२९ आश्विन २०८३, बिहिबार

सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन गर्न आवश्यक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karnali-bridgeकाठमाडौँ, ७ असार । सुदूरपश्चिम क्षेत्रको पर्यटन विकासका लागि त्यस क्षेत्रमा रहेका धार्मिक, सामाजिक, सांस्कृतिक धरोहरको बारेमा प्रचारप्रसार गर्न आवश्यक रहेकामा सरोकारवालाले जोड दिएका छन् ।

नेपाल पर्यटन बोर्डद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा एकीकृत नेकपा(माओवादी) तर्फबाट कैलालीका सभासद् हरि ज्ञवालीले सुदूरपश्चिम पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको हुँदा यसको विकासमा राज्यले विशेष चासो देखाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सुदूरपश्चिमाञ्चल प्राकृतिक सम्पदाले भरिएको ठाउँ भएको हुँदा यसको प्रचारप्रसार गर्नसके आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा (एमाले) कैलालीकै सभासद् गरिमा शाहले ऐतिहासिक सम्पदाले भरिएको सुदूरपश्चिमलाई राज्यले बेवास्ता गरेको भन्दै आव २०७२÷७३ को बजेट विनियोजनमा सुदूरपश्चिमाञ्चललाई विशेष ध्यान राखेर बजेट छुट्टयाउन माग गर्नुभयो ।

उहाँले अबको पर्यटकीय गन्तव्य सुदूरपश्चिमलाई बनाउनुपर्ने भन्दै पर्यटनसम्बन्धी व्यवसाय गर्न चाहने व्यक्तिका लागि कम्तिमा एक वर्षको लागि भन्सार छुटको माग गर्नुभयो ।

एकीकृत नेकपा (माओवादी)का सभासद् बुद्धिसागर चौधरीले सुदूरपश्चिमाञ्चलको पर्यटन विकासका लागि त्यहाँका ऐतिहासिक, धार्मिक, सामाजिक, सांस्कृतिक सम्पदालाई सूचीकृत गरी योजनाबद्व रुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीले त्यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढाउन स्थानीय व्यक्तिलाई घरबास ‘होमस्टे’को तालिम दिने बताउनुभयो ।

“सुदूरपश्चिमाञ्चललाई बेवास्ता गरिएको होइन, तर ओझेलमा भने परेको हो, आगामी बजेटमा त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि विशेष ध्यान दिनेछाँै”– सहसचिव पराजुलीले भन्नुभयो । रासस