
तपाईंहरुले माओवादीभित्र बैचारिक संघर्ष शुरु गरेको भन्नुहुन्छ, थप भद्रगोल गर्न खोज्नु भएको त होइन ?
भद्रगोल गर्न खोजेको होइन् । त्यहाँ भित्रको अवस्थालाई सुधार्न खोजेको हो । अहिले त माओवादी पार्टी ठूलो भूकम्पले भत्काएको भग्नावशेष जस्तै छ । त्यो भग्नावशेषबाट नयाँ चिज नबनाइकन, पुरानै चिज पुरानै बिचार, पुरानै संगठन, पुरानै सोंचले अब बन्दैन । नयाँ चिज बनाउनका लागि हामीले बहस शुरु गरेका हौँ ।
भूकम्प जाने पार्टीमा पनि तपाईँहरु किन प्रवेश गर्नुभएको हो त ?
पछिल्लो समयमा दुई–चार जना नेताहरु प्रवेशको कुरालाई सम्झिन खोज्नु भएको होला । माओवादीले जनयुद्ध शुरु गरेदेखि एमाले पृष्ठभूमिका धेरै मान्छेहरु प्रबेश गरेका छन् । उनीहरुको ग्रास रुटमा अत्यधिक बहुमत छ । ती कमरेडहरुको भावना पनि सम्बोधन हुन सकेको छैन । अहिले माओवादीमा ठूलो बैचारिक समस्या छ । सयौँ बर्षअघि माओले चीनमा लागू गरेको बिचार अब नेपालमा लागु हुन सक्दैन । नयाँ जनवादी भनिरहने कुरा अब पटक्कै सान्दर्भिक छैन । संसदीय राजनीति र माओवाद त मिल्दै नमिल्ने कुरा हुन् । यसबाट विप्लव, किरण कोही चोखो छैनन् । आफू सत्तामा हुँदा चुनाव गर्ने, नहुँदा चुनावको विरोध गर्ने माओवादीको सबैभन्दा ठूलो समस्या हो ।
अहिले त माओवादी पार्टी ठूलो भूकम्पले भत्काएको भग्नावशेष जस्तै छ । त्यो भग्नावशेषबाट नयाँ चिज नबनाइकन, पुरानै चिज पुरानै बिचार, पुरानै संगठन, पुरानै सोंचले अब बन्दैन । नयाँ चिज बनाउनका लागि हामीले बहस शुरु गरेका हौँ ।
यो लडाईँमा कति जना सामेल हुनुहुन्छ ?
६० जना केन्द्रीय साथीहरु भेला भएर यो बहस शुरु ग¥यौँ । त्यो अहिले सयभन्दा बढीको संख्यामा पुगेको छ । रामचन्द्र झा, उर्मिला अर्याल, धर्मदत्त देवकोटा, भिमबहादुर कडायत लगायत नेताहरु हुनुहुन्छ । त्यसमा राष्ट्रब्यापी बहस, छलफल चलिरखेको छ । युद्ध लडेका तथा नलडेका सबै साथीहरु सहभागी हुनुहुन्छ । अहिले हाम्रो बिचारले पार्टीभित्र अत्यन्त धेरै समर्थन प्राप्त गरेको छ ।
यसको नेतृत्व तपाईँले गर्न खोज्नु भएको हो ?
बिचारको मस्यौदा र प्रस्तुति मैले गरेको हुँ । त्यसलाई सबैले समर्थन गर्नुभएको छ । साझा मिलनबिन्दुको रुपमा लिनुभएको छ ।
स्पष्ट रुपमा भन्दिनुस् न त, कस्तो खालको बैचारिक संघर्ष शुरु गर्नु भएको हो ?
