काठमाडौँ, ६ असार । योग मौलिक संस्कृति, पहिचान र दर्शन हो । आधुनिक चिकित्सा पद्धत्तिलाई चुनौती दिइरहेको योग विश्वव्यापीकरण भइसके पनि नेपालले यसको महत्वलाई अझै राम्ररी आत्मसात् गर्न सकेको छैन ।
ऋषिमुनिहरुले तपस्या गरेको स्थल नेपाल योगको जननीस्थल भए पनि यसको महत्व बुझ्न र बुझाउन नसक्दा योग चिकित्साको विकास हुन सकेको छैन ।
योगको विश्व व्यापीकरणलाई आत्मसात् गर्दै यसको मौलिक स्वरुपलाई बचाउन जरुरी भएको यो क्षेत्रका विज्ञहरु बताउँछन् ।
नेपाल योग रिट्रट सेन्टरका संयोजक डा चिन्तामणि गौतमले योग चिकित्साको विश्वव्यापी महत्व बढिरहेको सन्दर्भमा नेपालजस्तो प्राकृतिक विविधताको विशिष्ट पहिचान बोकेको मुलुकले आधुनिक योगको उपयोगितालाई आत्मसात् गर्न सक्नुपर्ने खाँचो औँल्याउनुभयो ।
उहाँले योगलाई आध्यात्मिक पर्यटनसँग जोडेर प्रवद्र्धन गर्न सके शारीरिक तथा मानसिक स्वास्थ्यलाभका साथै मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
योगविज्ञ डा तारामान अमात्यले योग अभ्यासले मानिसलाई शारीरिक र मानसिक रुपमा परिपक्क बनाउने बताउनुहुन्छ ।
योगले मानव शरीरलाई स्वस्थ्य र सकारात्मक दिशातर्फ उन्मुख गराउन सहयोग पुग्ने भएकाले शिक्षण अस्पताल महाराजगन्जको चिकित्सा विज्ञान एमबिबिएसमा योगको पाठ्यक्रम राखिएको उहाँले जानकारी दिनुभयो ।
आधुनिक योग गुरु महर्षि पतञ्जलीले योगलाई वैज्ञानिक रुप दिनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घले हालै योग चिकित्सा प्रवद्र्धनका लागि यसलाई विश्वभर दिवसका रुपमा मनाउने घोषणा गरेसँगै यसको महत्व अझ बढेको छ ।
डा अमात्यका अनुसार योगअन्तर्गत महत्वपूर्ण चार विधिहरु हटयोग, राजयोग, टन्टरा योग र दी ट्रिपल पाट पर्छन् यिनको आ–आफ्नै पद्धत्ति र विशेषता हुन्छ ।
योगले मानव शरीरको रक्तसञ्चार प्रणालीलाई प्रभावकारी बनाउँछ । मधुमेह, डाइबिटिज, उच्च रक्तचाप र मानसिक चिन्ताका बिरामीका लागि योग अति उपयोगी मानिन्छ ।
प्रथम अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज नेपाल योग रिट्रट सेन्टर र पर्यटन पत्रकार सङ्घले आज यहाँ संयुक्त रुपमा एक कार्यक्रमको आयोजना ग¥यो ।
विभिन्न योग प्रणायामको अभ्यासका साथ कार्यक्रममा विभिन्न देशभक्तिका भजन सङ्गीत श्रवण गरिएको थियो ।
उपस्थितहरुलाई योग गुरु डा चिन्तामणि गौतमले प्रणायामका विभिन्न अभ्यास गराएर आनन्दित तुल्याउनुभएको थियो ।
उक्त कार्यक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले भूमिगत हँुदादेखि नै योग गर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै योग साधनालाई आत्मसात् गरे मानिसले आध्यात्मिक सुखशान्ति प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“मानसिक उपचार महत्वपूर्ण उपचार हो । मानिसको इच्छाशक्ति बलियो बनाउन योगाले ठूलो भूमिका खेल्छ, यसलाई पर्यटनसँग जोड्न जरुरी छ” – उहाँले भन्नुभयो ।
नेता नेपालले नेपालका प्राकृतिक स्थलहरुको सदुपयोग गरी प्राकृतिक चिकित्सा योगाको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न राज्यले उचित नीति बनाउन जरुरी भएको उल्लेख गर्नुभयो ।
योग चिकित्सक डा ट्रिडेन्द्र शाक्यले आधुनिक योग चिकित्साको महत्वलाई बुझी नेपालले उपयोगी नीतिकासाथ यसको विकास गर्न जरुरी भएको बताउनुभयो ।
नेपाल हिमालय उद्धार सङ्घका अध्यक्ष डिबी कोइरालाले योगको महत्वलाई आत्मसात् गरी पर्यटन व्यवसायीले छुट्टै अवधारणा बनाएर योगबाट पर्यटकको बसाइँ लम्ब्याउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । रासस















प्रतिक्रिया