जन्मदादेखि नै अनेकन रोग बोकेर जन्मिएको हो, एनआरएन अमेरिका । यो स्वस्थ्य बच्चाका रुपमा जन्मेको हुँदै होइन । जन्मदादेखि बोकेका केही रोगको उपचार अहिलेसम्मपनि हुन नसक्दा एनआरएन अमेरिका एकपछि अर्को अग्निपरीक्षाबाट गुज्रिरहेको छ । अन्य देशका एनआरएन राष्ट्रिय समन्वय परिषद्हरुजस्तै स्वभाविक रुपमा जन्म भएको होइन, एनआरएन अमेरिकाको । अस्वभाविक जन्मले बोकेका रोगहरुको एकपछि अर्को चरणगरी उपचार भइरहेपनि नयाँ नयाँ रोगको शिकार भइरहेको छ, एनआरएन अमेरिका । प्रस्तुत विश्लेषणमा एनआरएन अमेरिकाको अस्वभाविक जन्म , त्यसपछि बोकेका रोग र अहिले जन्मेका नयाँ रोगका साथै रोगका कारण उत्पन्न परिणामका बारेमा चर्चा गर्न खोजिएको छ ।
एनआरएन अमेरिकाको अस्वभाविक जन्म
नेपालको विकाश र प्रवद्र्धनमा टेवा पुर्याउन, विश्वका विभिन्न मुलुकमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपले अगाडि बढ्नका लागि सन् २००३ मा लण्डनमा सम्पन्न गैरआवासीय नेपालीहरुको एक भेलामा ब्यापक छलफल भई आफ्नो गतिविधिलाई समन्वय गर्न एवं संचालन गर्न आधारभूत मानवअधिकारप्रति प्रतिवद्ध एक जिम्मेवारसंस्थाको गठन हुनुपर्ने आवश्यकतालाई मनन गरी एक स्वतन्त्र, एक गैरनाफामुलक, गैर राजनीतिक, गैर सरकारी, चीरस्थायी संघका रुपमा गैरअवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् अर्थात् एनआरएन आईसीसीको गठन गरिएको हो । अन्तर्राष्ट्रिय समन्वय परिषदको गठन लगत्तै विभिन्न देशमा यसका राष्ट्रिय समन्वय परिषद्हरु अर्थात् एनआरएन एनसीसीहरुको गठन गरिदै गयो । र अहिले विश्वभरका ७१ देशहरुमा एनआरएन एनसीसीहरुको निर्माण गरिएको छ । एनआरएन अमेरिका तिनै ७१ मध्येको एउटा हो । एसियाका १५ देश, अफ्रिकाका १३ देश, उत्तर अमेरिकाका २ देश, युरोपका २७ देश, मध्यपूर्वका १० देश र ओसियानाका ३ देशमा एनआरएन एनसीसीहरु रहेका छन् । तर अन्य देशका एनआरएन एनआरएन एनसीसीको जस्तो स्वभाविक जन्म अमेरिकाको एनआरएन एनसीसीको भएको होइन ।
सन् १९९० को दशकको पूर्वाद्धमा अमेरिकामा विभिन्न संघ संस्थाहरुको संख्या बढ्दै गइरहेको थियो । त्यो बेलामा संघ संस्थाहरु बीच समन्वय कायम गर्न भन्दै अमेरिकामा रहेका आफूलाई धनी, बुद्धिजीवि र प्रवुद्ध भन्न रुचाउने नेपालीहरुको सकृयतामा नेपलिज अमेरिकाज काउन्सिल अर्थात् न्याकको स्थापना भयो । यो काउन्सिल अमेरिका र क्यानडा दुबैलाई समेटेर दुबै देशमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । सन् १९८३ तिर स्थापित एएनएले उत्तर अमेरिकाको छाता संगठन आफू भएको धारणा बोकिरहदा संगठनहरुबीच समन्वय कायम गर्न भन्दै न्याकको स्थापना गरिदा सुरुमै द्वन्दको अवस्था सृजना भएको थियो । त्यो बेलादेखि सुरुमा एएनए र न्याकबीच सौतासौताको जस्तो सम्बन्ध रह्यो । तरपछि एनएनए लगायतका संस्थाहरु न्याकको सदस्य बनेर समन्वयात्मक परिषद् गठन भयो ।
