काठमाडौं, १ असार । प्रचलित ज्योतिष परम्परा अनुसार बुधबारदेखि एक महिनासम्म अधिकमास पर्दछ। ज्योतिषशास्त्रका अनुसार अधिमास भन्नाले ‘जुन चन्द्रमासभित्र सूर्य संक्रान्ति पर्दैन’ त्यसलाई भनिन्छ । त्यस्तै, जुन चन्द्रमासभित्र २ वटा सूर्य संक्रान्ति पर्दछ, त्यसलाई क्षयमास भनिन्छ । अधिकमास हरेक ३२ महिना, १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा ४१ वर्षमा एक पटक पर्दछ ।
सनातन हिन्दु धर्म, संस्कृति परम्परा सम्बन्धी विभिन्न धार्मिक ग्रन्थहरू एवं ज्योतिषशास्त्रका अनुसार हाम्रो समाजमा सौरमास र चन्द्रमासका गरी र थरी पञ्चाङ्गहरू प्रचलनमा आएका छन् । सूर्यको गतिअनुसार गणना गरिने मासलाई (महिना) सौरमास भनिन्छ भने चन्द्रमाको गतिको आधारमा गणना गरिने मासलाई चन्द्रमास भनिन्छ ।
सामान्यतया सौरमासमा संक्रान्तिदेखि मसान्तसम्ममा २९ दिनदेखि ३२ दिनसम्मको एक महिना हुन्छ भने चन्द्रमासमा एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट र २४ सेकेन्डको एक चन्द्रमास हुन्छ । त्यस्तै सौरमासको गणनाअनुसार एक वर्षमा जममा ३६५ दिन हुन्छन् भने, चन्द्रमासअनुसारको दिन गणना गर्दछ ३५४ दिन मात्र हुन्छ ।
सौरमासको र चन्द्रमासको दिन गणनाअनुसार ११ दिन बढी सौरमास अनुसारको वर्षमा हुने गर्दछ । यसरी गणना गर्दा ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेर पुगेपछि एक अधिकमासबाट अर्को अधिकमास पर्दछ वा आउँछ । यस क्रमले हरेक वर्षमा ११ दिनको फरकलाई जोड्दै जाँदा आउने ३० दिनलाई १ महिना मानी सौरमास र चन्द्रमासको समय समायोजन गरिएको पाइन्छ । त्यस महिनालाई अधिमास अथवा मलमास वा पुरुषोत्तममास भन्ने गरिएको पाइन्छ ।
के गर्ने, के नगर्ने ?
हाम्रा धर्मशास्त्र, पुराण, ज्योतिषशास्त्र, संस्कृति, परम्पराअनुसार अधिकमासको महिनामा कतिपय कार्यहरू गर्न हुने र कतिपय कार्यहरू गर्न नहुने भनी उल्लेख भएको पाइन्छ । यस सम्बन्धमा कतिपय अन्योलहरू हटाउनको लागि शास्त्रसम्मत आधारमा निम्नलिखित कुराहरू यहाँ उल्लेख गरिएको छ । अधिकमासमा गर्न हुने कार्यहरू निम्नअनुसार रहेका छन्
धर्मशास्त्रमा उल्लेख भएका केही तथ्यहरूका आधारमा अधिकमासमा दैनिकरूपमा गरिने नित्यकर्म, सन्ध्याकर्म, सन्ध्या बन्छन, नित्य हवन, नित्य अग्निहोत्र, नित्य श्राद्ध, मुमुषुका लागि गरिने ग्रहशान्ति, आतुरदान जस्तै मानिसको मृत्युको अन्तिम अवस्थामा गरिने दस दान आदिकर्म, अशौच (जूठोबार्ने) कर्मम्बन्धी सबै कार्यहरू (जूठो परेपछि चोख्याउन गरिने कार्यहरू) शान्ति गर्ने, जप, हवन, पूजा, नयाँ वस्त्र धारण, मासिक कर्म, उनमासिक कर्म, शान्ति पाठ गरुड पुराण वाचन, श्रवण, आदि पर्दछन् ।
यस्तो अधिकमास, मलमासभित्र बिग्रेका अथवा भत्केका जीर्ण घर, मन्दिर पुल, निर्माण संरचनाहरू, मूर्तिहरू, नष्ट, बिग्रेका मूर्तिहरूको प्राणप्रतिष्ठा तत्कालै मर्मत वा जीर्णोद्धार वा पुनः निर्माण गठर्नुपर्ने अवस्था परेमा कुनै बाधा, अवरोध, निषेधको नियम लाग्दैन, कार्य गरे हुन्छ ।
