चितवन, २० असार । नापी कार्यालय भरतपुरका अधिकृत रामकान्त आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज भरतपुरबाट नियन्त्रणमा लिएको छ ।
गत मङ्गलबार आचार्यले रु एक लाख घुस लिएलगतै फरार भएपछि अख्तियारको मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौँडाले खोजी गरिरहेको थियो । उनलाई आज नापी कार्यालय अगाडिबाट नियन्त्रणमा लिएको क्षेत्रीय कार्यालयका प्रवक्ता महेन्द्र भट्टराईले बताउनुभयो ।
सोही दिन एकजना बिचौलिया डिलबहादुर बुढाथोकीलाई नियन्त्रणमा लिइएको थियो भने अर्का बिचौलिया हरि आचार्य अझै फरार रहेका थिए । प्रवक्ता भट्टराईका अनुसार मोतीबहादुर बराइलीको नाममा चितवनको खैरहनी नगरपालिका वडा नम्बर ८ मा रहेको कित्ता नम्बर ५३२६ र ५३२८ को टायल परीक्षण गरी स्रेस्ता सुधार गर्न आचार्यले रु एक लाख मागेपछि बराइलीले अख्तियारलाई खबर गरी सो रकम दिनुभएको थियो ।
बराइलीले आचार्यलाई रकम दिएलगत्तै अख्तियारले उनको कार्यकक्षमा छापा मारेको थियो । रकम जफत गरेसँगै अख्तियारको आँखा छलेर आचार्य भागेका थिए ।
दुई दिनपछि बिहीबार नापी कार्यालयमा हाजिर भएका आचार्यलाई अख्तियारमा हाजिर हुन कार्यालय प्रमुखले पठाएको भए पनि बेवास्ता गरी बसेपछि अख्तियारको टोलीले आचार्यलाई आज नियन्त्रणमा लिएको हो । रासस















प्रतिक्रिया