७ कार्तिक २०८३, शनिबार

स्थानीयस्तरका नेताहरुबाट नै वन अतिक्रमण भएको खुलासा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा (कपिलवस्तु), ६ असार । कपिलवस्तु जिल्ला हालको वाणगङ्गा नगरपालिका साविकको पटना गाविसमा भएको वन अतिक्रमणमा जिल्लास्तरका स्थानीय नेताहरुको हात रहेको रहस्य बाहिर आएको छ ।

सो वन क्षेत्रमा ठूला राजनीतिक दल भनेर चिनिने नेपाली काँगे्रस, नेकपा(एमाले) र एकीकृत(नेकपा) माओवादीका जिल्लास्तरका नेताहरुबाट नै वन अतिक्रमण भएको छ । धेरै पटक जिल्लास्तरका नेताहरुले जिल्लामा वन अतिक्रमण रोक्ने भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै आए पनि स्थानीयस्तरका नेता कार्यकर्ता वन अतिक्रमणमा अग्रपङ्तिमा देखिएको सोही क्षेत्रका स्थानीयवासीको भनाइ छ ।

सो क्षेत्रमा यसरी वन अतिक्रमण गर्नेमा एमाओवादीका जिल्लास्तरका नेता अशोक विक अग्र पङ्तिमा हुनुहुन्छ । उहाँले पटना– ४ सोनपुरमा २५ बिगाहाभन्दा बढी वन क्षेत्र अतिक्रमण गरेर खेती गरिरहनुभएको तथ्य सार्वजनिक भएको छ ।

त्यस्तै एमालेका नेता कृष्णप्रसाद सोमईले पटना– ४, धरमपुरमा १२ बिगाहा वन क्षेत्र अतिक्रमण गरी खेती गर्दै आउनुभएको छ ।

त्यस्तै नेपाली काँगे्रसका स्थानीय नेता धनीराम थारुले पनि सोही क्षेत्रमै १० बिगाहाबराबरको क्षेत्रफल ओगटेर खेती गरिरहनुभएको नाम नबताउने सर्तमा एक स्थानीयले बताउनुभयो ।

यसरी जिल्लास्तरका नेता र स्थानीयस्तरका नेताहरु नै वन अतिक्रमणमा संलग्न भएपछि जिल्लामा वन अतिक्रमण बढ्दो रुपमा रहेको छ ।

ठूला दलका स्थानीय तहका नेता नै वन अतिक्रमणमा अग्रसर हुने भएपछि तल्लोस्तरका नेता तथा कार्यकर्ता सजिलै वन क्षेत्र अतिक्रमणमा लाग्ने स्थानीयवासी बताउँछन् ।

यसरी वन क्षेत्र अतिक्रमण भएपछि स्थानीयवासी पछिल्लो समय सो क्षेत्रको वन अतिक्रमण गर्नबाट रोक्ने कार्यमा संलग्न भएको स्थानीयवासी भीमसेन थापाले बताउनुभयो ।

जिल्ला वन कार्यालयको तथ्याङ्कले कपिलवस्तु जिल्लामा करिब १० हजार ८०३ हेक्टर क्षेत्रफल वन अतिक्रमणमा परेको जनाएको छ ।

यता इलाका वन कार्यालय पटनाका सहायक वनअधिकृत प्रकाश ठाकुरले राजनीतिक दलको असहयोगका कारण अतिक्रमण हटाउन समस्या भएको बताउनुभयो । उहाँले इलाका वन कार्यालय पटनाअन्तर्गतको वन क्षेत्रमा एक हजार ८०५ हेक्टर क्षेत्रफलको वन अतिक्रमणमा परेको बताउनुभयो ।

खासगरी कपिलवस्तु जिल्लाको पटना, गुगौली, खरेन्द्रपुर, वीरपुर र बिसनपुर क्षेत्रमा इलाका वन कार्यलयले वन अतिक्रमण बढी भएको जनाएको छ ।

कपिलवस्तु जिल्ला वन कार्यलयका प्रमुख राकेश कर्णले पछिल्लो समय वन अतिक्रमण रोक्नका लागि जिल्लाका साझेदारी वनले प्रभावकारी रुपमा काम गर्दै आएको हुनाले वन अतिक्रमणमा कमी हुने बताउनुभयो ।

उहाँले वन अतिक्रमण गर्ने राजनीतिक दलका जिल्ला तथा स्थानीयस्तरका नेताहरुसँग आफूले यो विषयमा छलफल गरेको र उहाँहरुले पनि अतिक्रमण कार्य रोक्नका लागि विभिन्न किसिमका प्रतिबद्धता जनाएको उल्लेख गर्नु भयो । रासस