पनि वार्तालाप थिएन यो। किनकि पत्रकारसँग पुरुष होइन महिला प्रधानमन्त्री सवाल जवाफमा उपस्थित थिइन्।

तर नझुक्किनुस्, यो कुनै वास्तविक दृश्य पनि होइन। यो त एउटा टेलिसिरियलको दृश्य हो, जहाँ प्रधानमन्त्री बनेकी अभिनेत्री गौरी मल्लले नक्कली पत्रकारसँग करका बारेमा सवाल जवाफ गरिरहेकी थिइन्। निर्माणको चरणमा रहेको टेलिसिरियल ‘सिंहदरबार’ले लाजिम्पाटस्थित एक घरलाई प्रधानमन्त्रीको कार्यकक्ष बनाएर पत्रकार सम्मेलनको दृश्य खिचिएको थियो। अभिनेता आलोक थापाले सवालजवाफ गर्ने पत्रकारको भूमिका निर्वाह गरिरहेका थिए।

नागरिक दैनिकले अगाडि लेखेको छ– पचासभन्दा बढी फिल्म तथा टेलिफिल्ममा अभिनय गरेकी गौरी मल्ल पहिलोपल्ट राजनीतिक भूमिकामा अभिनय गरिरहेकी थिइन्। टेलिफिल्मभित्र उनलाई आदर्श प्रधानमन्त्रीका रुपमा देख्न सकिनेछ।’देशको कार्यकारी कस्तो भयो भने शासन व्यवस्था चुस्त हुन्छ र देश विकासको बाटोमा हिँड्न सक्छ भन्ने सन्दर्भमा प्रधानमन्त्रीको कल्पना गरिएको छ। मैले देशले देख्न चाहेको आदर्श कार्यकारीको भूमिका निभाएकी छु। देशको विकासका लागि बजेट चाहिन्छ र बजेट बढाउन कर संकलन गर्नुपर्छ। मैले भर्खरै गरेको सम्बोधन यही दिशामा लक्षित थियो,’ पत्रकार सम्मेलनको दृश्य सकिएलगत्तै भएको लन्च ब्रेकमा नागरिकसँग कुरा गर्दै उनले भर्खरै सकिएको दृश्य सम्झाइन्। ढाकाको चोलो र मरुन रङको सारी लगाएकी गौरी साँच्चिकै प्रधानमन्त्रीझैं देखिएकी थिइन्।

‘सर्च फर कमन ग्राउन्ड’ले बनाएको टेलिफिल्मलाई छिरिङरितार शेर्पाले निर्देशन गरिरहेका छन्। यसअघि डकुमेन्ट्री र कथानक फिल्म बनाएर ख्याति बटुलेका छिरिङले पहिलोपल्ट टेलिफिल्म निर्देशनमा हात हालेका हुन्। उनले सानोपर्दाको निर्देशन पहिलादेखि नै ‘विश लिस्ट’मा रहेकोले ‘सिंहदरबार’ निर्देशन गर्ने अफर आउँदा स्विकारको बताए।’सर्जकका रुपमा तपाईंलाई हरेक माध्यममा प्रस्तुत गर्न मन लाग्छ र मलाई पनि सानो पर्दामा काम गर्ने मन थियो। सर्च फर कमन ग्राउन्डबाट प्रस्ताव आएपछि हुन्छ भनेँ। किनकि यसको विषयवस्तु पनि चाखलाग्दो थियो,’ छिरिङले भने।

टेलिफिल्मले आर्दश नेतृत्व र असल शासनको मुद्दा उठाएको छ। १३ भाग बन्ने टेलिफिल्मका हरेक भागमा शासन व्यवस्थाका मुख्य मुद्दालाई समावेश गरिएको छ।’हरेक भाग एउटा फिल्मजस्तो हुनुपर्छ। फिचर फिल्ममा तपाईसँग कम्तीमा डेढ घन्टा हुन्छ तर टेलिफिल्ममा जम्मा आधा घन्टा, छिरिङले फिल्म र टेलिफिल्म गर्दाको भिन्नता प्रष्ट्याउँदै भने, ‘टेलिफिल्म गर्दाको मुख्य चुनौती यही नै हो। हामीले हरेक शृंखलालाई पूर्ण फिल्मझैं बनाउने प्रयास गरेका छौं।’

सर्च फर कमन ग्राउन्डले आजभन्दा चार वर्षअघि समावेशीको विषयलाई लिएर ‘हाम्रो टिम’ बनाएको थियो। फुटबलका माध्यमबाट समान सहभागिताको वकालत गर्ने टेलिफिल्मले राम्रै चर्चा कमाएको थियो। निर्माता युवाकर राजकर्णिकारले देशको प्रगतिसँग शासन व्यवस्थाको प्रत्यक्ष सम्बन्ध हुने भएकाले यसपटक राजनीतिक विषय उठाएको बताए।’राजनीतिक विषय उठाए पनि हामीले वर्तमान राजनीतिलाई पटक्कै छोएका छैनौं। हामीले निरपेक्ष रहेर आफ्नो अवधारणा अघि सारेका छौं,’ युवाकरले भने।

हालसम्म टेलिसिरियलको ४० प्रतिशत सुटिङ सकिसकेको छ। खिचाइसँगै सम्पादन पनि भइरहेकाले दशैंताका टेलिभिजनबाट प्रसारण गर्ने निर्माण टोलीको लक्ष्य छ।सिरियलमा गौरीसँगै प्रवीण खतिवडा, प्रमोद अग्रहरि, आलोक थापा, सरिता गिरी, भिन्तुना जोशी, रमेशरञ्जन झा, प्रमेश झा, मिथिला शर्मा आदि कलाकारको अभिनय रहेको छ। सुशन प्रजापतिले खिचिरहेको टेलिसिरियललाई अविनाशविक्रम शाह, सम्पदा मल्ल, शिशिर अर्याल र सन्तोष कोइराला मिलेर लेखेका हुन्।