सन् २००३ मा विश्वमा एनआरएनको गतिविधिहरु बढ्दै जाँदा उत्तर अमेरिकामा एनआरएनको जिम्मा कस्ले लिने भन्ने विषयमा बहस भयो । उत्तर अमेरिकामा एनआरएनको समन्वयत्मक संयन्त्रको रुपमा न्याकले काम गरेकाले न्याक नै अमेरिकाको एनआरएन रहेको आईसीसीले स्वीकारेको थियो । त्यतीबेलै क्यानडामा क्यानडाकै एनआरएन एनसीसी र अमेरिकामा अमेरिकाकै एनआरएन हुनुपर्ने कुरा पनि उठेको थियो । त्यो एनआरएन एनसीसी न्याक भन्दा छुट्टै हुनुपर्ने कुरा पनि आएको थियो । तर त्यसको कार्यान्वयन हुन लामो समय लाग्यो ।
एएनएको बाल्टिमोरको सम्मेलनमा न्याकमा आवद्ध पुरानाहरुलाई होटेलको कोठामा राखेर छुट्टै एनआरएन स्थापनाको प्रस्ताव ल्याइएको थियो । उत्तर अमेरिकाका नौवटा क्षेत्र (न्याकले खडा गरेका नौ क्षेत्र) मध्ये हरेक क्षेत्रमा एनआरएनको छुट्टै पद सृजना गरेर एनआरएनको रिजनल डाइरेक्टर स्थापना गर्ने र केन्द्रीय स्तरमा समन्वय कायम गर्नका लागि एनआरएनको अर्को संयन्त्र स्थापना गरेर एनआरएनको गतिविधि अगाडि बढाउने छलफल भयो । पछि न्याकलाई छुट्टै रुपमा छोड्ने र एनआरएनलाई स्वतन्त्र रुपमा जन्माउने छलफल चलिरहेकै बेला न्याक बन्द गर्ने, एनआरएन दर्ता गर्र्ने लगायतका गतिविधि भए । एकहिसाबले न्याकको चिहानबाट एनआरएन अमेरिकाको जन्म भएको हो भने अर्को हिसाबले हेर्दा न्याकलाई एनआरएन अमेरिकामा रुपान्तरण गरिएको हो । त्यसैले यो जन्मदा नै कैयन विवाद भ एभने कैयन रोग बोकेर जन्मन पुग्यो, न कि यसको जन्म एनआरएन आईसीसीको माताहतमा रहेको एउटा संस्थाका रुपमा अन्य देशमा जन्मिएका एनसीसीहरुजस्तै स्वभाविक थियो । त्यतीबेला निर्मित विधानले नै यो संगठनलाई जनस्तरमा जानबाट रोकेको थियो । सन् २००९ देखि सन् २०१४ सम्म एनआरएन अमेरिका जनस्तरमा पुग्न सकेन । कोठे संगठनका रुपमा मात्र रह्यो । सन् २०१४ मा अमेरिकामा रहेका अधिकांश नेपालीहरुलाई एनआरएन अमेरिका भन्ने संगठन छ भन्ने पनि थाहा थिएन । सन् २०१० मा सुमन तिम्सिना, सन् २०११ मा प्रल्हाद केसी र सन् २०१३ मा शिवकुमार राई एनआरएन अमेरिकाका अध्यक्ष भए । त्यतिबेलासम्म रोग ग्रस्त एनआरएन अमेरिकालाई सन् २०१४ देखि उपचार गर्न सुरु गरिएपनि नयाँ रोगहरु थपिदै गएका छन् ।
कस्ता रोगहरु थिए एनआरएन अमेरिकामा ?
