काठमाडौं । एकोहोरो प्रेममा परेका दर्शकका लागि उपहार भन्दै नायक तथा निर्माता कपिल खत्री नयाँ फिल्म निर्माण गरेका छन् ।
एकोहोरो मायाप्रेम र त्यसको परिणाम तथा एकोहोरो मायाप्रेमले निम्त्याउने घटनालाई देखाएर नायक तथा निर्माता खत्रीले ‘वान साइड लभ’को निर्माण गरेका हुन् । फिल्म ‘वान साइड लभ’ आउँदो असार १८ गतेबाट देशभर एकसाथ प्रदर्शन हुँदैछ ।
करिब ३२ लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्र ‘वान साइड लभ’ परिवारका सबै सदस्यले सामुहिक रुपमा हेर्न मिल्ने नायक तथा निर्माता खत्रीले बताए । ‘हामीले मुख्यतया एकतर्फी मायाको कथा र कमेडी मिक्स गरेर फिल्म बनाएका हौं, यो चलचित्र परिवासँगै बसेर हेर्न मिल्छ साथै टिनेजरका साथीहरुका लागि शिक्षाको माध्यम पनि बन्ने आशा गरेका छौं ।’
चलचित्रको शुटिङ धादिङ र काठमाडौंमा गरिएको हो । असार १८ बाट प्रदर्शनमा आउन लागेको चलचित्र नेपालका ६० भन्दा बढी हलमा प्रदर्शन हुँदैछ । भूकम्पले मानिसको खुसी, मनोरञ्जन खोसेकाले चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने नायक तथा निर्माता खत्रीको विश्वास छ ।
‘माया प्रेम नपाइराखेको बेला दर्शकले पूर्ण रुपमा हेर्छन् भन्ने विश्वास छ,’ उनले भने । चलचित्रमा नायक तथा निर्माता कपिल खत्री, नायिका सविना कार्की, राज सोनाम, सुशील पाखरेल मुख्य भुमिकामा देखिएका छन् । यसअघि चलचित्र ‘वान साइड लभ’ जेठ ८ गते प्रदर्शनमा आउने तयारी थियो ।
तर, वैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण फिल्मको प्रदर्शन मिति सरेको थियो ।
















प्रतिक्रिया