अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियामा नयाँ नेतृत्वका लागि हुन लागेको निर्वाचनको मतदान प्रणालीमा विवाद भएको छ ।
नयाँ नेतृत्वका लागि निर्वाचन नजिकिदै गर्दा एनआरएनए अष्ट्रेलियामा मतदान ईलेक्ट्रोनिक्स अर्थात कम्प्यूटरको सहायताले विद्युतिय प्रविधिबाट गर्ने की कागजी मतपत्र प्रयोग गरी गर्ने भन्ने विषयमा विवाद बढेको हो ।
एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय तथा राज्य समन्वय परिषद्को निर्वाचन आगामी जुलाई चार तारिखका दिन अष्ट्रेलिया भरी हुँदैछ । एनआरएनए अष्ट्रेलियाको निर्वाचन प्रक्रिया हाल विद्युतीय प्रणालीबाट मतदान हुँदै आएको छ ।
विद्युतीय प्रणाली सुरु भएदेखि विरोध गरिरहेको सुरेन्द्र सिग्देलको नेतृत्वमा रहेको समूहले अहिले पनि उक्त विरोधलाई कायमै राख्दै कागजी मतदान हुनुपर्ने माग राख्दै आएका छन् ।
अष्ट्रेलियामा दुई वर्ष अघिदेखि विद्युतीय प्रणालीबाट एनआरएन निर्वाचनमा मतदान हुँदै आएको छ । यसअघि निर्वाचन समितिले सबैको सहमतिमा वैज्ञानिक कम झन्झटिलो र मितव्ययी पद्दती भएकाले विद्युतीय प्रणाली निर्वाचन गर्ने निर्णय गरेको थियो ।
आफ्नो समूहभित्र आन्तरिक मतभेदले निर्वाचनमा पराजय हुने स्थितीमा सिग्देल समूहले आफ्नो पक्षका भनिएका मतदाताले मत कहाँ हाले भन्ने छुट्याउन सहज हुने भएकाले जति झण्झटिलो, असुरक्षा र अप्ठेरो भएपनि खर्च बढी हुने भन्दै कागजी मतदान पक्रियाको पक्षमा उभिएको स्रोतले जानकारी दिएको छ ।
तर कागजी मतदानको तुलनामा विद्युतिय पद्दती भरपर्दो, सुरक्षित, विश्वासिलो तथा कम खर्चमा सम्पन्न हुने निर्वाचन विज्ञ तथा अनुभवीहरुको दावी छ ।
एनआरएनए अष्ट्रेलियाको आगामी निर्वाचनमा केन्द्रिय नेतृत्व सहित विभिन्न आठ वटा राज्यका छुट्टा छुट्टै स्थानीय नेतृत्व तथा एनआरएनएको भगिनी संस्था नारी निकुञ्ज र अष्ट्रेलियाबाट आईसिसि सदस्यगरी करिब एकसय तीस पदकालागि मतदान हुँदैछ ।
ती पदकालागि पदभन्दा झण्डै दोब्बर संख्यामा उमेद्दवारी दर्ता भएका छन् । मतदानमा अष्ट्रेलियामा सदस्यता दर्ता भएका पाँचहजार आठसय उन्नाईस गैह्र आवासिय नेपालीहरु सहभागी हुन पाउने छन् ।
नयाँ नेतृत्वका लागि सिग्देल समूह सँगै वर्तमान समितिका सचिव भरत पोख्रेलको अध्यक्षतामा रहेको समूह र अर्का अध्यक्षका प्रत्यासी ऋषि कँडेल र केही अन्य पदका उमेद्दवार हरु आ आफ्नै तरिकाले चुनावमा प्रतिष्पर्धा गर्दै छन् ।
सिग्देल पक्षको वकालत गर्ने समूहले आन्तरिक खिचातानीले आफ्नै पक्षका भनिएका तर असन्तुष्ट भई मत नपाईने सम्भावना रहेका मतदातालाई दवाव दिन पाईयोस् र चुनाव हार्ने अवस्थामा कागजी मत गणनाका क्रममै पनि विभिन्न बखेडा झिकेर विवाद गर्न सकियोस् भनेर वैज्ञानिक र निष्पक्ष मानिएको विद्युतिय भन्दा कागजी मतदानको पक्षमा रहेको जानकारहरु दावी गर्छन् ।
त्यसो त कागजी मतदान कम खर्चिलो हुने भन्दै अध्यक्षका प्रत्यासी सुरेन्द्र सिग्देलको उमेद्दवारीपत्रमा समर्थक रहेका ज्ञानेन्द्र रेग्मीले आफ्नो फेसबुक पेजबाट ईलेक्ट्रोनिक्स पद्दतीको विरुद्ध क्याम्पियन गरेका छन् ।