एनआरएन एनसीसी अमेरिका अन्य देशका एनसीसीहरुजस्तै एनआरएन आईसीसीको गर्भबाट जन्मेको होइन । त्यसैले यसको जन्म अन्य देशका अधिकांश एनसीसीहरुको तुलनामा अप्राकृतिक रहेको छ । न्याकको खरानीबाट एनआरएन अमेरिकाको जन्म भएका कारण सुरुमै अनेकौ विवादको झमेलामा परेको थियो यो । त्यतीबेला निर्माण गरिएको विधान असाध्यै अव्यवहारिक र अलोकतान्त्रिक रहेको थियो । विधान निर्माण समितिमा रहेका डाक्टर तारा निरौलाले विधानको ८० प्रतिशत लेखेपनि उनले विधानमा अव्यवहारिक र अलोकतान्त्रिक कुराहरु राख्न नहुने भन्दै विरोध जनाएका थिए । तर यसरी विरोध जनाउँदा उनी एक्लो परे । र विधान समिति नै छाडे । अन्तत अप्रजातान्त्रिक र अव्यहारिक विधानले नै निरन्तरता पायो । र त्यही विधानले एनआरएन अमेरिकालाई रोगग्रस्त बनाइदियो ।
अलोकतान्त्रिक विधानका कारण एनआरएन अमेरिकामा सन् २००९ देखि सन् २०१३ सम्म अलोकतान्त्रिक प्रवृत्तिको रोग भयंकर रुपमा देखा प¥यो । नेतृत्व छनौटदेखि कार्यविधि संचालनसम्मका काम अत्यन्तै अलोकतान्त्रिक तवरले भए । अलोकतान्त्रिक शैलीमा नै नेतृत्व हत्याउनेदेखि नेतृत्वलाई पछार्नेसम्मका गतिविधिहरु भए । अलोकतान्त्रिक शैलीकै कारण एकले अर्कोलाई निषेध गरेर अगाडि बढ्ने रोग निकै डरलाग्दो रुपमा देखा पर्न गयो । यो नै त्यतीबेलाको मुख्य रोग थियो । अपारदर्शिता अर्को रोग थियो एनआरएनको । आर्थिकमात्र होइन, एनआरएनका प्राय सबै गतिविधि र कामकारवाही अत्यन्तै अपारदर्शी रहेका थिए । कसले कहाँ के गरिरहेको छ देखि एनआरएनको खर्च कहाँ कति भइरहेको छ भन्नेसम्म सबै कुराहरु अत्यन्तै अपारदर्शी रहेका थिए । सबैकुरा कोठाभित्रै गुपचुप राखिएको थियो । वैधानिक अस्पष्टता अर्को ठूलो रोगका रुपमा रहेको थियो । यही अस्पष्टता र अव्यवहारिकपनले सदस्यता निर्माणको मापदण्ड र तरिकामा समस्या भएको थियो ।
साधारणसदस्यहरु मतदाता हुन नपाउने र १० जना साधारणसदस्य बराबर छानिने एकजना डेलिगेट्सलाई मताधिकार हुने प्रावधानले डेलिगेट्स बन्न चाहनेहरुले अरु ९ जना नक्कली सदस्यहरु बनाउनेसम्मका खेलहरु भए । नक्कली नाम र फोन नम्बर सहित बनाइएका यस्ता सदस्यहरु प्रमाणित गर्न खोज्दा सदस्यका फोन नम्बर भनी राखिएका नम्बरहरु अन्य देशका अज्ञात व्यक्तिका रहेको समेत पुष्टी भएको थियो । एनआरएन अमेरिकाको माताहतमा अमेरिकामा रहेका अन्य संगठनहरु पनि रहेकाले सन् २०१३ सम्म एनआरएन अमेरिका एनआरएन आईसीसीसँग सम्बद्ध अमेरिकामा रहेका नेपालीहरुको साझा संगठनका रुपमा भन्दा छाता संगठनको स्वरुपमा रहेको थियो । फलस्वरुप एनआरएन अमेरिका अमेरिकामा रहेका आम नेपालीहरुको संस्था हुन सकेन । त्यसैले यसको सदस्य बन्नमा अमेरिकामा रहेका नेपालीहरुको खास आकर्षण थिएन । ३ लाख नेपालीहरु रहेको अनुमान गरिने अमेरिकामा एनआरएनका सदस्यहरु शुन्य दशमलव २ प्रतिशत भन्दा पनि कम थिए । यस्ता रोगहरुबाट ग्रस्त एनआरएनको सन् २०१४ मा एकखालको उपचार सुरु गरियो ।
कसरी गरियो रोगको उपचार प्रयास ?
