काठमाडौं, ८ असार । भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा आउने अधिकांश सहभागीको टुङ्गो लागेको छ।त्यसैगरी, मलेसिया, कतार, अफगानिस्तान, क्यानाडा, चेक रिपब्लिक, इन्डोनेसिया, अरब आर्थिक विकासका लागि कुवेती कोष, लग्जम्बर्ग, माल्दिभ्स, पाकिस्तान, रुस, स्पेन, टर्की, युनाइटेड अरब इमिरेट्सलगायतका द्विपक्षीय मुलुकको सहभागिता भने केही दिनभित्रै निश्चित हुनेछ ।युरोपेली सङ्घ, अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्र सङ्घीय महिला सङ्गठन (युएन ओमन), राष्ट्र सङ्घीय विकास कोष (युएनडिपी), राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए), शरणार्थीका राष्ट्र सङ्घीय उच्चायोग, राष्ट्र सङ्घीय बाल कोष, संयुक्त राष्ट्र सङ्घ, संयुक्त राष्ट्र सङ्घ बसोबास केन्द्र (युएन ह्याभिट्याट), विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ), विश्व बैंक, एसियाली विकास बैंक, विश्व खाद्य सङ्गठन (एफएओ) लगायत बहुपक्षीय निकायले सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् ।
सम्मेलनमा प्रधानमन्त्री सुशील कोइरालाले मन्तव्यसहित उद्घाटन गरेपछि सहभागीहरुलाई भूकम्प अघि र पछिको नेपालका प्रमुख गन्तव्यस्थलको दृश्य समेटिएको वृत्तचित्र देखाइनेछ । सम्मेलनको उद्घाटनभन्दा कार्यसत्रलाई जोड दिइने र नेपालको तर्फबाट प्रस्ताव गरिने कार्ययोजना प्रस्तुत गर्दै दाताको सुझाव लिने प्रयास गरिनेछ । सरकारले सहभागी हुने अतिथिको बसोबास तथा सुरक्षाको पूर्ण प्रबन्ध भइसकेको जनाएको छ ।त्यस्तै, विकासका लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), विकासका लागि अमेरिकी सहयोग नियोग (युएसआइडी), अन्तर्राष्ट्रिय विकासका लागि कोरियाली सहयोग नियोग (कोइका), अन्तर्राष्ट्रिय रेडक्रसजस्ता एजेन्सीहरुले पनि सम्मेलनमा सहभागी हुने प्रतिनिधिको टुङ्गो लगाइसकेका छन् ।
सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो । सम्मेलनमा भाग लिन अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर, टाइटेनिक फिल्मका नायक लियो नार्दाे डिक्याप्रियो, हलिउडका चर्चित बेलायती नायिका जोहना लुम्ले पनि आउने निश्चित भएको छ । एक दिने सो सम्मेलनमा नेपाल र विदेशका गरी ३०० जना सहभागी हुने मन्त्रालयले जानकारी दिएको छ ।
भूकम्पबाट मुलुकका प्रमुख पर्यटकीय गन्तव्य र त्यसका भौतिक पूर्वाधार सुरक्षित रहेका सन्देश प्रवाह गर्नु पनि सम्मेलनको अर्को उद्देश्य हो । सम्मेलनका सहभागीलाई भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक संरचना, विश्वसम्पदा सूचीमा सूचीकृत मठमन्दिर, दरबार र प्रभावित केही जिल्लाको स्थलगत अवलोकन गराइने अर्थ मन्त्रालयले जनाएको छ ।
दातासमक्ष प्रस्तुत गरिने विपद्पछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तयार भइसकेको छ । पुनःनिर्माणका लागि करिब रु छ खर्ब ६९ अर्ब आवश्यकता पर्ने प्रतिवेदनमा उल्लेख छ । दाता निकायलाई विश्वास दिलाउन सरकारले आइतबार भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणसम्बन्धी अध्यादेश २०७२ पारित गर्यो । रासस












प्रतिक्रिया