काठमाडौं, ३२ जेठ । टी-२० विश्वकप छनोटको भारतमा तयारी गरिरहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अभ्यास खेलमा दोस्रो जित हात पारेको छ ।
सोमबारको दिउँसो भारतको धर्मशाला रंगशालामा भएको दोस्रो अभ्यास खेलमा हिमाञ्चल प्रदेशलाई ६१ रनले हराउँदै दोस्रो जित दर्ता गरेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको हिमाञ्चल प्रदेशले १४.३ ओभरमा सबै विकेट गुमाउँदै ६१ रन मात्रै बनाएपछि नेपालले फराकिलो अन्तरले जित हात पारेको हो ।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५२ रन बनाए । त्यस्तै, सोमपाल कामीले २४ र । शरद भेष्वाकरले ११ रन जोडे । ओपनिङ व्याट्सम्यान सुवास खकुरेल ५ रनमा आउट भए, सागर पुन ४ रनमा पभेलियन फर्किए, शक्ति गौचन ९ रनमै सीमित भए ।
कप्तान पारस खड्का र विनोद भण्डारी समान १–१ रनमै आउट भए । प्रदिप ऐरी शून्यमा आउट भएका थिए । हिमाञ्चल प्रदेशका गुरुविन्दर सिंहले २ तथा राघव धवन र आकाश शर्माले समान १–१ विकेट लिएका थिए ।
हिमाञ्चलका सुमित बर्माले १८ रन बनाए । अन्य ब्याट्सम्यान नेपाली टिमका सामु निरिह बने । नेपालका सोमपाल कामीले ३ तथा जितेन्द्र मुखिया र शक्ति गौचनले समान २–२ विकेट लिए । भने, करण केसीले एक विकेट लिएका थिए ।
हिजोको खेलमा पनि नेपालले हिमाञ्चललाई पाँच विकेटले पराजित गर्दै अभ्यास खेलमा विजयी सुरुवात गरेको थियो ।















प्रतिक्रिया