रौतहट, २० असार । कार्यकारी अधिकृतलाई दुव्र्यवहार गरेको भन्दै रौतहट जिल्लाका नगरपालिकाका कार्यालय आजदेखि अनिश्चितकालका लागि बन्द भएका छन् ।
गौर नगरपालिकाका कार्यकारी अधिकृत सुनिल यादवलाई दुव्र्यवहार भएको भन्दै गौर, गरुडा तथा चन्द्रपुर नगरपालिका कार्यालयका कर्मचारीले विरोध जनाएका छन् ।
उनीहरुले कार्यकारी अधिकृतमाथि हातपात गर्ने दोषीलाई कारबाहीको माग गर्दै कार्यालयमा ताला बन्दी गरेर कामकाज ठप्प पारेका हुन् ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमशैद आलमसहितका केही व्यक्तिहरुले शनिबार बेलुका सार्वजनिक बिदाको दिन नगर प्रमुख यादवको निवासमा प्रवेश गरी अपशब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको विषयलाई लिएर स्थानीय निकाय कर्मचारी सङ्घ र नेपाल नगरपालिका इकाइ कर्मचारी आन्दोलित भएका हुन् ।
ती कर्मचारीहरुले केही समय काम गरेर कार्यालयमा तालाबन्दी गरी विरोध जनाएका थिए ।
आर्थिक वर्षको अन्त्यमा सद्भावनाका अध्यक्ष जमशैदले रु. तीन लाखको कार्यादेश दिन दबाब दिँदा अहिले कार्यादेश दिन नमिल्ने भन्ने बित्तिकै उनीसहित केही व्यक्तिहरुले तथानाम गालीगलौज गर्दै कठालो समातेर दुव्र्यवहार गरेको कार्यकारी अधिकृत यादवले बताउनुभयो ।
दुव्र्यवहार गर्नेविरुद्ध अविलम्ब कारबाही माग गर्दै नगरपालिकामा कार्यरत् कर्मचारीहरु विरोधमा उत्रिएपछि नगर सरसफाइ र वारुण यन्त्रको सेवा वाहेक कार्यालयको सम्पूर्ण कामकाज ठप्प भएको छ । रासस















प्रतिक्रिया