भक्तपुर, ८ असार । नेकपा (एमाले) भक्तपुर क्षेत्र नं. १ ले सञ्चालन गरेको कार्यक्रममा आज सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र उद्योगमन्त्री महेश बस्नेतले भक्तपुरका सम्पदाको सरसफाइ गर्नुभएको छ ।
भक्तपुरको अरनिको सभाभवनसँगै विद्यार्थी निकेतन पछाडि भूकम्पपीडितलाई बस्ने ठाउँ बनाउन त्यहाँ थुपारिएका फोहोर र भग्नावशेष हटाइएको छ ।
एमालेका स्वयंसेवक दस्ता र मन्त्रीद्वयले यहाँका भग्नावशेष हटाउन थालेपछि स्थानीय बासिन्दाले समेत साथ दिएका थिए । मन्त्री पण्डित र बस्नेतले सरसफाइपछि यहाँका सम्पदा दरबार, तौमढी र दत्तात्रय स्क्वायरको अवलोकन गर्नुभएको थियो ।
कार्यक्रममा मन्त्री पण्डितले पर्यटनको मेरुदण्डका रहेको सम्पदामध्ये भत्किएका सम्पदा जति सक्दो छिटो पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री बस्नेतले नेपाल अब सुरक्षित छ, पर्यटक आउनुस् भन्ने सन्देश विश्वमै छर्दै पर्यटनको विकासलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
















प्रतिक्रिया