काठमाडौं, ३१ जेठ । युरो कपमा फुटबल स्टार रोनाल्डोले ह्याट्रिक हानेर पोर्चुगललाई जित दिलाए । तर यता कोपा अमेरिका कप फुटबल खेलिरहेका अर्का स्टार लियोनल मेस्सीलाई भने खेल बराबरीमा रोकिएपछि ठूलो झट्का लागेको छ ।
कोपा अमेरिका कप फुटबलकै उपाधि दाबेदार मानिएको मेस्सीको टिम अर्जेन्टिनालाई पाराग्वेले बराबरीमा रोकेपछि खेलमा ठूलो झट्का लागेको हो ।
आइतबार विहान भएको खेलमा पहिलो हाफमा दुई गोलको दबाबमा खेलिरहेको पाराग्वेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै अर्जेन्टिनालाई २–२ गोलको बराबरीमा रोकेको समाचार एजेन्सीले जनाएका छन् ।
खेलको २९औं मिनेटमा अर्जेन्टिनाले सर्जिओ एग्युरोको गोलबाट अग्रता लिएको थियो । ३६ औं मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीमा लिओनल मेस्सीले गोल गरेर टोलीलाई २–० को अग्रता दिलाए ।
दोस्रो हाफमा पाराग्वेको प्रदर्शन उत्कृष्ट बन्यो । खेलको ६० औं मिनेटमा भाल्डेजले गोल गरे । खेलको अन्तिम समयसम्म निकै दबाबमा खेलिरहेको पाराग्वेका लागि लुकास बारियोसले गोल गरेपछि अर्जेन्टिनालाई २–२ को बराबरीमा रोकेको हो ।
बराबरीपछि अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको विजेता उरुग्वे भन्दा २ अंक पछाडि परेको छ । यसअघिको खेलमा उरुग्वेले जमैकालाई १–० ले पराजित गरेको थियो । अर्जेन्टिनाले पछिल्लो २३ वर्षमा कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन ।
















प्रतिक्रिया