काठमाडौ, असार १ गते । नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक रुपैयाँ सहयोग गरेको छ ।
महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला समक्ष, अर्थमन्त्री डाक्टर रामशरण महतसमेतको उपस्थितिमा एक करोड एक रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
चेक हस्तान्तरणपछिको संक्षिप्त कार्यक्रममा प्रधानमन्त्री कोइरालाले महाभूकम्पपछिको चुनौती वर्तमान सरकारले पार लगाएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । महाभूकम्पले ल्याएको महाविपत्तिसँगै राहत तथा पुर्नस्थापनामा नेपालीहरुले देखाएको एकता विश्वका लागि उदाहरणीय भएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।
छिट्टै आफुले आपतकालीन् बैठक डाँकेर पर्याप्त राहत नपुगेको देशका दुर दराजमा पुर्ननिर्माण कार्यलाई समेत तीव्र पार्ने जानकारी प्रधानमन्त्री कोइरालाले दिनुभयो । कोइरालाले आफ्नै नेतृत्वको सरकारले छिट्टै लोकतान्त्रिक संविधान समेत जारी गर्ने बताउनुभयो ।
अर्थमन्त्री डाक्टर रामशरण महतले निर्माण व्यवसायीहरुलाई व्यवसायीक दक्षता वृद्धि गर्न सल्लाह दिँदै सरकार व्यवसायीलाई जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । व्यवसायीहरुकै पक्षमा हुने गरी सरकारले सार्वजनिक खरिद ऐन अध्यादेश मार्फत संसोधन गरेको जानकारी दिँदै डाक्टर महतले व्यवासायीहरुसँगै सबै नेपाली मिलेर दिनरात निर्माणकार्यमा जुट्ने बेला आएको बताउनुभयो ।
महासंघका अध्यक्ष शरदकुमार गौचनले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा नै मुलुकमा सार्थक पुर्ननिर्माणको थालनी हुने विश्वास व्यक्त गर्दै उहाँकै नेतृत्वमा लोकतान्त्रिक संविधान जारी होस् भनी शुभकामना व्यक्त गर्नुभयो ।















प्रतिक्रिया