काठमाडौं, १७ असार । टी–ट्वान्टी क्रिकेटमा नेदरल्यान्डविरुद्धको दोस्रो खेलमा पनि नेपाल फराकिलो अन्तरले पराजित भएको छ ।
बुधबार रातिको खेलमा घरेलु टोली नेदरल्यान्ड्ससँग नेपाल १०३ रनको फराकिलो अन्तरले पराजित भएको हो । टस जितेर नेपाल फिल्डिङमा उत्रिएको थियो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो ।
१७३ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको नेपाल १७ ओभरमा अलआउट हुँदै ६९ रनमा समेटिएको थियो । नेपालका लागि शरद भेष्वाकारले सर्वाधिक १८ रन जोडे । नेपालको कमजोर व्यटिङमा सोमपाल कामीले १४, ज्ञानेन्द्र मल्लले १२ रन मात्रै बनाए ।
नेपालका अन्य व्याटस्म्यानको व्याटमा नेदरल्यान्ड्सका बलरले अंकुश लगाएदिए । सुबास खकुरेलले ६ रन बनाए । अन्य भरपर्दा खेलाडीहरु विनोद भण्डारी, कप्तान पारस खड्का र बसन्त रेग्मी र अविनाश कर्णले समान २/२ रनमात्रै बनाए । करण केसीले नटआउट २ रन बनाए ।
नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ३, भान स्क्लेभेन र पउल भान मिक्रेनले समान २/२ विकेट लिए । यसअघि नेदरल्याण्ड्सको आम्सटालभिनमा टस हारेर ब्याटिङ्गको निम्तो पाएको घरेलु टोलीका लागि ओपनर ब्याटसम्यान माइकल स्वार्टले अविजित ७६ र वेन कोपरले ६६ रन बनाए ।
नेपालका सोमपाल कामीले २ तथा करण केसी र अभिनाश कर्णले एक-एक विकेट लिए । यसअघि मंगलबार सम्पन्न पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो । नेपालले अब नेदरल्याण्डसँग २ वटा टी–ट्वान्टी म्याच खेल्नेछ ।















प्रतिक्रिया