बाबियाचौर (म्याग्दी), १४ असार । म्याग्दीको ग्रामीण क्षेत्रका महिलाले बालविवाह विरोधी अभियान चलाएका छन् ।
सानै उमेरमा हुने विवाहका कारण महिलाको स्वास्थ्यमा असर पर्नुका साथै आर्थिक, शैक्षिक तथा सामाजिकरुपमा पछाडि परेपछि बालविवाहको समस्या न्यूनीकरणका लागि महिला आफँै जागरुक बनेका हुन् ।
म्याग्दीको विभिन्न गाविसमा गठन भएको युवा महिला संस्थाले गाउँ–गाउँमा २० वर्षभन्दा कम उमेरमा विवाह गर्दा स्वास्थ्य र अन्य क्षेत्रमा पार्ने असरका बारेमा युवायुवती र अभिभावकलाई सचेत बनाउन अभियान सञ्चालन गरेका छन् ।
शारीरिक र मानसिक रुपमा परिपक्क नभएको तथा सानै उमेरमा विवाह गर्दा ग्रामीण क्षेत्रका महिलाले स्वास्थ्य र अन्य समस्या झेल्नुपर्ने समस्या भएकाले त्यसलाई न्यूनीकरणका लागि बालविवाह नियन्त्रण अभियान सञ्चालन गरेको देवीस्थानको संयुक्त सशक्तीकरण युवा महिला संस्थाका अध्यक्ष ईन्द्रमति फगामीले बताउनुभयो ।
उहाँका अनुसार टोल–टोलमा भेला, छलफल र व्यक्तिगतरुपमा भेटेर सानै उमेरमा विवाह नगर्न सल्लाह सुझाव दिने गरिएको छ । जनचेतनाको कमी, गरिबी, पारिवारिक, अशिक्षाको साथै लैलैमा लागेर ग्रामीण क्षेत्रमा बालविवाहको समस्या छ ।
सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा महिलाको स्वास्थ्य जोखिममा पर्नुका साथै शैक्षिक, सामाजिक र आर्थिक रुपमा पछाडि परेका देवीस्थानकी महिला अगुवा पिपला बुढाथोकीले बताउनुभयो ।
बालविवाहका साथै युवा महिला संस्थाले घरभित्र हुने लैङ्गिक विभेद्, घरेलु हिंसा, महिला अधिकारको सवालमा छलफल, अन्तक्र्रिया र सरसफाइ अभियान पनि सञ्चालन गरेका छन् । युवा महिला संस्थाको पहलमा जिल्लाका विभिन्न स्थानमा हुन लागेका पाँच वटा बालविवाह रोकिएका छन् ।
प्लान नेपालको सहयोगमा सहमति संस्थाद्वारा सञ्चालित बालिका शक्ति परियोजनाअन्तर्गत म्याग्दीको २० वटा गाविसमा गठन भएका युवा महिला संस्थामा आबद्ध महिला सहकारीमा आबद्ध भई ऋण लिएर आयआर्जनतर्फ अग्रसर भएका छन् ।
बेनी नगरपालिकाको १, २, ३, ४ नम्बर वडाका साथै बाबियाचौर, अर्मन, दरवाङ, ताकम, निस्कोट, देवीस्थान, ओखरबोट, रुम, मुदी, लुलाङ, झिँ, पाखापानी, पात्लेखेत, बेगखोला, दाना, दग्नाम, चिमखोला र कुईनेमङ्गले गाविसमा युवा महिला संस्था गठन भएको सहमतिका वित्त तथा प्रशासन सहायक विजय सापकोटाले जानकारी दिनुभयो ।
परियोजनाले युवा महिला संस्थाका पदाधिकारीलाई तालिम, उनीहरुको समस्याको विषयमा छलफलका लागि सहजीकरण, आयआर्जनका लागि तरकारीखेती गर्न प्राविधिक तथा बीउबिजन र सहकारी संस्था स्थापना तथा सञ्चालन गर्न सहयोग गरेको छ । रासस















प्रतिक्रिया