सन् २०१४ अर्थात् गतवर्ष एनआरएन अमेरिकाको रोगको उपचार प्रयास सुरु भए । रोगको एउटा जड अव्यवहारिक र अप्रतान्त्रिक विधान भएको निष्कर्ष निकालेर विधान संसोधन गरियो । विधानबाट अमेरिकामा रहेका अन्य नेपाली संघसंस्थाहरु एनआरएन अमेरिकाको सदस्य रहने प्रावधानलाई मात्र हटाइएन , नेतृत्व चयनका लागि १० जना सदस्य बराबर छानिने एकजना डेलिगेट्सको प्रणाली पनि खारेज गरियो । एनआरएन अमेरिकालाई पारदर्शी र प्रजातान्त्रिक बनाउन विधानमा अन्य कैयन प्रावधानहरु थपघट गरियो । संचारकर्मीहरु लगायत सबैको प्रयास र दवावमा एनआरएन अमेरिका कोठाबाट खुल्ला मैदानमा आयो । सबै साधारण सदस्यहरुले नेतृत्व चयनका लागि मतदान गर्न पाउने भए । नेतृत्व छनौटदेखि कार्यविधि संचालनमा देखिएको अलोकतान्त्रिक परिपाटीको रोगलाई उपचार गर्न विधान संसोधनका कारण एकहदसम्म सफलता पनि मिल्यो । सिमित व्यक्तिको घेराबाट एनआरएन अमेरिका एकहदसम्म मुक्त हुन सफल भयो ।
कस्ता रोगहरु थपिए ?
कोठाभित्र छँदा पनि रोगी अवस्थामा नै थियो यो । तर कोठाबाट बाहिर निस्केपछि एनआरएन अमेरिकाले केही पुराना रोगको केहीहदसम्म उपचार पाएको छ । तर नयाँ रोगहरु भने थपिएका छन् । एनआरएन अमेरिका कोठाबाहिर आएपछि निकै हदसम्म लोकतान्त्रिक त बन्यो तर यसमा राजनीतिक रोग भने डरलाग्दो तरिकाले बढ्न पुग्यो । नेपालका राजनीतिक दलमा आस्था राख्ने वा नेपालका राजनीतिक दलका कार्यकर्ताका रुपमा अमेरिकामा रहेकाहरुले एनआरएनभित्र पनि नेपालकै राजनीतिक प्रभाव कायम गर्नका लागि अनेकौं हत्कण्ठाहरु अपनाउन सुरु गरे । एनआरएन आईसीसीले प्रतिबन्ध लगाएको र विधानले निषेध गरेको नेपालको दलीय राजनीति एनआरएन अमेरिकाभित्र जर्बजस्त घुसेरै छाड्यो । यही दलीय राजनीतिको रोगका कारण आफू निकटका मान्छेहरु एनआरएनको नेतृत्वमा लैजानका लागि नेपालको राजनीतिक धङधङी बोकेकाहरुले हदैसम्मको प्रयास गरे । यो रोग सन् २०१४ मा भएको चुनाव अगाडि देखिनै मौलाउन सुरु गरेको हो ।
यही रोगका कारण आफ्नो पक्षमा मतसंख्या बढाउनका लागि उम्मेदवारहरुले हजारौं डलर खर्चेर अरुका नाममा सदस्य बनाउने, नक्कली सदस्यहरु बनाएर उनीहरुका नाममा आफैले मतदान गर्ने, आफूले बनाएका सदस्यहरु यतिको संख्यामा छन् भन्दै एकअर्काबीच बार्गेनिङ गर्ने, आफैले इमेल आईडी बनाएर अरुलाई सदस्य बनाउदै मतदानका बेला उनीहरुका नाममा आफैले बनाएको इमेल आईडीबाट मतदान गर्नेसम्मका हर्कतहरु सृजना भए । सन् २०१४ को चुनाव अगाडि बनेका ३ हजार ९ सय ८८ जना सदस्यहरुमध्ये आफ्नै इच्छाले र आफैले पैसा तिरेर बनेका सदस्यहरु निकै कम मात्र रहेका थिए । अधिकांशलाई उम्मेदवार वा उम्मेदवारका आसेपासेहरुले चिनेजानेका व्यक्तिका नाम र ठेगाना सोध्दै आफै रकम तिरिदिएर आफूखुशी सदस्य बनाइदिएका थिए । अझ कतिपयको त आफै इमेल आईडी बनाएर आफै मतदान गरिदिएका थिए । कतिपय व्यक्तिले त मैले यतिजना सदस्यहरु बनाएको छु, तपाईलाई भोट चाहिने हो भने मलाई त्यो बापत यति रकम दिनुस् भन्दै उम्मेदवारहरुसँग बार्गेनिङ समेत गरेका थिए । चुनाव जित्ने, हार्ने अधिकांश उम्मेदवारहरु गच्छेअनुशार यो हर्कतमा समावेश भए । जसले यस्तो हर्कतको मात्रा बढी गर्न सफल भयो, उसले चुनाव जित्यो, जसले यस्तो हर्कतको मात्रा कम गर्न सफल भयो, उसले चुनाव हा¥यो । तर केही उम्मेदवारहरु भने यस्तो हर्कतमा सामेल भएनन् । सन् २०१४ को चुनाव अगाडि नै मौलाउन सुरु गरेको यो रोग सन् २०१५ को चुनाव अगाडि ब्यापक रुपमा थामिनसक्नु भएर बढ्न पुग्यो । यस्ता हर्कतहरुमा नेपालको राजनीतिको धङधङी बोकेका व्यक्ति वा नेपालको राजनीतिक दलको मार्का लागेका संगठनहरुले यसपटक अझ बढी साथ दिए । फलस्वरुप सदस्य संख्या पनि गतवर्षको तुलनामा झण्डै तीनगुणा बढ्न पुग्यो । चुनाव जित्ने, हार्ने अधिकांश उम्मेदवारहरु गच्छेअनुशार यो हर्कतमा यसपल्टपनि समावेश भए ।
यो रोगको उपचारका लागि सदस्यता प्रमाणिकरण समिति वा निर्वाचन आयोग सफल हुन सकेन । निर्वाचन आयोगले सदस्यहरुको सुची र इमेल दर्ता गर्दै सिधापारामा सिम्पली भोटिङको सहायता लिएर चुनाव त गरायो तर त्यसभित्र भएका चलखेललाई बुझ्न नसक्दा वा वेवास्ता गर्दा अनलाइन भोटिङलाई विवादमुक्त बनाउन सकेन । कतिपय निर्वाचनका आयोगका आफ्नै सिमा र परिधिका कारण सम्भव भएन भने कतिपय विषयलाई आयोगले वेवास्ता गरिदियो । जसका कारण गलत काम गरिरहेकाहरुलाई प्रोत्साहन मिल्यो ।
अमेरिकाको एनआरएन एनसीसीमा अमेरिकी दम्भपनि थपिएको र मौलाएको अर्को प्रबृत्ति र रोग हो । एकातिर एनआरएन आईसीसी सम्बद्ध एनआरएन एनसीसी पनि भनिरहने अर्कातर्फ हामी अमेरिकामा दर्ता भएको संस्था भन्दै अमेरिकी दम्भ प्रस्तुत गर्ने प्रबृत्ति र रोगपनि एनआरएन अमेरिकाका लागि घातक छ । ‘हामी आईसीसी चिन्दैनौं, हामी अमेरिकामा अमेरिकी कानुन अनुशार दर्ता भएको संस्था हौं, हामी अर्को आईसीसी खोल्न सक्छौं’ जस्ता रुपमा समेत यो दम्भ प्रकट हुने गरेको छ । यही दम्भका कारण एनआरएन आईसीसी र एनआरएन अमेरिकाबीचको सम्बन्ध बेलाबेलामा चिसिने गरेको छ । एकातिर एनआरएन आईसीसीको गर्भबाट प्राकृतिक रुपमा जन्मन नसकेको एनआरएन अमेरिकाले पछि अभिभावक मानेको एनआरएन आईसीसीलाई अमेरिकी दम्भका कारण अभिभावकका रुपमा पूर्ण रुपमा स्वीकार्न नसक्दा