सुर्खेत, ३२ जेठ । भविष्यमा ठूलो मान्छे बन्ने सपना बोकेका सुर्खेत हरिहरपुर, तरंगा र तातापानीका विद्यार्थी ज्यानको बाजी लगाएर विद्यालय जाने गरेका छन्।
बाढीले भेरी नदीको पुल बगाएपछि स्कुल पुग्न हरेक दिन काठको डुंगाबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ उनीहरूलाई।
गत वर्ष साउनमा भेरीमा आएको बाढीले बगाएका झोलुंगेपुल अर्को साउन आउन लाग्दा पनि बनेका छैनन्।
त्यसैले त्यहाँका विद्यार्थी ज्यान जोखिममा राखेर हरेक दिन भेरीमा डुंगा चढेर स्कुल आवतजावत गरिरहेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
स्कुलसम्म पुग्न नदीमा पुल नहुँदा उनीहरूसँग काठको डुंगा चढ्नुबाहेक अर्को विकल्प पनि छैन।
हरिहरपुरको डोप्का, सिस्नेरी, थापाडेरा र गिरीघाटबाट विद्यालय जान भेरी नदी पार गर्नुपर्छ।
यस क्षेत्रमा बाढीबाट विस्थापित परिवारका शिविर पनि छन्।
भेरी माविमा पुग्न नदीमा पुल छैन। बालबालिका आफैं काठको डुंगा खियाउँदै नदी तरेर विद्यालय जान्छन्, घर फर्कन्छन्।
न त तुइन छ, न त पुल नै। प्राविसम्म गाउँमै रहेको विद्यालयमा पढेका उनीहरू माध्यमिक तह अध्ययनका लागि बिहान र बेलुका नदीमा डुंगा खियाउन बाध्य छन्।
भेरी माविमा हरेक दिन डुंगाबाट नदी तरेर ७० जनाभन्दा बढी विद्यार्थी पुग्ने गरेका छन्। पश्चिमको तरंगा र तातापानीका विद्यार्थी पनि डुंगामै विद्यालय पुग्छन्। त्यहाँ रहेको पुल पनि बाढीले बगाएको थियो।















प्रतिक्रिया