तत्कालै निर्माण, जीर्णोद्धार, मर्मत, प्राणप्रतिष्ठा गर्नुपर्दछ रोक्नु हुँदैन । त्यस्तै गर्भाधान, न्वारान, अन्नप्रासन (पास्नी) आदि नियमित संस्कारका कार्यहरू पनि गर्नुहुन्छ । त्यसैगरी, नियमितरूपमा गर्दै आएका औँसी, पूर्णमा, एकादशी प्रदोषव्रत, पञ्चम, अष्टमी, तिथि, बारका व्रत, उपासना, जूठो, सुतक, स्नान बार्ने कार्य र चोख्याउने कार्यहरू आदि गर्न हुने कार्यमा पर्दछन् । यस अर्थमा नियमितरूपमा गरिने, गर्दै आएका कार्यहरू र आकस्मिक एवं आपत्कालीन रूपमा गरिने र परिआउने कार्यहरू पनि गर्न हुने कार्यहरू अन्तर्गत पर्ने आउँछन् ।
हाम्रो सनातन हिन्दूधर्म, पम्परा, संस्कृतिका अनुसार कुनै मानिसको जन्म अथवा मृत्यु अधिक मासमा भएको अवस्थामा अधिकमासको जुनपक्ष र जुन तिथिमा परेको छ शुद्ध महिनाको त्यहीपक्ष र सोही तिथिमा गरिनुपर्ने प्रमाण पाइन्छ । क्षयमासको लागि भने शुल्क पक्षको भए पहिलो महिनामा कृष्ण पक्षको भएपछिको महिनामा सोहीतिथिमा गरिने प्रचलन रही आएको छ ।
अधिकमासको जुन पक्षमा जन्म वा मृत्यु भएमा (अगाडिको पूर्वाद्धमा) सोही तिथिमा जन्म मृत्यु अगाडिको शुद्ध महिनामा मनाउने र त्यस्तै अधिकमासको उत्तराद्र्धमा जन्म वा मृत्यु भएमा पछिल्लो शुद्ध महिनाको सोही पक्ष र तिथिमा हुने, मनाउने कुरा शास्त्रीय प्रमाणहरू रहेका पाइन्छन् ।
अधिकमासमा गर्न हुने कार्यहरू जस्तै गर्न नहुने कार्यहरू पनि धेरै नै रहेका छन् अर्थात् शास्त्रले गर्न निषेध गरेका कार्यहरू पनि धेरै नैछन् । यस अन्तर्गत विशेष, पूजा पाठ, जप, हवन, शुभकार्यहरू, गरिँदैनन् र शुभ मूहूर्तहरू पनि अधिक मासमा पर्दैनन् । त्यस्तै नयाँ घरको शिलान्यास, निर्माण, गृह प्रवेश उद्घाटन घर, मन्दिर, संरचना निर्माण कार्यहरू, शिलान्यासशका कार्यहरू, उद्घाटनका कार्यहरू, नयाँ व्रत, अनुमान, आरम्भ र समापन गर्दैनन् ।
त्यस्तै उपाकम, वार्षिक श्राद्ध, (एकोदिष्ट श्राद्ध) व्रतबन्ध उपनयन, चुडाकर्म, विवाह आदि शुभकार्यहरू तथा माङ्गलिककार्यहरू, शुभसंस्कार, आतुर सन्यासबाहेक सन्यास स्वीकार (मानिसहरू मृत्युको अन्तिम अवस्थामा सन्यास लिने स्वीकार्ने, सन्यास दिने मन्त्र दिएर सन्यास बनाउने वा स्वेच्छाले सन्यास ग्रहण, लिने कार्य आदि) गरिँदैन । त्यसैगरी वृषोत्सर्ग र विवाह भएको पहिलो वर्षका पटकका पति, पत्नी (श्रीमान, श्रीमती)हरू पनि अधिकमासमा एकै घरमा सँगै बस्ने कार्य आदि पनि शास्त्रले निषेध गरिएको छ ।
सूर्य भगवानको आराधना पूजा, पाठ, जप आदि गर्नाले व्यक्तिगत एवं सामूहिक कल्याण हुनेछ भनेर अधिकमासको अवधि प्राय मानिसहरू विष्णु, सूर्यको दर्शन पूजा पाठ गर्ने गर्दछन् । यसरी पूजा पाठ, आराधना गर्नाले सबैको कल्याण हुनेछ भनी पुरुषोत्तम महात्म्यमा उल्लेख भएको पाइन्छ । (ज्योतिश्म्यागेजिन)














प्रतिक्रिया