२९ आश्विन २०८३, बिहिबार

पहिलो खेलमा नेपाल १४ रनले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali_cricket_team_Paras_Khadka_CAN_Nepalकाठमाडौं, ११ असार । विश्व ट्वान्टी–२० छनोट तयारीलाई बेलायतमा रहेको नेपाली क्रिकेट टोली बिहीबार मैत्रीपूर्ण खेलमा काउन्टी क्रिकेट क्लब मिडलसेक्सको दोस्रो रोजाइ टोलीसँग १४ रनले पराजित भएको छ ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाई १ सय ५० रनमात्र बनाउन सक्यो। ओपनर सुवास खकुरेलले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दा अर्का ओपनर सागर पुन फेरि रन बटुल्नबाट चुकेका छन् । उनी पहिलो बलमै आउट भए । १ रन जोड्दा पहिलो विकेट गुमाएको नेपाली टोलीलाई सुवास र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूले दोस्रो विकेटमा ६९ रनको साझेदारी गरे । सुवासले सर्वाधिक ४६ र ज्ञानेन्द्रले ४१ रन जोडे । सुवासले ५४ बलमा ५ चौका र ज्ञानेन्द्रले ३० बलमा ६ चौका प्रहार गरेका थिए ।

शरद भेषावकरले ३२ र राजेश पुलामीले १७ रन बनाए । अन्य ब्याट्सम्यान सस्तैमा आउट भए । कप्तान पारस खड्का, सागर र प्रदीप ऐरीले खाता पनि खोल्न सकेनन् । तीनै खेलाडी गोल्डेन डकआउट भए । वसन्त रेग्मीले १ रन बनाए भने करण केसी १ रनमा अविजित रहे ।

मिडलसेक्सका लागि रवि पटेल सफल बलर भए । ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिने क्रममा उनले सागर, पारस र ज्ञानेन्द्रलाई आफ्नो सिकार बनाए । एचडब्लु पोडमोरले ४ ओभरमा २९ रन दिएर २ विकेट तथा गुरजित सिन्धुले ४ ओभरमा २१ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मिडलसेक्सले ४ विकेट गुमाई १ सय ६४ रन बनाएको थियो । टोलीका लागि एन्डी बलर्बेनीले सर्वाधिक ७२ रन जोडे । ४५ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे । उनको विकेट जितेन्द्र मुखियाले लिएका थिए । रायन हिगिन्सले ४२ बलमा ३ चौकासाथ ३८ रन जोडे । उनी पनि जितेन्द्रकै सिकार भए ।

एस इस्किनाजीले अविजित २३, क्यारुन स्टिलले १५, एनजे डेक्चरले ८ तथा जी स्कटले अविजित ७ रन बनाए । जितेन्द्रबाहेक नेपालका लागि सोमपाल कामीले १ विकेट लिए । जितेन्द्रले ४ ओभरमा ३४ रन खर्चेका थिए भने सोमपालले २ ओभरमा ९ रन दिए । करण केसीले ४ ओभरमा ४० र कप्तान पारसले २ ओभरमा २१ रन खर्चेका थिए । ४ ओभरमा शक्ति गौचनले ३४ र वसन्त रेग्मीले २५ रन दिएका थिए । नागरिक दैनिकमा समाचार छ ।