एनआरएन आईसीसीले समेत एनआरएन अमेरिकालाई झड्केलो सन्तानकै रुपमा व्यवहार गर्ने खतरा बढ्दो छ । विधानत एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद्मा ओसियानाको पपुवा न्युगिनीको एनआरएन एनसीसीको जति हैसियत र अधिकार हुन्छ वा अफ्रिकाको घाना वा कंगोमा स्थापित एनआरएन एनसीसीको जति हैसियत र अधिकार हुन्छ , एनआरएन अमेरिकाको पनि आईसीसीमा हुने वैधानिक अधिकार त्यत्ति नै हो । तर पपुवा न्युगिनी वा घानाको एनआरएन एनसीसी जति स्वभाविक तरिकाले एनआरएन अमेरिकाको जन्म नभएको अवस्थामा अमेरिकी दम्भले थप दुरी बढाउने काम गरेको छ ।
विधानको हवाला
कुनै कुनै विषयहरु विधान वा कानुनले कल्पना गरेको हुँदैन । भविश्यमा यस्तो पनि होला भनेर कल्पना नगरिएका विषयहरु विधानमा समावेश नहुन पनि सक्छन् । व्यक्तिले आफै नैतिकता र विवेकाका आधारमा पनि कतिपय कामहरु गर्नजरुरी हुन्छ । अहिले कतिपय व्यक्तिले विधानका ‘लुप होल’ मा टेकेर विवेक र नैतिकतालाई धोती लगाउदै विधानमा यस्तो छैन र उस्तो छैन भन्ने गरेको पनि सुनिने गरेको छ । नैतिकता पालनाका लागि पनि विधान खोज्ने प्रबृत्तिलाई राम्रो मान्न सकिन्न । त्यो केबल मुर्खतामात्र हो । घरभित्र कता ओछ्यान राख्ने र कता सोफा राख्ने भन्ने कुरा सरकारको कानुनले तोकेको हुँदैन, कानुनले तोकेको छैन र सरकारले थाहा पाउँदैन भनेर कसैले ट्वाइलेटमा ओछ्यान बनाएर सुत्छ भने त्यो मुर्खतामात्र हो । कतिपय निर्णयहरु विवेकका आधारमा व्यक्तिले आफै गर्नुपर्छ । कागजमा लेखिएका हुँदैनन् । कागजमा खोज्ने हो भने विधानमा अस्पष्ट भएका विषयमा ब्याख्या गर्ने अधिकार छुट्टै कमिटिलाई छ ।
रोगको उपचार जरुरी
एनआरएन अमेरिकामा लागेका यस्ता सबै रोगहरुको यथाशीघ्र उपचार जरुरी छ । अनिमात्र स्वस्थ्य एनआरएन अमेरिका सकृय रुपमा अगाडि बढ्न सम्भव छ । रोग त दुईवर्ष अगाडि नै लागेको हो, हामीले किन उपचारमा सहयोग गर्ने भनेर कसैले तर्क गर्छ भने त्यो मुर्खता मात्र हो । रोग जहिले लागेपनि रोग फैलिन नदिन जतिसक्दो छिटो उपचार जरुरी छ । अन्यथा रोग अझ फैलिदै जाने छ । यो चुनावसम्म आईपुग्दा दुईगुणा बढेको रोग अर्को चुनावसम्म पुग्दा अझ चारगुणा बढ्न सक्छ । यो रोगको उपचार बेलैमा नभए अर्को पनि चुनाव लड्नेहरुले पनि यही विधि अपनाउनेछन् वा अपनाउन बाध्य हुनेछन् । त्यसैले उचित विधिका साथ रोगको उपचार गर्न सबै सरोकारवालाहरुले सहयोग गर्न जरुरी छ । रोगको उपचारका लागि औषधी खुवाऔं, विष होइन । मात्रा मिलाएर खुवाऔं, ओभरडोज होइन ।
(शैलेश श्रेष्ठ र डाक्टर तारा निरौलाको सहयोगमा)














प्रतिक्रिया