पैसा र शक्तिको घमण्डले मान्छेमा उन्माद थप्छ । तर, अर्बपति शेष घलेकी आमा देबीमाया घलेबाट यसको कुनै गन्ध भेटाउन सकिँदैन ।
लमजुङ घलेगाउँको बसाईँ अवधि एक दिन बाँकी थियो । सुनेँ, शेष घलेकी आमा आउँमै बस्छिन् । एक छिन्, विश्वास गरिन । विश्वासका प्रशस्त आधार भेटिएपछि, मलाई देवीमायालाई भेट्न हतार हुन थाल्यो । आखिर किन गाउँमा ? मेरा मनमा यस प्रश्नका अनगिन्ती अनुमानहरु प्रतिस्पर्धामा ओइरिए । उनको गाउँ पुग्न १५ मिनेटको पैदलयात्रा गर्नुपर्दो रहेछ । झमक्क साँझ परिसकेको थियो । अर्को दिन सबेरै पुग्ने निधो गरेँ ।
देबीमाया कहिले पतिलाई सम्झेर भक्कानिन्थिन, त कतिबेला शेष घलेलाई । हुन त उनलाई गाउँमै बस्न मजा छ । तर, साहरा नहुँदा उनको मन पोलिरहन्छ ।
खासमा देवीमायाको घर घलेगाउँ नै हो । तर उनी नायुँमा बसिन्, पतिको साथमा । किनकी देवीमायाको दाजुभाई थिएनन् । चल्तीको भाषामा भन्दा उनका पति (शेष घलेका बाबु) घरज्वाईँ बसेका थिए । अघिल्लो दिन यतिसम्म थाहा लाग्यो ।
हुस्सुको पछ्यौरीभित्र थियो, नायुँ । सूर्य माथिसम्मै आइपुग्नु पर्ने हो । तर, त्यसको किरणहरु हुस्सुभित्रै गायव थिए । गाउँका सबै घरटिनका पाताले ढाकेका छन् । देवीमायाको घर पनि टिनकै छ । गाउँमै भए पनि राम्रैसँग ढलान गरिएको छ ।
देवीमायाको घरमा तगालो होइन्, गेट थियो । गेटबाट टाउको छिराउनसाथ बुढी आमालाई देखिहालेँ । ती बुढीआमा देवीमाया हुन् भन्ने ठम्याउन गाह्रो परेन ।
होचो कदकी देवीमायाले घरको खामोमा कुम टेकाएकी थिइन् । आँखामा चस्मा । फुलेका केश मजेत्रोले ढाकिएका थिए । भोटोमाथि बख्खु । घाँटीमा सुनको ठूलै चेन थियो । कक्रक्क परेका दुई हात जोडिएका थिए । लामो समयसम्मै ती हात छुटेनन् । बुढी आमाको सम्मान देखेर दंग परे ।

घलेगाउँका सुत्रधार तथा समाजसेवी प्रेम घलेको सहारामा म नायुँसम्म पुगेको थिएँ । साथमा थिए, केही स्थानीय पत्रकारहरु । सबैको स्वागतका लागि उनको हात लामो समयसम्म छुटेनन् ।
आँगनमा प्लास्टीकका कुर्सीहरु हाजिर भैसकेका थिए । म भने आमासँग कुरा गर्न हतारिदैँ थिएँ । आमा भने पाहुनालाई चिया पिलाउन व्यस्त । उहाँले थालभरी चिया राखेर ढोकाबाट बाहिर निस्कनुभयो ।
सुरप्प पारेँ, त्यो त कफी रहेछ । आमाले सोध्नुभो, ‘चिनी कम भयो होला है ? कफीमा धेरै चिनी राम्रो हुँदैन भनेर कम हालेकी !’ आमाले औपचारिकता मात्र निभाउनु भएको रहेनछ । म फेरि दंग परे ।
मलाई कफीभन्दा पनि आमासँगको कुराकानीमा बढी चाख थियो । कुराकानी थालिहालेँ । स्थानिय पत्रकारले फोटो र रेकर्डर ठीक पारे । म देवीमायासँग गफिरहेँ ।
देबीमाया कहिले पतिलाई सम्झेर भक्कानिन्थिन, त कतिबेला शेष घलेलाई । हुन त उनलाई गाउँमै बस्न मजा छ । तर, साहरा नहुँदा उनको मन पोलिरहन्छ । उनले जीवनका अधिकांश कुराहरु खुलेरै भनिन् । सायद मनभित्र उकुसमुकुस भएका भावनालाई पोखेर आफुलाई हल्का पार्न चाहन्थिन् । जुन यसअघि नै दैनिक नेपालमा ‘अर्बपति शेष घलेकी आमाले रुँदै भनिन्, म संसारकै अभागी रहेछु’ भनेर यस अघि प्रकाशित भैसकेको छ ।
मैले फोटो खिच्न आग्रह गरेँ । क्यामेरा नतेर्साउँदै कुर्सीमै बसेर नमस्कारको आकारमा हात जोडिन् । सायद उनलाई पत्रकारले फोटो खिच्दा नमस्कार गर्न सिकाइको छ । मैले भनेँ– नमस्कार गर्न पर्दैन आमा ! हात तल राखे पनि हुन्छ । उनले आज्ञाकारी बालकले झै कक्रिएको हात लुरुक्क झारिन् ।

कफी चिसो भैसकेछ । काठमाडौंमा भएको भए गर्मीले पनि तातै रहन्थ्यो होला । आमाले आग्रह गर्नुभयोे, ‘चिसो भयो होला खाऊ बाबु ।’ चिसो कफी के पिउनु र !
खाजामा गहुँको पुरी, लस्सीको अचार । अचार पनि देबीमायाकै श्रमले बनेको रहेछ । सोधँे, ‘दिन काट्न गाह्रो छ होला हगी ?’ उनी नबोल्दै उनको जेठो ज्वाईँले मुख फोरे, ‘उहाँ त एकछिन् बस्नुहुन्न । काम गरिराख्नु पर्छ । केही काम नभए, वरपर हिँडेर पनि दिन काट्नु पर्छ ।’
झोला कुममा भिरेँ, घाँटीमा क्यामेरा । अनि आमासँग हाँस्दै ठट्टा गरेँ, ‘अर्कोपटक आउँदा मलाई चिन्नुहुन्छ नि ?’ रेसाले ढाकिएको देवीमायाको मुखबाट भने गम्भीर भाव निस्कियो, ‘बाबु, खै त्यतिबेलासम्म त मरिन्छ की बाँचिन्छ ।’ म हिँडे ।
आमाले भन्न भुल्नुभएन, ‘स्कुल हेरेर जानु न ।’ ती बुढी आमालाई स्कुलको कति माया ! उक्त स्कुल उनकै छोरा शेषले ४० लाखको लगानीमा निर्माण गरिदिदैँ छन् । त्यही दिन हामी बेशीसहर आइपुग्यौँ ।














प्रतिक्रिया