काठमाडौं, २० असार । असारभित्रै प्रहरीका जवानदेखि उच्च अधिकारी (एआईजी)सम्मको सरुवा गर्ने तयारीमा नेपाल प्रहरीमा लागेको छ ।
आर्थिक वर्षको अन्त्यसँगै सयौं प्रहरी अधिकारीको जिम्मेवारी हेरफेरको गर्ने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गृह मन्त्रालयसँगको समन्वयमा प्रहरी प्रधान कार्यालयले संगठनका अधिकारीहरुको जिम्मेवारीमा व्यापक हेरफेर गरी सरुवा गर्न लागेको हो ।
स्रोतका अनुसार जसमा प्रहरी जवानदेखि अतिरिक्त महानिरीक्षक (एआईजी)सम्मको सरुवाको सूची तयारी भएको छ । आगामी वर्षदेखि नयाँ आर्थिक वर्षसँगै संगठनमा सरुवा परिपाटी बसाल्ने तयारी स्वरुप प्रहरी मुख्यालयले असारभित्रै सयौं प्रहरी अधिकारीको एकै चोटी सरुवा गर्न लागेको हो ।
यो नियमबाट कार्यसम्पादन मुल्याङकन सहज हुने तथा बजेट खर्च पनि व्यवस्थित हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ । स्रोतका अनुसार एआईजीहरुको समेत व्यापक हेरफेरको हुँदैछ ।
एआईजीहरुको राम्रो अड्डा मानिने महानगरीय प्रहरी कार्यालयमा आफ्नो सरुवा गराउन वीरेन्द्रबाबु श्रेष्ठ, केदार साउद लगायतका अधिकारीले दौडधुप गरिरहेको स्रोतको दाबी छ । एआईजी रमेश शेखर बज्राचार्य महानगरीय प्रहरी कार्यालयको आयुक्त हुने देखिएपछि उनलाई साइड लगाउन केही एआईजीहरु दौडधुपमा लागेका हुन् ।
यस्तै डिआईजीहरु पनि सरुवाको सूचीमा परेका छन्, भने काठमाडौं परिसरसहित अञ्चल प्रहरी कार्यालय, तालिम केन्द्रहरुमा एसएसपीहरुको हेरफेरको हुँदैछ । स्रोतका अनुसार विवाद नआए प्रहरी अधिकारीहरुको असार मसान्त अथवा साउन पहिलो हप्ताभित्रै सरुवा गर्ने तयारी छ ।
त्यस्तै केही जिल्लामा प्रहरी प्रमुखहरुको पनि सरुवा हुँदैछ । एक दर्जन पहाडी जिल्लाको प्रमुख हुन डिएसपीहरुबीच दौडधुप चलिरहेको बताइएको छ । उपत्यकाका वृत्तहरुमा पनि प्रहरी अधिकारीको हेरफेर गरी आवश्यक जिम्मेवारीसहित सरुवाको तयारी भइरहेको प्रधान कार्यालय स्रोतले जनायो ।















प्रतिक्रिया