काठमाडौँ, ७ असार । नेपाल उद्योग वाणिज्य महासङ्घका नौजना पूर्व अध्यक्षले यही असार १८ गते हुन लागेको महासङ्घ अध्यक्षको निर्वाचन निर्विरोध हुनुपर्नेमा जोड दिनुभएको छ ।
उहाँहरुले आज ललितपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर महासङ्घको अध्यक्षको उम्मेदवारी दिनेले अहिलेको पदबाट राजीनामा दिई नैतिकताका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“सर्वसम्मतिले अध्यक्षको निर्वाचन हुनुपर्छ, त्यसनिम्ति हामी सामूहिकरुपमा अधिकतम प्रयास गर्नेछौँ” प्राकृतिक विपत्तिबाट तहसनहस भएको मुलुकको अर्थतन्त्र उठाउन फुटेर नभई एकताबद्ध भई महासङ्घलाई नेतृत्व प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै संयुक्तरुपमा जारी गरिएको वक्तव्यमा उहाँहरुले भन्नुभएको छ ।
निर्विरोध निर्वाचनको पक्षमा उभिनुभएका पूर्व अध्यक्षमा महेशलाल प्रधान, पदम ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी र सुरज वैद्य हुनुहुन्छ । रासस















प्रतिक्रिया