– विवेक विश्वकर्मा
भैरहवा, २० असार । अदालतमा बिभिन्न मुद्दा सम्बन्धि काम लिएर आउनेलाई कसैको सहारा नलिई सिधा सम्पर्क गर्न रुपन्देही जिल्ला अदालतका न्यायधीशहरुले आग्रह गरेका छन ।
अदालतलाई अन्य सेवाग्राही कार्यालयहरु झै सामान्य मानी सेवा सुविधा लिन रुपन्देहीका न्यायधिशहरुले आग्रह गरेका हुन । न्यायपालिकाको चालु तेश्रो पन्चबर्षिय रणनितिक योजनाले न्याय सम्पादनको कार्यलाई छिटो छरितो तुल्याउन, न्यायिक प्रक्रियालाई अनुमान योग्य बनाउन, न्याय प्रणालीलाई पहुचयोग्य बनाउन तथा न्यायपालीका प्रति आस्था र विश्वास अभिवृद्धि गर्न रुपन्देही जिल्ला अदालतले अदालत र समुदाय बिच न्यायिक संवाद कार्यक्रमको आयोजना गरि समुदाय र न्यायपालीकालाई नजिक ल्याउने कार्य भै रहेको जिल्ला न्यायधिश बालचन्द्र शर्माले बताए ।
अदालत बाहिर अदालतका कर्मचारी, न्यायधिश वा अन्य बिभिन्न बहानामा रकम लेनदेन हुने सम्भावन रहेको कारण यस्ता ब्यक्तिहरुसित सावधान हुन समेत अनुरोध गरे । अदालत र अदालतमा आउने सेवाग्राहीहरु बिच प्रत्यक्ष सम्पर्क हुने गरि प्रत्येक महिना ‘मिट द जज’ कार्यक्रम गरि सेवाग्राहीको समस्या बुझ्ने कार्य हुने गरेको शर्माको भनाई छ । यसका साथै सेवाग्राही र अदालत बिच सम्पर्क बढाउन श्रेस्तेदार सित परामर्श र समुदाय स्तरिय संवाद कार्यक्रमको आयोजनालाई निरन्तरता दिने उनले बताए ।
रुपन्देहीको पूर्वी क्षेत्र धकधईमा अदालत र समुदाय बिच न्यायिक संवाद कार्यक्रमको शुरुवात गरि अदालत समुदायसित नजिक हुन खोजे पछि स्थानियहरुले पनि अदालतको यो कदमको स्वागत गरेका छन । पोखरभिण्डी गाविसका निर्वतमान गाविस उपाध्यक्ष सरोज कुमार पाण्डेले अदालतमा सेवा लिन पुग्ने सेवाग्राहीहरु अदालत बाहिर भएका दलालबाट ठगिनु परेको बताउदै अदालतको संवाद कार्यक्रम मार्फत यस्ता सेवाग्राहीहरुले सिधा सेवा लिने वातावरण बन्ने बताए ।
यसै गरि नेकपा एमालेका नेता एवम राम नरेश उच्च माविका बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष ताहिर अलीले अदालतको संवाद कार्यक्रम ऐतिहासिक भएको बताउदै यसलाई निरन्तरता दिन आग्रह गरे । नेपाली कांग्रेसका क्षेत्र नम्बर १ का क्षेत्रिय कोषाध्यक्ष बैजनाथ सहानीले गरिब जनताको लागी अदालती सेवा महङ्गो भएको बताए । यसको साथै मुद्दा प्रकिया समेत लामो भएकोले न्याय सम्पादमा नै अन्याय भएको उनको भनाई छ ।
कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै मुख्य जिल्ला न्यायधिश बालचन्द्र शर्माले यस्तै समस्याहरुलाई समाधान गर्न अहिले अदालतले फास्ट ट्रयाक कोर्टको अवधारणा ल्याएको बताए । अहिले रुपन्देही जिल्ला अदालतले लागु औषध, जवरजस्ती करणी, ठगि लगायत १० प्रकृतिको मुद्दाहरुलाई फास्ट ट्रयाक अन्र्तगत हेर्ने गरेको बताए । यसै कारण अहिले पहिलेको तुलनामा अदालतमा मुद्दा बढी फछर्यौट भएको शर्माको दावी रहेको छ । यस संगै बिशेष प्रक्रितिको मुद्दाहरुमा अदालतमा मुद्दा दर्ता भएकै दिन पनि फैसला हुने गरेको न्यायधिश शर्माले बताए । अदालतले धनि र गरिब नभनि सबैलाई समान ब्यवहार गर्ने उनको भनाई छ । यद्दपी अदालतमा यस्ता गरिब सेवाग्राहीको लागी वैतनिक कानुन ब्यावसायीको ब्यावस्था गरेको शर्माले बताए ।
उनले अदालत, अदालतका कर्मचारी वा न्यायधिशको नाममा रकम माग गरे सिधै न्यायधिश वा श्रेस्तेदारलाई सम्पर्क गर्न समेत अनुरोध गरे । संवाद कार्यक्रममा रुपन्देही जिल्ला अदालतका न्यायधिश चन्द्रमणि ज्ञवाली, कवि प्रसाद न्यौपाने, खड्ग बहादुर केसी, कमल राज विष्ट, नेपाल बार एसोसिएसनका रुपन्देही अध्यक्ष जगत बहादुर रायमाझी, राम नरेश उच्च माविका प्रधानाध्यपक तारानाथ त्रिपाठी लगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया