काठमाडौं । राष्ट्र बैंक र प्रहरीकै मिलेमतोमा डलरको तस्करी बढेको छ । राष्ट्र बैंक र प्रहरीसँग सेटिङ मिलाएर एक गिरोहले ठूलो मात्रा डलर चीनमा तस्करी गर्दै आएको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
ठमेलमा अवैध रुपमा डलर साटेर चीनमा तस्करी गर्दै आएका चिनियाँ युवती याइ होङलाई अवैध अमेरिकी डलर चिनियाँ युयानसहित गत आइतबार विमानस्थल प्रहरीले पक्राउ गरेको थियो ।
चलाखीपूर्वक सुटकेसको डण्डीभित्र रोल बनाएर लुकाईछिपाई चीन तस्करी गर्न लागेको ९८ हजार ५ सय अमेरिकी डलर, २० हजार ५ सय २० चाईनिज युयान र १३ हजार १ सय १५ नेपाली रुपैयाँ सहित उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेकी होङको परिवारले पानीपोखरीमा एक अपार्टमेन्ट भाडामा लिएको र सोही अपार्टमेन्टबाट अवैध धन्दा गर्दै आएको अनुसन्धानमा खुलेको छ । उनका दाई भाउजु उक्त अपार्टमेन्टमा बस्दै आएका थिए ।
दाईले नै आफुलाई उक्त बिदेशी मुद्रा चीन पठाउन भनेको सोधपछुमा होङले बताएकी छिन् । तर उनका दाई हाल चीनमा रहेको पक्राउ परेका छैनन् । उनको अपार्टमेन्टमा छापा हानीएको तर केही फेला पर्न सकेन ।
गत १२ चैतमा चिनिया महिला हिङ लुलाई विमानस्थल प्रहरीले अवैध डलरसहित पक्राउ गरेको थियो । १ लाख १३ हजार २ सय ५० अवैध डलरसहित उनलाई पक्राउ गरेको थियो । उनी बिजनेश भिषामा नेपालमा रहेको र अवैध व्यापारबाट कमाएको रकम डलर साटेर लैजान खोजेको अनुसन्धानमा खुलेको थियो ।
सडकमार्ग भएर तातोपानी नाका हँदै डलर तस्करी गर्ने क्रममा पनि चिनियाँहरु पटक पटक पक्राउ पर्दै आएका छन् । जसमा ठमेल तथा सुन्धाराका मनि एक्सचेञ्जहरुको मसेत संलग्नता छ ।
चिनियाँहरुले मनि एक्सचेञ्ज तथा होटलहरुमा वास्तविक मूल्य भन्दा धेरै तिरेर डलर किन्ने गरेका छन् । स्रोतका अनुसार धेरैजसो कारोबार ठमेलका मनी एक्सचेञ्जबाट हुने गरेको छ ।
कारोबारको विवरण नराखी मनि एक्सचेञ्जहरुले डलरको कारोबार गर्दै आएका छन् । गत भदौ र मंसिरमा राजश्व अनुसन्धान विभागले एक दर्जन मनि एक्सचेञ्जमा छापा हानेको थियो । अनुसन्धानको क्रममा धेरैको हिसाब विवरण यथार्थ नभएको र स्रोत नखुलेको बिदेशी मुद्रा समेत बरामद भएको थियो ।
मनि एक्सचेञ्जमा नियमन गर्ने काम राष्ट्र बैंकको भएपनि राम्रोसँग नियमन हुने गरेको छैन । जसले गर्दा बिदेशी मुद्रा अवैध रुपमा बाहिरिने गरेको छ, जसले देशको बिदेशी मुद्रा सञ्चितीमा असर पुग्ने गरेको छ ।
अमेरिकी डलर भित्राएर आफ्नो अर्थतन्त्र बलियो बनाउने रणनीतिमा चीन लागेकाले नेपालबाट महंगोमा अमेरिकी डलर किनेर उनीहरुले लैजाने गरेका छन् । अवैध रुपमा हुने कारोबारको रकम पनि यसरी चीनमा जाने गरेको छ ।
राजश्व अनुसन्धान विभागले भदौ १६ गते विभिन्न मनी एक्सचेञ्जमा छापा हानेपछि हालसम्म कारबाही हुन सकेको छैन । अर्थमन्त्रीको दबाबमा उनीहरुलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ ।
ठमेलका अल्पाइन ट्राभल, वेलकम मनि ट्रान्सफर, न्यू अन्नपूर्ण मनि ट्रान्सफर, माउन्टेन मनि ट्रान्सफर र माउन्ट एभरेष्ट मनि एक्सचेञ्जलगायतमा छापा हानेर ठुलो मात्रामा बिदेशी मुद्रा बरामद भएको थियो ।
तर उनीहरुमाथि कारबाही हुन सकेको छैन । ती मनि एक्सचेञ्जहरुले केही प्रहरी अधिकारीहरुलाई समेत प्रभावमा पारी अवैध कारोबार गर्दै आएका छन् ।















प्रतिक्रिया