त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा जेठो र विशालकाय विश्वविद्यालय हो । यस विश्व विद्यालयले अन्य विश्वविद्यालयहरूको जेठो दाजुको भन्दा पनि पिताको भूमिका निर्वाह गरेको छ । यसर्थ यसलाई नेपालका विश्वविद्यालयहरूको जनक मान्नु उपयुक्त हुन्छ । साँच्चिकै यो विश्वविद्यालय नेपालका अन्य विश्वविद्यालय तथा उच्च शैक्षिक प्रतिष्ठानहरूको अभिभावकका रूपमा रहेको छ । २०१६ साल आषाढ ३० गते शुक्लपक्षको नवमी तिथिका दिने विधिवत् रूपमा स्थापना भएको यो विश्वविद्यालय वर्षका दृष्टिले अहिले झन्डै साढे पाँच दशककोे प्रौढ विश्वविद्यालयका रूपमा प्रतिष्ठित छ ।
यस विश्वविद्यालयले मुलुकको आवश्यकता र विश्वको शैक्षिक जगत्का विविध आयाम समेतको अध्ययन, अध्यापन तथा अनुसन्धानका साथै राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा समेत उच्च जनशक्ति तयार गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । नेपालका सन्दर्भमा आज पनि यस विश्वविद्यालयबाट उत्पादित उच्च शैक्षिक जनशक्ति नै अधिकांश क्षेत्रमा प्रयोग भइरहेको कुरा प्रस्ट छ । शैक्षिक, न्यायिक, प्रशासनिक, वित्तीय तथा प्राविधिक क्षेत्रमा यस विश्वविद्यालयबाट उत्पादित मानवसंसाधन नै आज अधिकांश रूपमा कार्यरत देखिन्छ । यस विश्वविद्यालयअन्तर्गत विभिन्न क्षेत्रमा फैलिएर रहेका ६० वटा आड्डिक क्याम्पसहरू छन् भने ९ सय भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरू छन् । यी क्याम्पसहरूमा यस विश्वविद्यालय अन्तर्गतका करिब ९४ वटा प्राज्ञिक कार्यक्रमहरू सञ्चालनमा छन् । आड्डिक र सम्बन्धन प्राप्त क्याम्पस÷कलेजहरू, विद्यार्थीहरूको भर्ना सङ्ख्या, पठन पाठन हुने विषयहरू, चलअचल सम्पत्ति, शिक्षक, कर्मचारी आदिका आधारमा त्रिभुवन विश्वविद्यालयलाई विश्वकै सबैभन्दा ठूलो विश्वविद्यालयका रूपमा लिन सकिन्छ । यस विश्वविद्यालयले आफ्नो स्थापना कालदेखि नै नेपालको आवश्यकता बमोजिमको दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ । राष्ट्र विकासका सन्दर्भमा त्रि.वि.ले मूलतः सर्वसाधारण नेपाली जनताका छोराछोरीहरूलाई जुन ढड्डले सस्तो र सुलभ हुने गरी शिक्षा प्रदान गर्ने कार्य गर्दै आइरहेको छ त्यो आफैँमा उल्लेखनीय, अविस्मरणीय र प्रशंसनीय छ ।
यस विश्वविद्यालयले आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउन तथा विश्वविद्यालयको प्राज्ञिक गरिमा र महत्वलाई उच्च राख्न सक्नुपर्दछ । समयचक्रका क्रममा यस विश्वविद्यालयका अगाडि कैयौँ चुनौतीहरू पनि छन् । यस्ता चुनौतीहरूलार्ई चिर्दै नेपालको उच्च शिक्षामा अग्रगामी भूमिका खेल्नु यस विश्वविद्यालयको प्रमुख दायित्व देखिन्छ । अहिले पनि यस विश्वविद्यालयले मुलुकको करिब ८९ प्रतिशत उच्च शिक्षाको भार संवहन गरिरहेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने सन्दर्भमा आफ्नो साङ्गठनिक स्वरूपअन्तर्गत ५ वटा अध्ययनसंस्थान, ४वटा सङ्काय, ४वटा अनुसन्धान केन्द्र, ४९वटा केन्द्रीय विभागहरू र ९ सय भन्दा बढी सम्बन्धन प्राप्त सामुदायिक र निजी क्याम्पसहरूमा विभिन्न तहका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । यस विश्वविद्यालयबाट केही अध्ययनसंस्थानमा बाहेक प्रवीणता प्रमाणपत्र तह विस्थापन (फेजआउट) भइसकेको वर्तमान अवस्थामा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य( एम्.फिल.) र विद्यावारिधि(पिएचडी) तहसम्मका अध्ययन अध्यापन र अनुसन्धानका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।
मानविकी तथा सामाजिक शास्त्र सङ्काय त्रिविका चार सङ्कायहरू (मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन सङ्काय) मध्येको सबैभन्दा ठूलो सङ्काय हो । यस सङ्काय अन्तर्गत स्नातक तहमा ३२ वटा तथा स्नातकोत्तर तहमा २८ वटा विषयहरूको पठनपाठन हुँदै आइरहेको छ । सबैभन्दा धेरै विषयहरू पठनपाठन हुने यस सङ्कायमा शोधअनुसन्धानका विषय तथा क्षेत्रहरू पनि अन्य सङ्कायहरूका तुलनामा अधिक रहेका छन् । हिजोका दिनमा त्रिभुवन विश्वविद्यालयमा सर्वाधिक विद्यार्थीहरूको चाप यसै सङ्कायमा नै हुने गर्दथ्यो । वास्तवमा मुलुकको शैक्षिक, न्यायिक, प्रशासनिक, प्राविधिक तथा वित्तीय क्षेत्रमा यस सङ्कायबाट उत्पादित जनशक्ति नै प्रचुर मात्रामा खपत हुने गर्दथ्यो । तर प्रवीणता प्रमाणपत्र तह विस्थापन भइसकेपछि यस सङ्कायमा क्रमशः विद्यार्थीहरूको चाप विस्तारै विस्तारै घटिरहेकोे देखिन्छ । वर्तमान अवस्थामा त यस संकायअन्तर्गतका कतिपय विषयहरू (हिन्दी, संस्कृत, इतिहास, राजनीतिशास्त्र, संस्कृति, भूगोल आदि) मा विद्यार्थीहरूको संख्या अत्यन्त न्यून नै देखिएको छ । केही क्याम्पसहरूमा त यी विषयमा विद्यार्थीहरू शून्य रहेको दयनीय अवस्था समेत छ । राष्ट्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने क्रममा अग्रणी भूमिका निर्वाह गर्दै आएको भए तापनि मानविकी तथा सामाजिक शास्त्र सङ्कायको वर्तमान अवस्था वास्तवमा सन्तोषजनक देखिँदैन । अहिले यो संकाय साच्चिकै सङ्कटको अवस्थामा छ । अतः सम्बन्धित पक्षका लागि यो चिन्ताको विषय नै बन्न पुगेको छ ।
आजका विद्यार्थीहरू मानविकी तथा सामाजिक शास्त्रसँग सम्बद्ध विषयहरूप्रति उदासीन देखिइरहेका छन् । वास्तवमा त्रि.वि. का सर्वाधिक शिक्षकहरू यसै संकायअन्तर्गत कार्यरत छन् । विश्वविद्यालयले यस संकायका लागि ठूलो आर्थिक भार वहन गर्नुपरेको छ । तर विद्यार्थीहरूको घट्दो अवस्थाले अहिले आएर यस संकायको प्रतिष्ठामा नै आघात पुगेको अनुभूति हुन्छ । वास्तवमा यस सङ्कायअन्तर्गत विद्यार्थीहरूको आकर्षण किन घटिरहेको छ भन्ने कुरा आज खोजको विषय बन्न पुगेको छ । अतः यस विषयमा गम्भीर रूपले चिन्तन र बहस गर्नु तथा भावी रणनीति तर्जुमा गरी कार्यान्वयन गर्नु र स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरूमा विद्यार्थीहरूको आकर्षण बढाउनु नितान्त आवश्यक भइसकेको परिस्थिति छ । विद्यार्थीहरूलाई आकर्षित गर्ने सन्दर्भमा उक्त कार्यक्रमहरूको स्तरोन्नतिमा सर्वप्रथम