काठमाडौं, १६ असार । टी–२० क्रिकेटमा नेपाल नेदरल्याण्डविरुद्धको पहिलो खेलमा १८ रनले पराजित भएको छ ।
घरेलु मैदानमा मंगलबार राति नेदरल्याण्डले दिएको १३४ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपाल पराजित भएको हो । नेपालले ७ विकेट गुमाएर ११६ रन मात्र बनाउन सक्यो ।
नेपालको सुरुवाती व्याट्सम्यान टिक्न सकेनन् । ओपनिङमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्लले खेलेका थिए । तर, खेलमा १२ रन पुग्दा नेपालले पहिलो विकेट गुमायो । सुवास २ रनमा आउट भए ।
तेस्रो नम्बरमा ब्याटिङका लागि आएका विनोद भण्डारी पनि जम्न सकेनन् । उनले ज्ञानेन्द्र मल्लसँग १२ रनको साझेदारी गर्दै ब्यक्तिगत ५ रनमा आउट भए । नेपालको तेस्रो विकेटको पतनका रुपमा उपकप्तान ज्ञानेन्द्र २४ रनमा पभेलियन फर्किए ।
चौथो विकेटका लागि कप्तान पारस खड्का र राजेश पुलामी मगरले ३१ रनको साझेदारी गरे । राजेश मात्र १३ रनमा रन आउट भए । छैटौं नम्बरमा ब्याटिङमा आएका शरद भेष्वाकर पनि जम्न सकेनन् । उनी १६ रनमा आउट भए ।
प्रदिप ऐरी ६ र करण केसी २ रनमा आउट भए । पारस खड्का ४५ र बसन्त रेग्मी १ रनमा अविजित रहे ।
टस जितेर पहिला व्याटिङ गरेको नेदरल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १३४ रन बनाएको थियो । सुरुवात नेदरल्याण्डको पनि राम्रो थिएन । ३२ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाइसकेको थियो ।
तर स्टफेन माइबर्गले अविजित ६७ रनको पारी खेलेपछि नेदरल्याण्ड लयमा फर्किएको थियो । नेपालका बसन्त रेग्मीले २ तथा करण केसीले १ विकेट लिए । यो खेलमा हार व्यहोरेसँगै चार म्याचको श्रृखलामा नेपाल १-० ले पछि परेको छ ।
















प्रतिक्रिया