खोटाङ, २० असार । खोलामा आएको बाढीले बगाउँदा खोटाङमा आमाछोरी बेपत्ता भएका छन् ।
शनिबार राति तावाखोलमा आएको बाढीले बगाउँदा मात्तिम–५ की ४० वर्षीया परिमाया राई र उनकी छोरी १२ वर्षीया समिता राई बेपत्ता भएका हुन् ।
खोलाको किनारमा रहेको नाम्खा दोभानस्थित खेतमा रोपाइँ गर्न अस्थायी कटेरामा बसेका आमाछोरीलाई खोलामा आएको बाढीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले जानकारी दिनुभयो ।
बेपत्ता आमाछोरीको इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट गएका प्रहरीको टोली र स्थानीयवासीले खोजी गरिरहेको खरेलको भनाइ छ । शनिबार रातभर परेको भीषण वर्षापछि आएको बाढीले किनार आसपासका खेत र पाक्न लागेको साउने धान पुरेको कृषकले बताएका छन् ।
रातभर परेको वर्षाका कारण खिदिमा गाविसका १५ घरपरिवार विस्थापित भएका छन् । खोबु, खरुवा र तावा खोलाको बाढी बढेर बस्तीसम्म आएपछि उनीहरुलाई तत्काल सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । वर्षाका कारण गएको पहिरोले दोर्पाचिउरीडाँडामा एक घर पुरिएको स्थानीयले जनाएका छन् ।
खोलामा आएको बाढीले खिदिमा र टेम्मामा सञ्चालित दुई वटा लघुजलविद्युत आयोजनाको विद्युत् बगाएको छ । यस्तै, खोलाले दुईवटा झोलुङ्गे पुल र दुईवटा काठे पुलसमेत बगाएको जानकारी आएको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो ।
बाढीले खेतीयोग्य जमिन, पाक्न लागेका धान, दर्जनौँ गाईगोरु र बाख्रा बगाएको जनाइएको छ । बाढीले पु¥याएको क्षतिको विवरण अझै आउन बाँकी रहेको खरेलले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया