७ कार्तिक २०८३, शनिबार

भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lipu_Pass_india_Chinaमहेन्द्रनगर, ११ असार । नेपालको लिम्पीया धुराबाट हिमनदीको रुपमा प्रवाहित हुने नदी नै काली नदी भएको एक कार्यक्रमका सहभागीहरुले दावी गर्दै भारत र चीनबीच भएको लिपुलेक सम्झौता खारेजीका लागि नेपाल सरकारसंग माग गरेका छन् ।

लिपुलेक र नेपालको राष्ट्रिय स्वाधीनता भन्ने विषयमा  कानून व्यवसायीहरुको संगठन प्रगतिशील कानून व्यवसायी संघ कैलालीले आज आयोजान गरेको विचार गोष्ठीका सहभागीहरुले लिम्पीया धुरा (पहाड) बाट हिमनदीको रुपमा प्रवाहित हुने नदी नै काली नदी भएको र त्यही नै नेपालको पश्चिमी सीमा भएको निष्कर्ष निकालेका छन ।

गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै महाकाली नदी एबं सीमा सरोकार समूहका अध्यक्ष ऋषिराज लुम्साली, सीमा सम्बन्धि जानकार साध्य बहादुर भण्डारी र महाकालीमा जल अधिकारका लागि अभियानका संयोजक विष्णु अवस्थीले ऐतिहासिक दस्ताबेज, नक्साहरु र सुगौली सन्धिदेखि नै लिम्पियाधुरा पूर्वको जमीन नेपालको भएकाले लिपुलेक स्वतः नेपालको भएको दावी गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पूर्व कानून मन्त्री देव गुरुंगले चिन र भारतका प्रधानमन्त्रीहरुले लिपु नाकाबाट ब्यापारिक मार्ग खोल्ने भनी सहमति गर्नु भनेको त्यस क्षेत्रमा रहेको नेपालको सार्वभौम अधिकार माथिको हनन् भएकाले कुनै पनि हालतमा सो सम्झौता खारेज गरिनु पर्ने माग गर्नु भएको छ ।

यो विषय कुनै पनि अवस्थामा नेपाललाई स्वीकार्य नहुने भन्दै नेता गुंरुगले सम्पूर्ण नेपाली जनतालाई एक मतले प्रतिवाद गर्न आग्रह समेत गर्नु भएको छ । कार्यक्रममा सहभागी विभिन्न बक्ताहरुले नेपाल सरकारले आाफैले यस विषयमा प्रतिवाद जनाई नेपाली जनतालाई सुसूचित गरी सक्नु पर्नेमा सरकारको काम कार्वाही प्रति आक्रोस व्यक्त गरेका छन ।

जनताका प्रतिनिधि मण्डल र बिज्ञहरुले जिज्ञासा राख्दा पनि सरकार मुख खोल्न आलटाल गरिरहेको र सरकारले राज्यधर्म समेत निर्वाह नगरेले लोकतन्त्रको  उपहास नै भएको सहभागीहरुले विचार व्यक्त गरेका थिए ।

दार्चुलामा लिपुलेक सहित सिङ्गो कैलाली भन्दा बढी भुभाग अतिक्रमण हुँदा समेत ठुला भनिएका दलमौन रहनु दुखद भएको सिमाविदहरुले टिप्पणी गरेका छन् । ठूलो परिणाममा नेपाली माटो अतिक्रमण हुँदा समेत ठूलादलहरु मौन बसेकामा दुःख व्यक्त गर्दै सहभागीहरुले सरकार र राजनेताहरु सत्ता केन्द्रित दरिद्र मानसिकताबाट माथी उठेर स्वाभिमानको लडाई लड्ने बेला आएको बताएका छन ।

विचार गोष्ठीमा चित्रा पनेरु, हिमालय विक्रम विष्ट, शिबहरी मुडभरी लगायत १५ जना जतिले आफ्नो विचार व्यक्त गरेका थिए । विचार गोष्ठी रामबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।