ध्यान पुग्नु पर्दछ । आजको युग प्रतिस्पर्धाको युग हो प्रतिस्पर्धाका लागि स्तरीय शिक्षा चाहिन्छ । स्तरीय शिक्षाका लागि प्रथमतः पाठ्यक्रम स्तरीय हुनुपर्दछ । पाठ्यक्रम स्तरीय भएर मात्र पुग्दैन सोको प्राप्तिका लागि सोही अनुरूपका पाठ्यपुस्तक, सन्दर्भ ग्रन्थ आदिको प्रबन्ध हुनु पनि जरुरी छ । अझ बढी स्तरीय शिक्षाका लागि योग्य, कर्मठ र कर्तव्यपरायण शिक्षकको भूमिका अपेक्षित हुन्छ ।
वास्तवमा आज त्रि.वि. भित्रको अध्ययन अध्यापनको पक्ष होस् वा प्रशासनिक आन्तरिक व्यवस्थापनको पक्ष होस् दुबै पक्षको सञ्चालन चुस्त दुरुस्त रूपमा हुन नसकिरहेको अवस्था छ । जबसम्म यस विश्वविद्यालयको प्रशासनिक संयन्त्र र त्यसको व्यवस्थापन पक्ष सशक्त बन्न सक्दैन तबसम्म स्वस्थ र स्तरीय शैक्षिक एवम् प्राज्ञिक क्रियाकलापको आशा गर्नु निरर्थक हुने छ । विश्वविद्यालय भनेको उच्च शिक्षा सम्बन्धी यस्तो खालको प्रतिष्ठान हो जहाँ ज्ञान सिक्ने र सिकाउने कार्य हुन्छ । ज्ञान सैद्धान्तिक भएर मात्र पुग्दैन व्यावहारिक पनि हुनु पर्दछ । ज्ञान सिक्नेले यी दुबै प्रकारका ज्ञान आर्जन गर्न इच्छुक हुनु पर्दछ भने सिकाउनेले पनि दुबै प्रकारका ज्ञान प्रदान गर्न सक्षम हुनु आवश्यक छ । यसर्थ गुणस्तरीय रूपमा ज्ञान प्रदान गर्नका लागि योग्य र दक्ष शिक्षकको आवश्यकता पर्दछ । अतः शिक्षकहरूलाई पुनर्ताजगीकरणका लागि तालिम दिइरहनु आवश्यक हुन्छ । व्यावहारिक ज्ञानका लागि शिक्षक र विद्यार्थी दुबै पक्षलाई अनुसन्धान कार्य अत्यावश्यक मानिन्छ । त्रि.वि. मा स्नातक र स्नातकोत्तर तहमा अनुसन्धान कार्यले अपेक्षित मात्रामा प्राथमिकता पाएको छैन । यसका लागि बजेटको उचित व्यवस्था पनि छैन । त्रि.वि. प्रशासन तथा राज्य दुबै पक्षको ध्यान यसतर्फ सकारात्मक ढड्डले पुगेको पनि देखिँदैन । वास्तवमा उच्च शिक्षामा सरिक वा क्रियाशील रहने प्रत्येक व्यक्तिका लागि अध्ययन र अनुसन्धान जस्ता कुरा अपरिहार्य हुन्छन्. ।
अध्ययनलाई अनुसन्धानमुखी बनाउनु आजको युगीन आवश्यकता हो । यस सन्दर्भमा त्रि.वि. ले नीतिगत कुराहरू अगाडि सारेको भए पनि तिनलाई नियमन गर्न नसकेको स्पष्ट छ । यो अवश्य पनि चिन्ताको विषय हो । यस विषयमा सम्बन्धित सबै पक्षले गम्भीरतापूर्वक मनन गर्नै पर्दछ । यदि यस संकाय अन्तर्गत सञ्चालित कार्यक्रमहरूको स्तरोन्नतिका लागि समयमा नै दृष्टि पु¥याउन नसक्ने हो भने भोलिका दिनमा यो संकाय त्रि.वि. का लागि उपलब्धिहीन तर आर्थिक भार मात्र बहन गर्नु पर्ने निकाय हुनेछ । यसर्थ बेलैमा सोच्ने र यसको अस्तित्व बचाउन सचेतता र सक्रियतापूर्वक लाग्नु पर्ने समय आइसकेको छ । अतः स्तरोन्नतिका लागि स्पष्ट खालको भावी रणनीतिक योजना निर्माण गरी त्यसको सफल र प्रभावकारी कार्यान्वयन गर्न सकेमा मात्र मानविकी तथा सामाजिक शास्त्र सड्ढायको साख भोलिका दिनमा पुनस्र्थापित हुन सक्नेछ ।
(लेखक त्रिवि भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हुनुहुन्छ । )













प्रतिक्रिया