तर यति धेरै पदका लागि झण्डै दोब्वरको संख्यामा रहेका उमेदवारको मतदान प्रक्रिया कागजी मतपत्र प्रयोग गर्दा भन्दा कम्प्यूटरको माध्यमबाट ईलेक्ट्रोनिक्स मतपत्रमा मतदान गर्दा वैज्ञानिक भरपर्दो र विश्वासिलो हुने बताईएको छ ।
कागजी मतपत्र पद्यतीमा कागज छपाउने खर्च , मतपेटिका बनाउने तथा टाढा टाढा रहेका मतदानकेन्द्रमा पुर्याउने र गणनाकालागि सुरक्षित स्थान सम्म फर्काउने खर्च ,मत गन्न लाग्ने समय, निर्वाचनमा लाग्ने जनशक्ति, सुरक्षा खर्च, तथा मतगणना गर्ने व्याक्ति र स्थानको सुरक्षाकालागि अष्ट्रेलियाको कानुन अनुसार पुर्याउनु पर्ने उचित व्यावस्था गर्न लाग्ने लगायतका खर्चको तुलनामा विद्युतिय पद्दती निकै किफायती, पारदर्शी, व्यक्तिगत गोपनियता, सुरक्षित तथा भरपर्दो भएको अघिल्लो पटक एनआरएनए अष्ट्रलियाकै निर्वाचनले पुष्टी गरेको अधिकाँशको अनुभव छ ।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन समितिका अनुसार अमेरिका, वेलायत तथा अष्ट्रेलिया लगायतका मूलुकहरुमा सफल तथा सुरक्षित तवरले विभिन्न निर्वाचन गराईसकेको विद्युतीय निर्वाचन प्रदायक संस्था बिग प्लसको अत्याधुनिक प्रविधिमा एनआरएनए अष्ट्रेलियाको निर्वाचन गराईने छ । सो प्रविधीको सहयोगमा हालसम्म विश्वभर एकलाख भन्दा बढि मतदान केन्द्रमा तीसहजार वटा सफल र सुरक्षित निर्वाचन गराईसकेको विग प्लसले उल्लेख गरेको छ ।
यी निर्वाचनहरुमा विश्वभरका बाह्र मिलियन भन्दा धेरै मतदाता सहभागी भैसकेका छन् ।
उक्त प्रविधि अनुसार मतदाताको गोपनियता ,मतको सुरक्षा तथा विश्वासनियताका आधार मुख्य विशेषता रहेका छन् । जसका कारण थोरै जनशक्तिको परिचालनमा मतदान सकिएको दुई घण्टा भित्रै मतपरिणाम सार्वजनिक हुनेछ ।
यो पद्दतीमा हरेक मतदातालाई छुट्टा छुट्टै पिनकोड बाट मतदानकेन्द्रमा उपलब्ध कम्प्यूटरमा मतपत्र पेज खोली आफूले चाहेको उमेद्दवारलाई मतदाताले भोटहाल्न पाउने छन् । यसो गर्दा कागजी मतपत्रमा जस्तो एउटै व्याक्तिले कुन कुन उमेद्दवार र पक्षलाई भोट दिएछ भन्ने गोपनियता नखुल्ने र हरेक उमेद्दवारको भोट सोझै आफ्नो खातामा गई अटोमेटिक रुपमा जम्मा हुनेछ ।
यसको पर्यवेक्षण जो कोहीले पनि स्क्रीनमा गर्न सक्छन् जुन स्वचालित हुन्छ । मतदान अवधिभर कुल खसेको मतसँख्या मात्र प्रविधीले देखाउँछ भने मतदान सकिएपछि परिणामको चरणमा मात्र मतदान भएको मतमध्ये कसले कति मत पाए भन्ने सँख्या सोझै कम्प्यूटरमा देखिन्छ । एनआरएनए अष्ट्रेलियामा निष्पक्ष चुनाव चाहने समुदाय पनि विद्युतिय मतदानको पक्षमा रहेका अधिकाँश उमेदवारहरुको भनाई छ ।
कसले कसलाई भोट हाल्यो वा कुन ठाउँबाट कसलाई कति भोट खस्यो भन्ने तथ्याँङक गोप्य रही कुल परिणाम मात्र सार्वजनिक हुनेभएकालेपनिे निष्पक्ष चुनाव पक्षधरहरुले विद्युतिय प्रविधीको मतदान हुनुपर्ने माग गरेका छन् ।
नेपाल लगायत अल्पविकसित मूलुकमा समेत लोकप्रिय हुँदै गएको र विकाशशिल देशहरुले पूर्णरुपमा अबलम्वन गर्दै आएको अत्याधुनिक प्रविधीयूक्त निष्पक्ष र विश्वासिलो विद्युतिय मतदान प्रक्रिया नमानी कागजी प्रणालीको पक्षमा आवाज उठाउँ भन्नेहरु अनैतिक स्वार्थसिद्दीमा जुटेको पुष्टी हुने स्थानीय मतदाताहरुले वताए ।















प्रतिक्रिया