– बिकासराज न्यौपाने
अमेरिका, १ असार । अमेरिकाको कोलोनीमा आफ्ले सञ्चालन गरेको स्टोरमा हत्या गरिएकी नेपाली चेली समीरा शिवाकोटीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै अन्त्येष्टि गरिएको छ ।
गत बुधबारदेखि ड्यालसमा रहेका नेपालीहरु शोकमा डुबेका छन् । सिंगो नेपाली समाजमाथि बज्रपात परेको छ । एउटा अकल्पनीय घटनाले रसाएका आँखाहरू क्रन्दनमै परिणत भए । कसैको मन थामिएन ।
गत बुधबार एक लुटेराले आफैले सञ्चालन गर्दै आएको कोलोनीमा रहेको कन्भेयन्स स्टोरमा ११ बजेतिर बन्दुक प्रहार गरी हत्या गरिएकी डेन्टन निबासी समीरा शिवाकोटीको अन्त्येष्टिको समय थियो यो ।
एक नौ महिना तथा अर्की २ बर्षे छोरीकी आमा ३१ वर्षीय समीराको मृत आत्माको चीर शान्तीको कामना गर्न झन्डै ५०० भन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो । ड्यालसमा श्रद्धाञ्जलीको लागि २ घण्टा राखेर ल्यूसेभिलाई क्रियशन सेन्टरमा हिन्दु बैदिक परम्परा अनुसार बैदिक मन्त्रोच्चारण गरि दाहसंस्कार गरिएको थियो ।
सम्पूर्ण नेपाली समाजले यतिखेर सम्पूर्ण शोक सन्तप्त परिवारलाई धैर्य धारण गर्ने क्षमता इश्वरले प्रदान गरुन भन्ने कामना गरेका छन् । यो असामान्य घटनाको सबैले मिलेर साहस एवं धैर्यताका साथ सामना गर्नु पर्ने तथा सिवाकोटी परिवारको हरपल साथमा रहदै हत्याराको पहिचान गरि कडा भन्दा कडा सजायको मागको निमित्त समेत नेपाली समाज टेक्सास, एनआरएन टेक्सास च्याप्टर प्रयत्नरत रहेको जनाइएको छ ।
















प्रतिक्रिया