हिजोको विचार र संगठनबाट पार्टीलाई परिवर्तन गर्न गरेको संघर्ष हो । नेतृत्वले परिवर्तन गर्न चाहेन, पुरानै कुरा बोकेर बसिरह्यो । १० वर्ष हतियारको मात्र कुरा गरिरह्यो, शान्ति प्रक्रियामा आएपछि पैसा भएपछि सबै कुरा हुन्छ भन्यो । तर अग्रगमन गर्नको लागि विचारलाई स्पातिलो बनाउनु पर्छ । हामीले त्यही काम शुरु गरेका हौँ ।
तपाईहरु पनि पार्टीबाट छट्टिने खेल शुरु गर्नुभएको हो ?
हामीले हाम्रो डकुमेण्ट उहाँहरुलाई बुझाएका छौँ । त्यो अनुसार पार्टी हिँड्नपर्छ भनेका छौँ । त्यसलाई पेलेर किनारा लगाउने प्रयत्न गरियो भने त्यो दुर्भाग्य हुनेछ ।
तपाईँहरुलाई जुन आश्वासनमा पार्टी प्रवेश गराइयो, त्यो आश्वासन पूरा नभएर त तपाईँहरुले यसो गर्नु भएको होइन ?
कुनै हालतमा होइन । आश्वासनको कुरा कतिबेला ठूलो कुरा हुँदो रहेनछ भने जतिबेला स्थायी समितिका मान्छेले समेत राजनीतिक विजेनश पाउँदैन । आज लोकेन्द्र विष्ट निस्क्रिय भएर बस्नुभएको छ । उहाँलाई राम्रो काम भएन । दुई जना नेताले मात्र कानेखुशी गरे, निर्णयमा अपनत्व भएन भनेर गुनासो गर्नुहुन्छ । धेरै नेता निस्क्रिय भएर बसेका छन् । यस्तो अवस्थामा पद दिने कुराले केही असर गर्दैन ।
भनेपछि एमाओवादीभित्रका पूर्वएमालेहरुमा घर फर्कौँ अभियान सुरु हुन थालेको संकेत देखिँदैछ ?
त्यो कुरा हामीले सोंचेका छैनौँ । अहिले एमाओवादीमा राम्रो बिचार निर्माण गर्ने, बिचार अनुसार मान्छेहरुलाई ढाल्ने र सिंगो पार्टीलाई परिवर्तनगामी पार्टीनै बनाउनै लागेका हौँ । त्यस्तो सोंचाई बाबुराम र प्रचण्डमै देखिएको छैन ।
एमाओवादीभित्र यतिधेरै राजनीतिक भद्रगोल हुनुको कारण के रहेछ ?
मुख्य कुरा विचार हो । कांग्रेसको एक नेतालाई सोध्ने हो भने प्रजातान्त्रिक समाजवादको लागि लागेको भन्छ, एमालेलाई सोध्यो भने जबज भन्छ । तर, एमाओवादीमा त्यस्तो कुनै चीज छैन । एमाओवादीमा भयङ्कर सैद्धान्तिक बिचलन छ । सबै कुरा पैसाले गर्छ भन्ने सोंच हाबी भयो । विचार सबै ओझेलमा परे । विचारलाई कुनै बेला बन्दुकले खाइदियो, अहिले पैसाले खाइदिएको छ ।
माओवादी यही अवस्थामा जाने हो भने पतन निश्चित छ भन्न खोज्नुभएको ?
नयाँ विचारलाई स्वीकार नगर्ने, कार्यकर्ताको भावना नसुन्ने हो भने त्यो दिशातिर उन्मुख हुन्छ । किनभने बागलुङको उपनिर्वाचनमै जनमोर्चाको १९ सय र एमाओवादीको २५ सय भोट आएको छ ।
तपाईँहरुले पार्टी सुधार्छौँ भनेर सम्भव होला र ?
बिल्कुल सम्भव छ । भूकम्प नआएको भए हामीले यो बहसलाई अझै सतहमा ल्याएर ठूलो संख्यामा बहस गर्नेवाला थियौँ ।











प्रतिक्रिया